पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:    आइतवार ६२ अङ्कले बढेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६९ अङ्कले बढेर दुई हजार एक सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ । आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको शेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो साढे छ अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७९ वटा कम्पनीका एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छ ।

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश डा। श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।   आफैँले कानुनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमवार राजीनामा दिनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मान्छेहरू न्याय परिषदमा नियुक्ति हुने गरेको आरोप लगाउनुभयो । उहाँले न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक पार्टीका मान्छेहरू अपारदर्शी ढङ्गबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको बताउनुभयो ।     प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुअघि नै संसदीय समितिमा आफूले उजुरी हाले पनि संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको भट्टराईले गुनासो गर्नुभयो । उहाँले संसदीय सुनुवाइ समिति नै अवैध रहेको भन्दै सुनुवाइ समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको दाबी गर्नुभयो ।   भट्टराईले आउँदा दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।   मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् ।   प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए । ‘असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष आज सिफारिस गरेका छौं,’ उनले भने ।   माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन् । अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए ।   माओवादी र जसपाले साथ छाडेपछि जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बजेट ल्याएका हुन् ।   नियमित अधिवेशन आह्वान हुँदा विश्वासको मत भन्दा पहिला बजेट अध्यादेश पेश गर्नुपर्ने बाध्यात्यक अवस्था भएका कारण सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गरेको हो ।

गोरखा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभएको छ ।    गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताउनुभयो ।   “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।”   ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि लामो समयसम्म आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।    पर्यटन गण्डकी प्रदेश सरकारको प्रमुख आयस्रोत भएको भन्दै मुख्यमन्त्री पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत वृद्धि गर्दै आत्मनिर्भर प्रदेश बनाउने योजना प्रदेश सरकारको रहेको बताउनुभयो । उहाँले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर पनि प्रशस्त आम्दानी गर्नसक्ने अवस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताउनुभयो ।   “गाँजा भनेको लागुपदार्थ मात्र होइन । यो औषधिजन्य पदार्थ पनि हो भन्ने कुरा अध्ययनले देखाएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यसबाट कपडा उत्पादन गर्न सकिन्छ, यसलाई हामीले अध्ययन अनुसन्धान गर्नुप¥यो, यदी गाँजा औषधिजन्य पदार्थ हो भने यसलाई नियमनकारी निकाय गठन गरेर लागुऔषधमा प्रयोग हुन नसक्ने अवस्था सिर्जना गरेर कानुनी व्यवस्था गरी यसको खेती वैध गराउनुपर्छ ।”   मुख्यमन्त्री पाण्डेले घरेलु मदिराको पनि गुणस्तर बढाएर व्यावसायिक ढङ्गबाट राज्यको दायरामा ल्याउनसके स्थानीय तथा प्रदेश सरकारलाई आर्थिक वृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  । घरेलु मदिराको हकमा प्रदेश सरकार स्थानीय सरकारसँगै सहयोग र सहकार्य गरेर काम गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।   “सङ्घीय लोकतान्त्रिक गणतन्त्र लहडमा आएको होइन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अहिले जसले गणतन्त्र चाहिँदैन भनिरहेका छन् उनीहरुलाई गणतन्त्र कसरी आयो भन्ने नै थाहा छैन ।” उहाँले अहिलेको व्यवस्थालाई स्वीकार गरेर संविधानलाई मानेर संसद्मा पुगेका व्यक्तिले गणतन्त्रकोविरुद्ध बोल्नु उचित नभएको उल्लेख गर्नुभयो ।  

काठमाण्डौ:  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।    गएको शनिवारदेखि महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा। डा। रत्नमणि गजुरेलले जानकारी दिनुभयो ।   डाक्टरको टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा:   कास्की अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई केन्द्रित गर्दै ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।  आगामी आर्थिक वर्ष २०८०÷०८१ मा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ ।    पालिकाले चक्रपथ निर्माण रसबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडक सञ्जाल बनाउने गरी बजेट विनियोजन गरेको छ । बाह्रै महिना सडकमा यातायात चल्न बनाउन सक्ने बजेटको उद्देश्य छ । अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।

काठमाडौं:     गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ ।  अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन् । संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ । संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ । नेपाली समयानुसार सोमबार बिहान युरोपेली मुलुक रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमको क्रममा सपुतमाथि दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको थियो । यो घटनामा सपुतको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । आधा घण्टा कार्यक्रम बिथोलिएको र त्यसपछि कार्यक्रम सुचारु भएको जनाइएको छ । याद नेपाली म्युजिक फेस्टिभल भाग २ नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए । उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन् । यो घटनालाई लिएर नेपाली संगीतकर्मीले आपत्ति व्यक्त गरिरहेका छन् ।

काठमाडौँ:  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् ।   सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले बहु प्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् । ‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको सङ्गठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरूलाई अवगत नै छ ।   त्यसैले हाम्रो नेपाली सेनाको सङ्ख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहु प्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु’ उनले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ । त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराहरूको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारी लगायतका सुरक्षा चुनौतीहरूले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेका अवस्थाहरू छन् ।’   उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

पोखरा:    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल रु ६१ करोड ६८ लाख ७० हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा सो बजेट प्रस्तुत गरेकी हुन् । बजेटका स्रोतहरुमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ९ करोड ४७ लाख, संघीय सरकार सर्शत अनुदान रु।२६ करोड ५२ लाख, संघ समपुरक अनुदान तर्फ १ करोड ६५ लाख, संघ विशेष अनुदान रु।एक करोड ३० लाख, संघीय सरकार राजश्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताईन । यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु। ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु। ३० लाख र प्रदेश सरकार समपुरक अनुदान रु ७० लाख अनुमान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैँक मौज्दात रकम रु ३ करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ । उपाध्यक्ष अधिकारीले “उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका“भन्ने लक्ष्य हासिल गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताईन । उनका अनुसार उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवद्र्धन बजेटको मुख्य उद्धेश्य हो । सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु, बसोबास, भौतिक सुबिधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु, वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्धेश्य रहेको गाउँपालिकाले जनाएको छ ।    (पूर्णपाठसहित)