काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो । चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे । गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एकरएक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड विनियोजन रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपियाँको हुनेगरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठुलो बजेट ल्याउनुभएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट पेस गर्नुभएको थियो । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपियाँ, पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ १२।८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपियाँ र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात् ४ खर्ब २९ अर्ब ८३ करोड रुपियाँ थियो । त्यस्तै तत्कालीत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको थियो । फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुशासन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुनेछ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रूपमा लिएको महतले बताउनुभयो । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरी बजेट आएको उहाँले बताउनुभयो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा। महतले बताउनुभयो ।
काठमाडौं: सरकारले सांसद् विकास कोष ब्युत्याएको छ। संसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो। निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न भन्दै आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताए।
पोखरा: मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४/३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र पनि भन्ने गरिन्थ्यो ) संवाददाताका रुपमा काम गर्ने अवसर पाएँ । त्यो बेलामा केही असल पत्रकारहरुको संगत भयो । मसँगै त्यो बेलामा दुर्गा बराल ‘वात्सायन’ ले राष्ट्र पुकारमा कार्टुनहरू पठाउने गर्नुहुन्थ्यो । अत्यन्त कठीन समय थियो । त्यो पठाइएको समाचार के बाट पठाउने हो ? हुलाकबाट पठाउँदा लामो समय लाग्थ्यो । अनि त्यो समाचार र कार्टुन दुवै पठाउन हामी साइकल चढेर एयरपोर्टसम्म पुग्थ्यौं । एयर डकुमेन्ट गरेर काठमाडौं पठाउने गथ्र्यौं । फ्याक्सको जमाना पनि थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । र त्यो बेलाको पत्रकारिता मिसन पत्रकारिता थियो । विशुद्ध रूपले प्रजातन्त्र पुुनस्र्थापनाका निम्ति एउटा लडाईंको मोर्चाका रूपमा हामीले पत्रकारितालाई लिएका÷ ग्रहण गरेका थियौं । त्यसरी म पत्रकारितामा संलग्न भएको थिएँ । त्यसको एउटा मोह मसँग अझै पनि बाँकी छ । सँगसँगै नेपाल प्रेस युनियनसँग