पोखराः कास्कीको बेगनास तालमा मोटरबोट सेवा सुरु भएको छ । बेगनासताल डुंगा व्यवसायी समितिले आन्तरिक एवं बाह्य पर्यटकलाई रोमाञ्चक अनुभूति दिन उक्त सेवा सुरु गरेको जनाएको छ । समितिका २ सय ६५ सदस्यले गैंडाकोटस्थित नेपाल सिप एण्ड बोट विल्डिङबाट ५० लाख रुपैयाँमा मोटरबोट खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । बोटमा क्याप्टेनसहित २० यात्रुले सयर गर्न सक्नेछन् । यात्रुको सुरक्षार्थ आवश्यक व्यवस्थाकासाथै बीमासमेत गरिएको समितिले जानकारी दिएको छ ।
काठमाडौं: काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो स्थानमा आएको छ । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।
काठमाण्डौ: सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । सिंहदरबारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउने छन् । २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । गएको २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो । अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन सिफारिस गरेको हो । चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ।
काठमाण्डौ: रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो । नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार काठमाण्डौं उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उनले बताए तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उनको भनाइ छ । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् । रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।
काठमाडौं: ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो । महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र स्तरोन्नति गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने ? भनेर महानगरले स्पष्टीकरण सोधेको छ । तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।
पोखरा: नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना युवालाई कास्की प्रहरीले नियन्त्रणमा गरेको छ । पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना युवालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका १८ स्थित फेवातालको सिमसार क्षेत्र पुर्न लागेको भन्ने सूचनापछि गएको नगर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ग १ ख ८६८७ नम्बरको टिप्परसहित ७ जना युवालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मीन गुरुङ आज (शनिबार) फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता भएका गुरुङ मृत फेला परेको कास्की प्रहरीले जनाएको छ । घान्द्रुक घर भएका गुरुङ पोखरा महानगरपालिका १४ चाउथे बस्दै आएका थिए । गुरुङको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी भएका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए । ‘विष्टमकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए, वडाध्यक्ष शेर्पाले भने, ‘विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको छ ।’ सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् । शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने बताए । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन ।,’’ सभापति लामिछानेले भने, ‘‘नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’’ सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शङ्का लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे। उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।

