पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:     प्रदेश खेलकुद परिषद् गण्डकीले ११ वटै जिल्लाका खेलकुुद विकास समितिलाई अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको छ ।  पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो ।  गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवम् प्रदेश खेलकुद परिषद्का अध्यक्ष सुशिला सिंखण्डाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने प्रतियोगिताको प्रमुख अतिथि, अतिथि र पाहुनाहरुलाई स्वागत सम्मानमा खादा तथा दोसल्लाको प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको हो ।  प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।     

काठमाडौं:    नेपालले एसिसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो । नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए । उनी सर्ट बलमा टप एज लागेर दिपु कुमारबाट समातिन पुगे । दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । रोशन ३७ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । रोशन आउट भएपछि भने सिंगापुरले पुन संघर्ष गरेको थियो । राहिल पनि ३१ बल खेल्दै ७ रनमा आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५-५ रनमा आउट भए । नेपालका कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए । नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो बलियो योगफलको सम्भावना देखाएका थिए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । उनले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए । सुर्यांशु आउट भएपछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेका थिएनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भएपछि नेपाल ८६-३ को अवस्थामा पुगेको थियो । हरिहरनले निरज कुमारलाई ४२ रनमा क्याच गराए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८, प्रतिक भट्टराई १२ र अशोक धामी डक आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए । सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।

काठमाडौं:     काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।  सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो । महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि महानगरद्वारा जारी सूचनामा उल्लेख छ । महानगरले सूचनामा भनेको छ, ‘‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्ने काडमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माणकार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’ सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ ।    आज स्व। गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा उहाँले राम्रो विचार र एजेण्डासहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासकासाथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी समेत गर्नुभयो।   नेपाली नागरिकको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएकाले यसलाई रोक्न जरुरी रहेको बताउनु भएको छ ।

पोखरा:     पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रा पालक कृषक दुर्गा बहादुर गुरुङ र पोखरा १९ की बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् । पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई कर सहित नगद रु १० हजार र ज्येष्ठ प्रवद्र्धक कृषकहरूलाई कर सहित रु ३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो । यस्तै पाडीबाच्छी आफै हुर्काएर माउ बनाउने ५०० जना कृषकलाई रु।३ हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि रु।४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई रु।८हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान समेत प्रदान गरिएको छ । यसैबिच पोखरा महानगरपालिकाले नेपाल मै पहिलो पटक प्रचलित कानुन अनुसार मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गरिरहेका मासु व्यवसायीहरूलाई वैधानिकताको परीक्षण पश्चात एकै प्रकारको बोर्ड समेत उपलब्ध गराएको छ । महानगरपालिकाको तर्फबाट व्यवसायीहरूको पहिचानका लागि प्रदान गरिएको एकै प्रकारको बोर्डले उनीहरूको वैधानिकता पुष्टि गर्नेछ । ७० बढी व्यवसायीहरूलाई बोर्ड सहित मासु काट्ने चक्कु, एप्रोन र टिसर्ट, बुट, पन्जा र मास्क, सरफ, फिनेल र लिजा ५–५ लिटर साथमा परिचय पत्र पनि वितरण गरिएको छ । पशुबध तथा मासु जाँच ऐन २०५५, पशुबध तथा मासु जाँची नियमावली २०५७, महानगरपालिका मासु जाँच निर्देशिका २०६८ तथा महानगरपालिका पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७७ बमोजिम आवश्यक मापदण्ड पुरा गरेका वयवसायीहरुलाई पहिलो चरणमा यस प्रकारको सहयोग गरिएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा करिब ६ सयको हाराहारीमा ठुला तथा साना मासु व्यवसायीहरू रहेका छन् । व्यवसायीहरूलाई प्रदान गरिएको बोर्ड र परिचय पत्रले सम्पूर्ण कानुनी प्रक्रियाको सुनिश्चितता गर्ने गरी आवश्यक सहजीकरण गरिएको प्रमुख आचार्यले बताउनुभयो । “महानगरपालिकाको तर्फबाट यहाँहरूको व्यवसाय व्यवस्थित छ भन्ने कुराको सर्टिफिकेट दिएर, व्यवसायीको परिचय पत्र दिएर, अनि यो बोर्ड कस्तो छ, कुन रङको छ भन्ने कुराको समेत एकरूपता कायम गरेर महानगरपालिका भित्र यो सर्टिफाइड पसल हो अर्थात् अनुमति प्राप्त पसल हो भन्ने कुराको यकिन गरिएको छ, उहाँले भन्नुभयो, यो साउनको १ गतेभित्र आफ्नो पसलमा आवश्यक कुराहरूको प्रबन्ध गरेर हाइजेनिक बनाउने कुरामा सबै व्यवसायीहरू गम्भीर बन्नुहोला ।” त्यसपछि महानगरपालिकाले यस प्रकारको बोर्ड नराखिएको पसलमा मासु नकिन्न सार्वजनिक आह्वान गर्न समेत बाध्य हुने उहाँले बताउनुभयो । महानगर क्षेत्रका उपभोक्ताहरूको स्वास्थ्य रक्षाका लागि महानगरपालिका गम्भीर र प्रतिबद्ध रहेको कुरा उहाँले उल्लेख गर्नुभयो । उहाँले अव कुनै पनि बाहानमा उपभोक्ताको स्वास्थ्य माथिको खेलबाड स्वीकार्य नहुने चेतावनी दिनुभयो । राज्यका नियमहरूको उल्लघन गरी उपभोक्ताको स्वास्थ्य माथि खेलाँची गर्नेहरू कारबाहीका लागि योग्य हुने उहाँको तर्क छ । महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित मासु व्यवसायीहरूलाई नियमन गर्न समेत यस प्रकारको कार्यले महत्वपुर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफ्ना उपभोक्ताहरूलाई स्वास्थ्यकर मासु खुवाउने दायित्वलाई आत्मसाथ गर्दै व्यवसायीहरूले राज्यका नियमको परिधिमा रहेर मर्यादित व्यवसाय सञ्चालन गर्नुपर्नेमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । कार्यक्रममा सहभागी कृषकहरूले कृषि व्यवसाय र यसको प्रवद्र्धन सहित कृषकहरूको हौसला बढाउने कार्यमा महानगरपालिकाले चालेको कदमको प्रशंसा गरेका छन् । यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूको जोड छ ।

झापा: झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ ।    पूजा गर्न फूल टिप जाने क्रममा उहाँलाई हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले  बताउनु भएको छ । सिलगुढी घर भएकी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।    झापामा छ दिनअघि पनि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।    झापामा चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । 

काठमाण्डाै: गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । सडक बिहान सवा सात बजेदेखि खुलेको हो ।   पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ  तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीवार देखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।   हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियोे । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।   सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । 

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएकाे छ ।   गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे  कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर ज्यान गएकाे हाे । उनी हिजाे विद्यालयमा खेलिरहेकाे बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयाे । उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।   घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।   

काठमाडौं:    आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ । आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनकासाथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । गुरु पूर्णिमाका अवसरमा विद्यालयहरुमा आज कार्यक्रम हुने गरेको छ ।