पनि सम्बन्ध र साइनो छ । नेपाल प्रेस युनियनको काठमाडौंमा पहिलो अधिवेशन भयो । पहिलो अधिवेशनमा हरि अधिकारी अध्यक्ष हुनुभयो । त्यसपछि दोस्रो अधिवेशनमा सहभागी हुन पुगेका थियौं । म पुगेको थिएँ । पोषनाथ शर्मा पुग्नुभएको थियो । अहिले नेपाली फिल्म जगतमा चरित्र अभिनेताका रूपमा चीरपरिचित हुनुभएका प्रकाश घिमिरे पुग्नुभएको थियो । दुर्गा बराल पुग्नुभएको थियो । हामीले त्यहाँ रमेश तुफानको अध्यक्षतामा नेपाल प्रेस युनियनको दोस्रो कार्यसमितिको गठन गरेका थियौं । मसँग विषयवस्तुको ज्ञान भएर होइन । मसँग असाध्यै अध्ययन भएको विषय पनि होइन । तर, कारण के हो भन्दा कुनै समय म पत्रकारितामा संलग्न थिएँ । पोखराकै जनमत दैनिक, पर्यवेक्षक साप्ताहिक (जो तिलकमान गुभाजू दाईले निकाल्नुहुन्थ्यो ) त्यसको स्तम्भ लेखकका रूपमा पनि म जोडिएको थिएँ । अहिले पनि एक ढंगले पत्रकारितासँग जोडिएको छु । धेरै पत्रकार साथीहरू विभिन्न विषयमा सोध्न आउने गर्नुहुन्छ । कुनै चाडपर्वका विषयको सन्दर्भ भयो भने केही भन्दिनुस् न भन्ने गर्नुहुन्छ । एउटा समय त यस्तो पनि थियो–कतिपय नयाँ पत्रकार भाइबहिनीहरुलाई समाचार लेख्न सिकाउने काममा पनि संलग्न भएको थिएँ । त्यो हुनाले नेपाल प्रेस युनियन कास्कीको आग्रहलाई नाइँ भन्न सकिन । पत्रकारलाई नै पत्रकारिता भनेको के हो भनेर परिभाषित गर्न लागँे भने म अन्यौलमा पर्छु । मलाई पत्रकारिता भनेपछि हाम्रो पूर्वीय सभ्यतामा पत्रकारको भूमिका निर्वाह गर्ने को थिए भन्ने विषयवस्तुतर्फ जानुपर्छ कि भन्ने लाग्छ । सनातन वैदिक संस्कृतिमा विभागहरु छुट्याइएका छन् । देवताहरूको विभागहरू छुट्याइएको छ । देवीहरूको विभाग छुट्याइएको छ । देवता र देवीको विभाग छुट्याउँदा अत्यन्त महत्वपूर्ण मन्त्रालयहरू चाहिँ महिलाहरूलाई दिइएको छ । शिक्षा मन्त्रालयलाई सरस्वतीलाई दिइयो । अर्थ मन्त्रालय लक्ष्मीलाई दिइयो । रक्षा मन्त्रालयलाई भगवतीलाई दिइयो । संचार मन्त्रालय चाहिँ नारादमुनीले पाए । नारादमुनी सम्भवतः हाम्रा पौराणिक पात्रहरूमा त्यस्ता पात्र हुन्, जसले सूचना संवाहकका रूपमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अर्को एउटा महत्वपूर्ण पात्र पनि छन्–जसले सूचनालाई आफ्ना निम्ति अत्यन्त महत्वपूर्ण ढंगले उपयोग ग¥यो । हामीले महाभारतका कथाहरू पढेका छौं । महाभारतमा कृष्णजीको भूमिका झण्डै तटस्थ थियो । मलाई छान्छौ कि मेरो एक अक्षौहिणी सेनालाई छान्छौ ? भन्दा दुर्योधनले भगवान कृष्णलाई छानेनन् । उनले भगवान कृष्णका एक अक्षौहिणी (एक अक्षौहिणी सेनामा २१ हजार ८७० रथ, त्यति नै हात्ती,६५ हजार ६१० घोडसवार सैनिक र १ लाख ९ हजार ३५० पैदल सेना हुन्छन् ) सेनालाई छाने । अर्जुनले कृष्णलाई छाने । तर, प्रत्यक्ष म युद्धमा सहभागी हुन्न भन्ने कृष्णको सर्तनामा थियो । युद्धको अन्त्यमा जाँदा सबैले आ—आफ्ना भूमिकालाई आत्ममुग्धताको स्तरमा पु¥याए मेरा कारणले यो युद्धमा जित हासिल भएको भनेर पाण्डवका पात्रहरूले भन्न थालेपछि भगवान कृष्णले वर्वरिक भन्ने नामको पात्र थिए । जसको सुरुमै भगवान कृष्णले घाँटी काटेर कुनै रूखमा झुण्डाइदिएका थिए । त्यो झुण्डाइएको टाउकोले महाभारतको युद्ध सबै देखिराखेको थियो ।