चितवन: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका, ४ मनकामना केवलकार नजिकै माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज आइतबार दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले र विपरीत दिशातर्फ आँउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही कञ्चन गाउँपालिका १ बस्ने ३६ वर्षका हेमन्त कुमाल घाइते भएका थिए । घाइते कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक मकवानपुर कैलाश गाउँपालिका २ घर भएका लुम्न सिंह मोक्तानलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले अघि भने, ‘त्यो कानुन यही सदनमा आउनेछ ।’ उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताए । एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतिको व्यवस्था राम्रो नभएको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने, ‘जवान, हवल्दारहरु १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन् ।’ यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको उनले बताए । उप्रपधानन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘मलाई विश्वास छ, सम्बन्धित मन्त्रालयको सहमति प्राप्त भएपछि कार्यान्वयनमा लैजान सकिनेछ ।’ उनले आन्तरिक बढुवा र खुला प्रतिस्पर्धामा लिने अनुपात मिलाउने विषयमा लोकसेवा आयोगसँग परामर्श भइरहेको समेत संसदलाई जानकारी गराएका छन् ।
आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको छ । शुक्रबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आस्था
रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो। नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो। चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ।
हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा हिजो राति भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो । टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा गएराति चट्याङ लागेर देब बहादुर विकको मृत्यु भएको छ । पोखरा महानगरपालिका २३ हर्पनमा गएराति ११:३० बजेको समयमा आफ्नै घरको ढोका लगाउने क्रममा अचानक उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका विकलाई कास्की प्रहरीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । कास्की प्रहरीका अनुसार अस्पतालमा चेकजाँचको क्रममा आज बिहान २ बजे डाक्टरहरुले मृत घोषणा गरेको जनाएको छ । यस्तै गएराति नै बागलुङको ढोरपाटन नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं: यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् । हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को मृत्यु भएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उनको आग्रह छ । चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ । यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

