काठमाण्डौ: मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् । हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ । कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
पाल्पा: अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो हितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या पर्ने गरेको हो । दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ–३, भूतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक सुरु गरिएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले म्यासेजमार्फत महिला प्रहरीलाई आपत्तिजनक व्यवहार गरेको घटनाको अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाकको प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा अनुसन्धान अगाडी बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए । ‘अहिले इलाका प्रहरी कार्यालय शिशुवाको डिएसपी प्रकाश दाहालकोे संयोजकत्वमा छानविन समिति गठन भएर अनुसन्धान अघि बढिसकेको छ, एसपी केसीले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले जे रिपोर्ट ल्याउनुुहुन्छ त्यही अनुसार विभागीय कारवाही गर्छौ ।’ उनले सुशासनको पक्षमा काम गर्ने प्रहरीनै अपराधमा लाग्न नहुने बताउदै कानूनको पालना गर्न कास्की प्रहरी तयार रहेको बताए । यस्तै कास्की प्रहरीका प्रवत्ता तथा डिएसपी श्रवण कुमार विकले विशेष प्राथमिकतामा राखेर अनुसन्धान अघि बढिरहेको बताए । प्रहरी पोशाकको गरिमा र मर्यादा उचो रहेकाले आपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि संगठनले आश्रय नदिने स्पष्ट पारे । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर तिमिल्सिनाले एक महिला प्रहरीलाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक म्यासेज गरेको स्क्रिनसट नेपाल प्रहरीको प्रधान कार्यालयलाई मेन्सन गर्दै ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलबाट ट्विट गरेपछि घटना सार्वजनिक भएको थियो । पीडित महिला प्रहरीले पोष्ट गरेको स्क्रिनसटमा इन्सपेक्टर तिमिल्सिनाले गोप्य राख्ने बताउदै आफु महिलाको शरीरको फ्यान भएको र फोटो पठाउन अनुरोध गरेको प्रसंग देखिएको छ । घटनाको सत्यतथ्य छानविन गरी इन्सपेक्टर दोषी ठहरीए कारवाही गर्ने कास्की प्रहरी तयार छ । तर इन्सपेक्टर तिमिल्सिनाले भने आफ्नो इन्स्टाग्राम अकाउण्ट ह्याक भएको र अरु कसैले म्यासेज पठाएको बताएका छन् ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उनले भने । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताए । विपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०(१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’ सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भईरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता बिकासकालागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए । शान्ति सुरक्षाको अनुभुती हुने गरि नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तब्य भएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा लगायत पर्यटकीय शहरहरुमा रात्रीकालीन ब्यवशायलाई सहज रुपमा संचालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घण्टा खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । ‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘ब्यवशायीले चाहान्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो ।’ गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए ।
काठमाडौं: निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपुचुनाव बाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।
पोखरा: नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सुरु हुन पाँच दिन बाँकी हुदा प्रदेश खेलकुद परिषद् गण्डकीले महिला/पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा सहभागी हुन् गण्डकी प्रदेशले १८ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा असार २३ देखि ३० गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालनमा हुने एनभिए लिगमा गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले असार १४ देखि १६ सम्म आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबलमा खेलाडीको प्रर्दशनलाई हेरेर ८ जिल्लाका १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको हो । महिला टोलीको बन्द प्रशिक्षणमा म्याग्दीका ७,पर्वतका ३, नवलपुर र बागलुङ २/२, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका १/१ जना खेलाडी बन्द प्रशिक्षणमा परेका हुन् । बन्द प्रशिक्षणमा अरुणा शाही (राष्ट्रिय महिला टोली कप्तान), सस्मिता पुन, रेविना घर्ति, एलिसा रोका, पवित्रा शिर्पाली, सजिना बुढाथोकी, मनिषा तिलिजा, पुजासेन ठकुरी, लक्ष्मी राना, रोश्मिना गुरुङ, हिमाली रोका, हिरा बुढा, रोमा महतो, पृथ्वी मगर,कविता गर्बुजा, सोइन थापा र विमला गुरुङ बन्द प्रशिक्षणमा परेका हुन् । गण्डकी प्रदेश महिला भलिबलका प्रशिक्षक मलिन रोकाले केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम १२ जना छनोट हुने जानकारी दिए । यस्तै गण्डकी प्रदेश पुरुष भलिबलका प्रशिक्षक रमेश केसीले गत वर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई अरु बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिए । ‘गण्डकी प्रदेश पुरुष टोलीमा कुनै हेरफेर गरिएको छैन्, गतवर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ’, प्रशिक्षक केसीले भने, ‘वर्षा याम भएकाले खेलाडीहरु आज वा भोलि बिहानसम्म पोखरा आइपुग्ने जानकारी दिएका छन् अनि बन्द प्रशिक्षण सुरु गछौं ।’ घरेलु दर्शकले गण्डकी प्रदेशमा खोजेका खेलाडीहरु अन्य क्लबका अनुबन्धित भएकाले समेत्न नसकिएको र सम्भव भएसम्म तीन जना बिदेशी खेलाडी टिममा राख्ने प्रशिक्षक केसीले बताए । लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् । महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।