ती पाण्डवहरूलाई लगेर कृष्णले वर्वरिक समक्ष उभ्याए । अनि सोधे वर्वरिक यो युद्धमा तिमीले के देख्यौ ? ‘मैले कि तपार्इंलाई देखेँ कि तपाईको सुदर्शन चक्रलाई देखेँ’,वर्वरिकले भने । र, सबै आफ्ना कारणले युद्धमा विजयी भएको घोषणा गर्नेहरु नतमस्तक भए । महाभारतको यो पाटोलाई अर्को ढंगले हेर्ने हो भने यति धेरै सूचना कृष्णजीसँग थियो । वर्वरिकसँग सम्पूर्ण महाभारतको युद्धलाई पल्टाउन सक्ने क्षमता छ भन्ने कुरा कृष्णले थाहा पाएका थिए । त्यसकारण उनी कतै दुर्योधनतिर मिसिन्छन् कि भनेर बाधा दिने काम पनि कृष्णजीले गरे । कर्णसँग यस्तो गज्जबको कवच थियो । त्यो कवच ननिकालिकन कर्णको बध सम्भव थिएन । कर्णलाई विवश बनाउनका निम्ति कुन्तीलाई कसरी प्रयोग गर्ने कृष्णजीले आफ्नो सूचनाका आधारमा थाहा पाएका थिए । चाहे जरासन्धको बधमा होस्, चाहे दुर्योधनको बधमा नै किन नहोस् ! कृष्णजीले प्राप्त गरेको सूचना सबैभन्दा बलशाली थियो । भीमसेनको गधा भन्दा पनि कृष्णजीको सूचना प्रवल थियो । त्यसकारण सूचना कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउँछ । सूचना महत्वपूर्ण भएकै कारणले गर्दा प्रत्येक राज्यले ठूलो संख्यामा गुप्तचरहरू तैनाथ गरे । गुप्तचरहरू राज्यका निम्ति अत्यन्त महत्वपूर्ण ठहरिन्थे/ठहरिन्छन् । मैले यहाँहरुलाई के निवेदन गर्न खोजेको भन्दा,जीवनमा, युद्धमा, विकासमा सबै चीजमा सूचनाको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । हामीले समाचार भन्नासाथै के चिजलाई समाचार भन्ने ? पत्रकारिताको सबै भन्दा ठूलो धर्म भनेको के रैछ भन्दा समाचार संकलन गर्ने । त्यसको लेखन गर्ने । त्यसको सम्पादन गर्ने र त्यसलाई आम जनसाधारणका बीचमा पु¥याउने । सामान्यतयः त्यो छापा पत्रकारिताको कुरा गरौं वा विद्युतीय संचारमाध्यमको कुरा वा अन्य अहिले विकसित भएका इन्टरनेटका कुराहरु गरौं । तर, सूचनाहरु सँधै उपयोगी हुन्छन् कि हुँदैनन् ? सूचनाहरुलाई कसरी समाजमा उपयोगी बनाउने ? सूचनालाई प्रस्तुत गर्दा लोककल्याणको भावनाको जन्मको कसरी हुन सक्छ भन्ने सोच पनि आवश्यक छ । हाम्रो अधिकांश समाचारहरु एउटा नेता आयो भाषण ग¥यो, त्यसपछि समाचार बन्यो । हाम्रो अधिकांश समाचारहरु घटनामा आधारित छन् । अधिकांश समाचारहरुमा शब्दको तलमाथि बाहेक मनसाय उस्तै छ । अधिकांश समाचारहरु अहिलेका सन्दर्भमा भन्नुपर्दा आग्रहले