काठमाडौँ: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा उनलाई नक्सालस्थित घरबाटै पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी ३ आना जग्गामा सरकारी कागजात किर्ते गरेको कसुरमा गुरुङलाई पक्राउ गरिएको बुझिएको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङ २०७७ साल माघमा विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पोखरा: गण्डकी सभाका प्रमुख प्रतिपक्षा दल नेकपा एमाले र राप्रपाले सत्ता गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको वार्षिक कार्यक्रम, त्यही अनुसार नै बजेट आएको भन्दै बैठक अवरोध गरेका छन् । प्रदेश सभाका दुई प्रतिपक्षी दलले मंगलबारको बैठकमा मन्त्रालयगत छलफल सुरु हुनुअघि नै आफ्ना विषय राखेर बैठक अवरोध गरेका हुन् । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आफूहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका असार ८ गते पाएको तर असार ६ गते नै सत्ता गठबन्धनका कार्यकर्ताले योजना र बजेट अंक सामाजिक सञ्जालमा पोष्ट गरेको बताए । ‘हामीले असार ८ गते मात्र वार्षिक विकास कार्यक्रम पुस्तिका पायौं, तर सत्ता गठबन्धनका कार्यकर्ताले असार ६ गते ७ बजे नै सामाजिक सञ्जालमा जे राखेका थिए त्यही अनुसार नै बजेट आएको छ’ प्रमुख सचेतक नेपालीले भने । अनुदानका बजेटमा पालिकाले पठाएका योजनामा प्रदेश सरकारले हेरफेर गरेकोमा पनि एमालेले प्रश्न उठाएको छ । ‘पालिकाको प्राथमिकता छोडेर आफ्नो मनमौजीमा समपूरक र विशेष अनुदानका योजना प्रदेश सरकारले छनोट गरेको छ । यसको जवाफ चाहिन्छ,’ प्रमुख सचेतक नेपालीले भने । अर्थमन्त्रीले आफूहरुको प्रश्नको जवाफ नदिएसम्म संसद चल्न नदिने प्रमुख सचेतक नेपालीले बताए । सभामुखले बैठक सञ्चालनको वातावरण बनाउन पटकपटक आग्रह गरेका थिए । तर, दुई दलका सांसद बस्न नमानेपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।
काठमाण्डौ: हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा च्याउ टिप्न गएका बेला उहाँलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाण्डौ: सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको बताउनुभयो । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न ठाउँमा लुकेर बसेका थिए । शिवशिखरसहित मोरङमा उनले तुलसी सहकारी पनि खोलेका थिए र दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए । सीआईबीले बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्क गर्न बचतकर्तालाई अनुरोध गरेको छ ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् । एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभयो । एमाले सांसद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनुपर्ने भन्दै विरोध जनाउनु भएको छ । सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा जवाफ आउने बताए पनि उनीहरुले अवरोधलाई निरन्तरता दिएका छन् । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची छ । तर अवरोध भएकाले प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
काठमाण्डौ: गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङलाई अमलेमा रहेको जङ्गलमा सोमबार मृतावस्थामा फेला पारेको बताउनुभयो। गुरुङको काठ लिएर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताउनु भएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गाँजाखेतीको सम्भाव्यता गर्न आवश्यक कानूनी व्यवस्था गर्ने उल्लेख गरे । प्रदेश प्रमुख गुरुङले ‘औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।’ गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषि तथा भूमी व्यवस्था मन्त्रालयले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि ७ लाख रुपैयाँ बजेट बिनियोजित गरेको हो । आगामी आर्थिक वर्षदेखि औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्न पाइने गरी कार्यविधि ल्याउन केन्द्रीय सरकारसँगै प्रदेशकारले नीति तथा कार्यक्रममा समेत्दै आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाजाँखेतीका सम्भाव्यता अध्ययन गर्न बजेट नै छुट्टयाइएको प्रदेश सरकारले जनाएको छ । गाँजाखेतीमा प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनुपर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने भन्दै सांसद र अधिकारकर्मीहरुले माग गर्दै आएका छन् । सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसंघको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग’ पारित भएपछि गाँजालाई लागूऔषध मान्दै प्रतिबन्न लगाइएको छ । उक्त अभिसन्धिमा हस्ताक्षर गरेपछि नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रणसम्बन्धी कानुन नै बनायो । पाँचपटक संशोधन भइसकेको ऐनले गाँजाखेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय मानेको छ ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् । सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा अर्थमन्त्रीले बजेट असार १३ गते कुनै पनि संशोधनविना पास हुने बताए । उनले आफूले बजेट ल्याउँदा सीमित स्रोत साधनलाई मध्यनजर गरेर ल्याएको र बजेट आजको वास्तविकतामा आएको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको उनको भनाइ छ । उनले भने, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै स्रोत साधन तर आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन ।’ मन्त्री महतले बजेट ल्याउनुअघि नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताए ।

