पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन्।   बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताए ।   उनले भने, ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ। यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ।’   उनले आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताए।  उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबैकुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु।’   अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको बताएका छन् । 

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नं. ६ ले चालु आर्थिक वर्ष २०७९/८० भित्र गरेको वार्षिक प्रगतिको सार्वजनिक सुनुवाई गरेको छ ।    वडा कार्यालय तप्राङमा वडाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिसहितको समिक्षा मंगलबार नागरिक समक्ष सार्वजनिक गरेको हो ।    सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुले वडाले आर्थिक वर्षमा गरेका विकास निर्माण र नागरिकमैत्री सेवाको खुलेरै प्रशंसा गरे ।    वडाले आफ्नो फेयरिस्ट सार्वजनिक गर्नु सुखद पक्ष रहेको बताउदै स्थानीय खिमलाल बरालले वडाध्यक्षको कार्यशैलीप्रति सन्टुष्ट रहेको बताए ।    भिडियाे:   यस्तै ७४ वर्षीय स्थानीय देवीप्रसाद बरालले वडाध्यक्षले नागरिकमैत्री काम गरेको बताउदै समर्थन गर्नुपर्ने धारणा राखे । उनले मादी ६ को विकास गर्ने जिम्मेवारी वडा कार्यालयको मात्रै नभएर स्थानीयहरुको पनि उत्तिकै पहलकदमी हुनुपर्ने बताएका थिए ।    यस्तै नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष  दीपक परियारले प्रतिपक्षमा रहेपनि गुण र विशेषताको आधारमा वडाध्यक्षलाई सहयोग गर्दै आएको उल्लेख गरे । ‘गाउँको विकासमा यो वा त्यो पार्टी भन्नु हुदैन । हामीले युवा, शालिन र भद्र वडाध्यक्ष पाएका छौ, उनले भने, ‘सकरात्मक काममा हातेमालो गर्न तयार छौ तर नागरिकको हितविपरित केही काम भयो भने खबरदारी गर्न पनि पछि हट्नु हुदैन ।’   यता वडाध्यक्ष डिल बहादुर क्षेत्रीले आर्थिक वर्षभित्र गरेका वार्षिक प्रगतिको समिक्षा र नागरिकको गुनासो सुन्न सार्वजनिक सुनुवाई गरेको स्पष्ट पारे । उनले सभ्य समाजर सुशासनको पक्षमा वडा रहेको बताउदै फेयरिस्त सार्वजनिक गरे ।     उनका अनुसार वडाभित्रका विभिन्न विकासका योजनाहरु ८० प्रतिशत सम्पन्न भैसकेका छन् ।  ‘वडाको चालु आर्थिक वर्ष भित्र सक्ने गरी सुरु गरेका करिव ८० प्रतिशत योजना सम्पन्न भएका छन्, केही योजना सम्पन्न भएपनि भुक्तानी लिन बाँकी छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘गाउँपालिकाको नमूना वडा बनाउन स्थानीयको सहकार्यमा नै योजना अगाडि बढाएका छौं, प्रदेश र संघ सरकारको सहयोगमा वडामा पूर्वाधारहरुको काम अगाडि बढिरहेको छ ।’   उनले नाउनुङको पहिरोले बस्ती नै जोखिममा पर्न सक्ने भएकाले पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले आवश्यक बजेट र पहिरो नियन्त्रणका लागि वैकल्पिक स्रोतको खोजी गरिरहेको बताए ।  ‘नाउनुङको पहिरोले ५५ बढी घर विस्थापित भए, महारुद्ध माविलाईसमेत अर्को स्थानमा सार्नुपर्ने बाध्यता रह्रयो, क्षेत्रीले भने, ‘पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले बजेट विनियोजन गरेपनि पहिरो नियन्त्रण हुन सकेको छैन । पहिरो नियन्त्रण गर्नका लागि वैकल्पिक स्रोतको खोजीमा छौं ।’   उनका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षको जेठ २३ सम्म ६ लाख ७ हजार ६ सय ११ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै वडा कार्यालयले ८१ वटा नागरिकताको सिफारिस, ४६ वटा मालपोत सिफारिस र ६ सय ७८ वटा अन्य सिफारिस गरेको छ ।    चालु आर्थिक वर्ष ०७९/०८० मा मादी गाउँपालिका वडा नं. ६ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक भत्ता पाउने २ सय २६, दलित ज्येष्ठ नागरिक भत्ता पाउने ३७, एक महिला भत्ता पाउने २२ जना, विधुवा भत्ता पाउने ३० जना, पुर्ण अपाङ्गता भत्ता पाउने १० जना, अति अशक्त अपाङ्गता भत्ता पाउने ४ जना र दलित बालबालिका भत्ता पाउने ४४ जना रहेको वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।     स्थानीयको अपेक्षा: कृषि, पर्यटन, स्थानीय उत्पादन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षा    वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको समिक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि, पर्यटन, स्थानीय उत्पादन र प्राविधिक शिक्षालाई वडाले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।    महारुद्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटाले वडामा अब प्राविधिक शिक्षा सञ्चालन गर्न माग गरे । ‘अहिले विद्यालयहरुमा परम्परागत शिक्षा प्रणालीमा नै रहेका छौं ।अब शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक छ । वडा कार्यालयले अब प्राविधिक शिक्षालाई जोड दिन आवश्यक छ,’ उनले भने ।   उनले वडाका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउन एसइई दिएर बसेका विद्याथीहरुलाई शिक्षण सिकाइका लागि टोलटोलमा पठाएकोसमेत बताए ।    यस्तै स्वास्ध्य क्षेत्रबाट अवकाश प्राप्त मनुराज बरालले पोखराबाट आउने गाडीले वडामा सामान मात्र ल्याउने गरेकाले वडाबाट पुन: उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना ल्याउन माग गरे ।  ‘बजारबाट गाउँमा गाडी भरी सामान आउँछ, फर्किएर जाँदा रित्तै जान्छ, उनले भने, ‘अब गाउँबाट पनि गाडीमा गाउँबाट उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना अगाडि बढाउनुहोस् ।’   स्थानीय लक्ष्मण गुरुङले स्थानीय स्तरमा नै बस्ने स्थानीयहरुको लागि छुने योजना ल्याउन माग गरे । ‘सरकार योजनामा स्थानीयस्तर भन्दा गाउँमा नबस्ने तर पहुँचको आधारमा योजनामा अवसर पाएका छन्, भुकम्प पीडितका नाममा घर बन्यो ताला लाग्यो, हाम्रो न घर बन्यो न ताला नै लाग्यो, स्थानीय स्तरमा नै बस्ने वडावासीको हितमा योजना कार्यान्वयन गरौ ।’   वडावासीले उठाएको सवालमा जवाफिदै वडाध्यक्ष क्षेत्रीले नाउनुङको पहिरो नियन्त्रणमा ध्यान दिनु पहिलो प्राथमिकता भएको बताए । ‘नाउनुङको पहिरोले गाउँ नै जोखिममा पार्न सक्छ, विद्यालय र ५५ बढी घरहरु विस्थापित भएका छन्, अब पहिरो नियन्त्रणपछि वडामा पर्यटन, कृषि र प्राविधिक शिक्षालाई बढी जोड दिन्छौं ।’   उनले स्थानीयले उठाएका सवालमा आफुले शिरोधार्य गर्दै अघि बड्ने प्रतिवद्धता जनाए । नागरिकस्तरमा उठेका सवाललाई प्राथमिकताका आधारमा समाधान गर्न आफु कटिबद्ध रहेकोसमेत स्पष्ट पारेका थिए ।    सो अवसरमा मादी ६ भित्रका विभिन्न विकास निर्माणको उपभोक्ता समितिका २० बढी नेतृत्वकर्ताहरुलाई वडाले सम्मान गरेको थियो ।   सार्वजनिक सुनावाई कार्यक्रममा मादी गाउँपालिका ६ का करिब १ सय ५० बढी स्थानीयको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण पत्रकार सुशान्त गाहामगर (अर्जुन) ले गरेका थिए ।   

हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।    मुगुको पाटनमा यार्सागुम्बाटिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमवार फेला परेको मुगुकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिनुभयो ।    मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएका थिए ।   बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको डीएसपी बस्नेतले जानकारी दिनुभयो ।   लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उहाँले बताउनुभयो । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ,’ उहाँले भन्नुभयो ।   शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट डाक्टरको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको डीएसपी बस्नेतले बताउनुभयो ।  

काठमाण्डौ:  सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।   आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । भारत भ्रमणका क्रममा नेपालको विद्युत् बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।   यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।   बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यस बारेको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय पनि गरेको छ ।   यस्तै, मन्त्रीपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा त्यो वन क्षेत्रमा रहेका रुख काट्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।   त्यस्तै, बैठले आउँदो २९ गतेदेखि ३२ सम्म हुने काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण पनि स्वीकृत गरेको छ । यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।   

काठमाडौं:  नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक  ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।    मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।   विस।स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि  ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो ।  चर्च ब्वाइज छनोट हुँदै  ‘सी’, ‘बी’ र  ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ ।    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।   ३६औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।   यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ ।   

 रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।   त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ ।   युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ ।  कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ ।   खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दुरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । बीबीसीका अनुसार ड्नीप्रोको पश्चिममा युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा रुसी नियन्त्रण क्षेत्रबाट २५ हजार गरी झण्डै ४२ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ ।   राष्ट्रपति भोलोदिमिर जेलकेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएकाे आरोप लगाउनुभएको छ । रुसले आरोप अस्वीकार गरेको छ 

 तराई मधेसमा अझै केही दिन तातो हावा र ुलुु चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ ।   सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ ।   जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै  २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ।   अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।   मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ ।   पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो छ । 

 बनेपा:  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको ज्यान गएको छ ।    काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।   गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

तनहुँ:    कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो ।  आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो ।  त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको उहाँले बताउनुभयो ।  त्यसैगरी बन्दीपुर गाउँपालिका–२ हलथुम्काका विपन्न, गरिब र न्यून आएका भएका ४६ परिवारलाई मौरीसहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भीरकोटमा १५ वटा मौरीसहितको घार वितरण गरेको केन्द्रले जनाएको छ ।   कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरुलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण कार्य गर्दै आएको आएको उहाँले बताउनुभयो । मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पु¥याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ ।  –––