परिपूर्ण छन् । जबकि पत्रकारिताको सबैभन्दा ठूलो योग्यता भनेको तटस्थता र निष्पक्षता हो । सबैभन्दा ठूलो पत्रकारिताले निर्वाह गर्नुपर्ने भूमिका सत्यप्रतिको निष्ठा हो । तपाई सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन । तपाईमा आग्रह परिपूर्ण भो र निश्चित उद्देश्यका निम्ति जानुभयो भने पत्रकारिता सम्भव छैन । हामीले चाहिँ पत्रकारिता गर्दा पनि आग्रहका साथ गरेका थियौं । त्यो भन्नलाई हिच्किचाउन हुँदैन । आग्रह के थियो भन्दा, पञ्चायती शासन व्यवस्थालाई ढालेर प्रजातन्त्रको पुनस्र्थापना थियो । त्यो मिसनमा पत्रकारिता गरिएको थियो । अब त्यो मिसनबाट पत्रकारिता कमिसनसम्म पुग्यो । मैले सबै पत्रकार मित्रहरुलाई दोषारोपण गर्न खोजेको होइन । हामी यस्तो दलदलमा फसेका छौं कि यहाँबाट जस्तोसुकै पानी निकाल्छु भने पनि पानी चाहिँ फोहोर नै आउने अवस्था छ । समाज सम्पूर्ण रुपले दूषित भइसकेपछि त्यो समाजबाट स्वच्छताको कल्पना अलिक असम्भव हुँदोरहेछ । त्यस सन्दर्भमा मैले भनेको पत्रकारिता पनि अब मिसनबाट कमिसनतर्फ पुगेको अवस्था छ । पत्रकारिता व्यनवसायिक हुन आवश्यक छ । त्यसमा संलग्न भएका मानिसहरु पनि पेटसहितका हुन्, केही आकांक्षासहितका हुन् । पेटरहित र आकांक्षारहित मानिस हुँदैन । अन्य मानिसमा जस्तै पत्रकारमा पनि आकांक्षा हुन्छ । उनलाई पनि जीवन बाँच्नका निम्ति आवश्यक सुविधाहरुको खाँचो छ । तर, त्यसको लागि हामीले पत्रकारिताको व्यावसायिकाको विकास गर्न खोजेका हौं भन्ने मलाई लाग्छ । अब पत्रकारितामा सिर्जनशीलता भनेको के ? अथवा सिर्जनशीलतालाई पत्रकारितामा कसरी प्रस्तुत गर्ने ? मैले आफ्नो अवधारणा मात्रै भनेको हुँ है । फेरि यसलाई यसले बडो जान्ने भएर भन्यो, हामीले यसले भनेको मान्नुपर्छ र भन्ने अर्थमा ग्रहण नगरिदिनुहोला । मैले पत्रकारहरुसँगको निकट संगत र पत्रकारितासँगको आत्मियताको कारणले मलाई लागेको कुरा भनेको हुँ । दुईटा कुरा देखेँ मैले । पहिला–पहिला भर्खरको ठिटा हुने बेलामा हिन्दी पत्रिका खुब पढिन्थ्यो । राजनीतिमा चासो राख्ने हरेकका निम्ति दिल्लीबाट प्रकाशन हुने दिनमान नपढि नहुनेजस्तै थियो । अलिअलि साहित्यप्रति पनि रुची भएका कारणले मुक्ता, सरिता, नवनित, कादम्बिनी पढ्थे । त्यो दिनमानका सम्पादक थिए–रघुवीर सरहाय । रघुवीर सरहाय भनेको भारतका अत्यन्त प्रसिद्ध कवि हुन् । धर्मयुगका सम्पादक थिए–डा.