काठमाण्डौ: राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ु बहुमतले पारित भएको छ । सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयकु पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए । आज ९सोमवार० बसेको बैठकमा आउँदो आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मङ्गलवार ९भोलि० १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
लमजुङ: वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास सञ्चालकको भनाइ छ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ तथा दक्षिण एशियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सय भन्दा बढी पर्यटक आउने गरे पनि बर्खायाम सुरु भएसँगै पर्यटकको सङ्ख्या शून्य जस्तै भएको छ । घलेगाउँ होमस्टेका व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले भने, ‘असार महिनाको सुरुवात भएदेखियता एक जना पनि पर्यटक आगमन भएको छैन । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आगमन हुने यहाँ यतिबेला पर्यटकको मुख देख्न पनि रहर लाग्ने भएको छ ।’ उनका अनुसार पर्यटक सत्कारमा फुर्सद नहुँने यहाँका घरबास सञ्चालन यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् । सहरदेखि होमस्टेसम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने भएकाले यात्रा कठिन हुनुका साथै अन्य विभिन्न समस्याका कारण वर्षायाममा पर्यटकलाई सास्ती हुने भएकाले पर्यटक आगमन घटेको समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यहाँका होमस्टेमा असोजबाट मात्रै पर्यटक बढ्ने उनको भनाइ छ । पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको स्थानीय बताउँछन् । लमजुङमा विसं २०५७ देखि घलेगाउँ घरवास कार्यक्रम ९होमस्टे० सुरु गरिएको थियो । यो जिल्लाकै पहिलो घरवास कार्यक्रम हो । समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ । यहाँ ३२ दलित र ९३ गुरुङ परिवार गरी एक सय २५ घरधुरीका स्थानीय बसोबास गर्दछन् । यहाँ ४४ होमस्टे सञ्चालित छन् । तीन सयसम्म पर्यटक एक रातमा बास बस्न सक्ने व्यवस्था गरिएको समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । उनका अनुसार यहाँ दुई वटा होटल सञ्चालनमा रहेका छन् । ‘घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आ–आफ्ना कला, भेषभूषा, खानापान, तथा नृत्य प्रप्तुत गरी मनोरञ्जन प्रदान गरिन्छ’, उनले भने । विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुच्छे« हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्ध हिमाल देख्न सकिन्छ । यहाँ घले राजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकका लागि गुरूङ संस्कृति झल्किने गीत तथा नाँच प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिने समितिका कार्यालय सचिव दीर्घ घलेले बताउनुभयो । उहाँका अनुसार यस गाउँमा पैदलयात्रा गर्दा करिब छ घण्टा लाग्दछ । त्यस्तै लमजुङ दरबार नजिकै रहेको बेँसिसहर नगरपालिका–३ काउँलेपानी घरबास (होमस्टे)मा समेत पर्यटक आगमन निकै कम भएको छ । यहाँ दैनिक एक सय देखि दुई सयसम्म पर्यटक आउने गरेकामा वर्षायाम लागेपछि पर्यटक सङ्ख्यामा कमी आएको ग्रामीण काउले पानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । वर्षा लागेपछि दैनिक १०/१५ जना पर्यटक मात्रै यहाँ आउने गरेका घरबास सञ्चालक कविन्द्र गुरुङले बताए । उनका अनुसार यहाँ २५ घरधुरी रहेका मध्ये १५ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोवास रहेको छ । समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइमा रहेको काउँलेपानी होमस्टे सन् २०११ देखि सञ्चालन गरिएको थियो । यस होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो भने पर्यटन मन्त्रालयले सन् २०१६ मा नेपालको उत्कृष्ट होमस्टेका रुपमा छनौट गरेको थियो । सन् २०१६ मा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालयले काउँलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री होमस्टे घोषण गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । यहाँबाट लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे तामाङ होमस्टेमा पर्यटक सुनसान रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमराज तामाङले बताए । उनले भने, ‘बर्खा र बाटो कठिन भएकाले पर्यटक आगमन नहुँदा आम्दानी समेत हुनसकेको छैन ।’
रुपन्देही: झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज साेमवार पक्राउ गरिएको हो । कसाैधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए । इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु ज्ञवालीले पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यायल बुटवलको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयाे । नागरिकताका लागि आवेदन दिन जाने व्यक्तिहरू रमेश र सीताका छोराछोरी हुन भनेर बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको बताइएको छ । पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगकाे विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए । प्राप्त र प्रमाणित कागजातका आधारमा नागरिकताका लागि सिफारिस गरेको बुटवल–१ का वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

