पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

सल्यान:  गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।   दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु भएका दुई जनाकै पहिचान भने भएको छैन ।   राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले बसलाई छुँदा बसमा नै करेन्ट प्रवाह भएको थियो ।   बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

काठमाण्डौ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताउनुभएको छ।   प्रेस सेन्टर नेपाल, चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताउनुभयो । उहाँले प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको  पनि दाबी गर्नु भएको छ।   उहाँले संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् चलाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ।   यस्तै, उहाँले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने दाबी गर्नु भएको छ । हिजो एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सङ्घीय संसद्का दुवै बैठकमा अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको थियो।   प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिनु भएको थियो ।

भक्तपुर:  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।   बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।   परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।   ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ,' उनले भने । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।   विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।   नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।   गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।   परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।  

बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।   जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।   गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए ।

कास्की: सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा पोखराबाट शुभारम्भ भएको छ ।    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले हिजो संयुक्तरूपमा सेवाको शुभारम्भ गर्नुभएको हो ।    परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको यस किसिमको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुनेछ ।    मन्त्री ज्वालाले प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र बिचौलियामुक्त बनाइ सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनलाइन सेवा प्रणाली सुरु गरिएको बताउनुभयो ।      अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्नेक्रममा आम नागरिकले झेल्दै आएको सास्ती बेहोर्न नपर्ने बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूपको ऐन, कानुन तर्जुमा गरी जनमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, पोखराबाट जुममार्फत् मन्त्री जुग्जालीले परिवर्तित सन्दर्भमा आवश्यक ऐन, कानुनको अभावमा प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताउनु भयो ।  यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अहिले दैनिक छरसात हजार सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेकोमा त्यसअनुसारको सेवा दिने क्षमता नभएको अवस्थामा विद्युतीय सेवा प्रणाली सञ्चालन गरी सेवाग्राहीलाई राहत दिन लागेको दाबी गर्नुभयो ।    यो सेवा सञ्चानल भएपछि चिकित्सकीय सेवासहित बायोमेट्रिक परीक्षण, लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुनबाहेक राजस्व भुक्तानीलगायत सबै काम अनलाइनबाट (https://applydl.dotm.gov.np/login) गर्न सकिने विभागले जनाएको छ । 

काठमाडौं:     प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो।  वैशाख २४ गते प्रतिनिधि सभामा अध्यादेश पेस भएको थियो। सरकारले असार ५ गते प्रतिस्थापन विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको थियो। अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज कसुरमा हुने कारबाहीमा कानुनी शून्यता भएको छ। अध्यादेश निष्क्रिय भए पनि विचाराधीन विधेयक भने यथावत् नै रहने छ। बुधबार अन्तिम दिन विधेयक पारितको कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० सहितका प्रतिपक्षी दलको अवरोधका कारण प्रक्रिया पूरा हुन सकेन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक जना लेखकको पुस्तक विमोचनका क्रममा दिनुभएको अभिव्यक्तिमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आपत्ति जनाएका हुन्। तीनै दलले प्रतिनिधि सभामा प्रमको अभिव्यक्तिलाई लिएर विरोध गरेका थिए। राप्रपाले रोस्ट्रम घेराउ नै गरेको थियो। अवरोधका कारण प्रतिनिधि सभा बैठक असार २२ गतेसम्म र राष्ट्रिय सभा बिहीबारका लागि स्थगित भएका छन्।  मिटरब्याजलाई कसुर परिभाषित गर्ने गरी सरकारले वैशाख १७ गते अध्यादेश सिफारिस गरेको थियो। वैशाख २० गते प्रमाणीकरण र राजपत्रमा प्रकाशित भएको थियो। लगत्तै वैशाख २४ मा बसेको संसद् अधिवेशनमा अध्यादेश पेस भएको थियो। प्रतिनिधि सभाले वैशाख २७ गते अध्यादेश स्वीकृत गरेको थियो तर अध्यादेश पेस भएको झन्डै डेढ महिनापछि मात्र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा पेस भएको थियो। असार ५ गते विधेयक दर्ता भएपछि परिपक्व हुन लाग्ने पाँच दिनको समयपछि असार १० मा राष्ट्रिय सभामा पेस भएको थियो।  राष्ट्रिय सभाले असार १५ गते सो विधेयक पारित गरेको थियो। असार १७ गते प्रतिनिधि सभामा दुई बैठक राखेर विधेयकलाई संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरिएको थियो। तत्काल पारितको आवश्यकता भएकाले बुधबार दिउँसोसम्म संशोधनको समय सकिएपछि अपराह्न मात्र प्रतिनिधि सभाको बैठक बोलाइएको थियो तर नयाँ विकसित राजनीतिक घटनाक्रमका कारण विधेयक पारितको प्रक्रियाले पूर्णता पाउन नसकेको हो।  के छ विधेयकमा ? विधेयकमा सरकारले मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद सजाय हुने प्रस्ताव गरेको थियो। यस्तै ७० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था प्रस्तावित थियो। मुलुकी अपराध संहिता, देवानी संहिता, देवानी कार्यविधि संहिता, फौजदारी कार्यविधि संहिताको संशोधन प्रस्तावित थियो।  मिटरब्याजलाई अनुचित लेनदेनको परिभाषामा राखिएको थियो। लेनदेन नभएको तथा नदिएको रकमको लिखत तयार पार्ने, वास्तविक रकमभन्दा बढीको लिखत तयार पार्ने, लेनदेनकै क्रममा ब्याज रकमसमेत सावाँमा जोड्ने कार्यलाई अनुचित कारोबार मानिएको छ। यस्तै ऋणीसँग सावाँभन्दा ब्याज बढी लिने, लिएको रकमको भर्पाई नदिने, अनुचित लेनदेनमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरणलाई समेत अनुचित कार्यमा परिभाषित गरिएको छ । कसुर ठहर भएमा अचल सम्पत्तिको हक हस्तान्तरण बदर हुने छ। कसुर अनुसन्धानका क्रममा साहुले अस्वाभाविक कारोबार गरेको पाइएमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख थियो।  साभार गोरखापत्र

पोखरा:  विन्दवासिनी दोहोरी साँझले पोखरामा दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ ।   पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २२ देखि २६ गतेसम्म प्रतियोगिता संचालन गर्ने जानकारी दिइएको हो ।   साँझका सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायक गायिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको विजेता समुहले ३० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछ ।   यस्तै द्वित्तिय हुने समुहले २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड हात पार्नेछ ।   तृतीय हुने टोलीलाई १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिने केसीले बताए । उनका अनुसार सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई ५ हजार प्रदान गरिनेछ ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि १ हजार निर्धारण गरिएको प्रतियोगिता संयोजक सुमन खड्काले बताए ।    उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने छ । सो प्रतिायोगिताको निर्णायकमा लोक तथा दोहारी गायक टेक क्षेत्री, दिलु लामा लगायत रहनेछन् ।   सो प्रतियोगितासँगै बेलकी हुने विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिजा गुरुङ, रवी कार्की र अस्मिता डल्लाकोटीसहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ संयोजक खड्काले जानकारी दिए ।    करिब ८५ लाखको लागतमा नयाँ व्यवस्थापनसहित चिप्लेढुंगामा पुन संचालनमा ल्याएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ।     

पोखरा:  होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’ मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्।   शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा यसअघि आएर संवाद गरिसकेका छन्।   नेता पौडेलले बौद्धिक पलायन, भ्रष्टाचार र विकासको पेरिफेरिमा आफ्नो भनाइ राख्ने छन्।