धर्मवीर भारती । हिन्दी साहित्यमा डा. धर्मवीर भारतीको त्यति नै महत्वपूर्ण योगदान छ । नेपालको पत्रकारिताको इतिहासको कुरा गरौं । चाहे त्यो सुधासागरको कुरा गरौं । चाहे त्यो मोतीराम भट्टको पत्रिकाको कुरा गरौं । चाहे सिद्धिचरणले श्रेष्ठले पहिलो दैनिक पत्रिका दर्ता गर्नुभयो ‘आवाज’ को कुरा गरौं । चाहे गोरखापत्रमा भएका सम्पादकहरुको कुरा । गोरखापत्रले पहिलो पटक प्रधानसम्पादक भनेर कसलाई तोक्यो भन्दा बालकृष्ण समलाई । नेपाली पत्रकारिताको बीचको भागमा किशोर नेपालको अत्यन्त चकचकी–बकबकी थियो । किशोर नेपालले बनाएका टिमहरु धेरै थिए । देशान्तरको टीम होला अथवा कान्तिपुरकै टीम होला । मैले यी सबै उदाहरण दिएर भन्न खोजेको के हो भन्दा– साहित्य, सिर्जनशीलता र पत्रकारिता टाढाका विषय होइनन् । यी एउटै घरका अलग कोठाहरु हुन् । पत्रकारितालाई हामी कहिलेकाहिँ के पनि भन्छौ भन्दा यो हतारको साहित्य पनि भन्छौं । तपाईंले आज एउटा घटना भएको देख्नुभो अथवा तपाईले कुनै विषयका विषयमा अनुसन्धान गर्नुभयो भने त्यसलाई भोलिपल्ट नै प्रस्तुत गर्नुपर्छ । ६ महिना पर्खेर बसेर, त्यसका विषयमा एउटा आख्यान बनाएर प्रस्तुत गर्ने फुर्सद तपाईंले पाउनुहुन्न । तर, एउटा कविले त्यसका विषयमा ६ महिना घोत्लिएर एउटा कविता लेख्छ । एउटा उपन्यासकारले त्यसैका विषयमा दुई वर्ष अनुसन्धान, अवलोकन, अध्ययन गर्छ अनि उपन्यास निकाल्छ । तपाईंहरुलाई याद होला नारायण वाग्लेजीले कान्तिपूरमा ‘कफी गफ’ लेख्नुहुन्थ्यो । कफी गफले नारायण वाग्लेको कलमलाई यति मिहिन ढंगले परिमार्जित गरिदियो कि उहाँले पल्पसा क्याफे लेखेर मदन पुरस्कार जित्नुभयो । सिर्जनशीलतासँग पत्रकारिताको सम्बन्ध के ? सिर्जनशीलता र पत्रकारसँगको निकट सम्बन्धका कुरा मैले राखेँ । हामी केटाकेटी थियौ । नेपालमा तीनवटा साप्ताहिक हामी खुब पढ्थ्यौं । एउटा राष्ट्रपुकार थियो । जसलाई हाम्ले कांग्रेसको कण्ठ भन्थ्यौं । एउटा मातृभूमि थियो, जसलाई हामीले चिनिया कम्युनिष्टहरुको वाणि मुखरित गर्छ भन्थ्यौँ । एउटा समीक्षा साप्ताहिक थियो । त्यो अलिक बढी वौद्धिक पनि थियो र वामपन्थको सोभियत खेमालाई प्रतिनिधित्व गथ्र्यो । त्यहाँ एउटा गजबको स्तम्भ थियो । त्योभन्दा अगाडि त्यस्तो स्तम्भ नेपाली छापा जगतमा देखिएको थिएन । त्यो स्तम्भ के थियो भन्दा–‘सडक बोल्छ’ । रमेश तिवारी भन्ने पत्रकार हुनुहुन्थ्यो । सडकमा हिँडिरहेका मान्छेलाई उहाँ प्रश्न गर्नुहुन्थ्यो,समसामयिक विषयमा । सडकमा भेटिएको आवाजलाई साप्ताहिक पत्रिकामा मुखरित गर्नुहुन्थ्यो । जुन नविन र सिर्जनशील शैली थियो । समीक्षामै अर्को शैली थियो । मदनमणि दिक्षित–जसले ऋग्वेदका विषयमा पिएचडी गर्न लाग्नुभएको थियो । त्यो पिएचडीको सोध निर्देशक सर्वपल्ली राधाकृष्णन (जो पछि भारतका राष्ट्रपति हुनुभयो) हुनुहुन्थ्यो । त्यति ज्ञान भएको मान्छे मदनमणि दिक्षित । उहाँले चक्रपाणिका नामबाट एउटा स्तम्भ चलाउनुहुन्थ्यो । सायद, अहिलेसम्म पनि (मलाई कतै मेरो अज्ञानता होला । कति मेरो ध्यान नपुगेको होला ) त्यो स्तरको स्तम्भ लेखन मैले अहिलेसम्म पढ्न पाएको छैन । त्यहीताका र त्यसको सेरोफेरोमा किशोर नेपाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रमा सम्पादक हुनुहुन्थ्यो । र, काम नपाएर हल्लिरहेका किशोर नेपाललाई कृष्णप्रसाद भट्टराईले ‘तिमी गोरखापत्रमा जाऊ, गोपाल दाईलाई म भन्दिन्छु’ भनेर त्यहाँ पठाएपछि एउटा गजबको स्तम्भको सुरुवात भयो । ‘हाम्रा गाउँघर’ नामक स्तम्भ सुरु भयो । पत्रकार एउटा गाउँमा पुग्छ । त्यो गाउँमा के के उत्पादन हुन्छ ? त्यो गाउँको सडक कस्तो छ ? त्यो गाउँका विद्यालय कस्ता छन् ? एउटा गर्वको समाचार आउथ्यो । जुन गाउँमुखी थियो । अहिले पनि हाम्रो पत्रकारिता गाउँमुखी हुन सकेको छैन । तपार्इंहरुलाई याद छ कि छैन ? गोरखापत्रमा पहिला पहिला के हुन्थ्यो भन्दा महावाणी भनेर राजाले भनेका कुरालाई कोट गरेर महावाणि आउथ्याँे । महानवाणी छापिन्थ्यो– महावाणी । हामी चाहन्थ्याँै, महावाणी हैन, महानवाणी छापियोस् । महानवाणी भनेको के भन्दा जीवनका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति उपयोगी चीज कसैबाट भनियो भने त्यो महानवाणी हो । महावाणी भनेको के हो भन्दा ठूलो पदमा बसेको ठूलाबडाले भनेको कुरा महावाणी हो । अहिले पनि हाम्रो पत्रकारिता महावाणीमा छ, महानवाणीमा छैन । तपाईंले समाचार लेख्नुभयो भने समाचारको पहिलो अनुच्छेद के लेख्नुहुन्छ भन्दा, त्यो प्रमुख अतिथिले बोलेका कुराहरुले पहिलो प्राथमिकता पाउँछ । चाहे उसले बोलेको दुई पैसाको किन नहोस् । तर त्यहीँ अर्को एउटा मान्छेले महत्वपूर्ण कुरा बोल्यो भने त्यसको उल्लेख नै हुँदैन । हामी अहिले पनि त्यो महावाणी सिस्टममा छौं । पोषनाथ शर्मा गोरखापत्रमा काम गर्दा मलाई सोधेँ–‘दाई समाचार पाइएन के लेख्नेहोला ?’ मैले उनलाई भनेँ,‘ समाचार प्रशस्तै छ तर समाचार हेर्ने दृष्टिकोण चाहिँ हामीसँग हुन आवश्यक छ ।’ ‘के छ दाई?’ भनेपछि मैले भनेँ,‘फेवातालको बाँध छ नि, त्यो फेवातालको बाँध, जुन हाइटसम्म फेवातालको बाँध रोकिनुपर्ने त्यो बाँध रोकिएको छैन । त्यसको तलपट्टि प्वाल परेको छ । बालुवाका बोरा लगेर थुपारेका छन् । त्यसको आयूको सम्बन्धमा समाचार लेख न’ भनेर मैले भनेँ । पोषनाथले त्यसका आयूका विषयमा समाचार लेखे । त्यसलाई राइजिङ नेपालले प्राथामिकता दिएर छाप्यो । सूचना सधैँ घटनामा आधारित मात्र हुँदैन । तारा पाखे दाई संस्कृत माविमा प्रधानाध्यापक, म अध्यक्ष भएर काम गरेका थियौं । अनि मैले एक जना पत्रकार साथीलाई भनँे,‘संस्कृत स्कुल ठ्याक्कै गोरखापत्रसँग जन्मियो ।१९५८ असार २४÷२५ गते गोरखापत्रको जन्म भयो । १९५८ सालमै राजकीय संस्कृत प्रधान पाठशाला भनेर यहाँ पाठशाला खोलियो । स्कुलको आयू एक सय वर्ष पुग्यो तर सयजना विद्यार्थी भएनन् । यो भन्दा ठूलो समाचार के हुन सक्छ ?’ एक जना केदार शर्मा भन्ने मान्छे पत्रकारिता पनि गर्नुहुन्छ । हिमालमा लेख्नुहुन्थ्यो । उहाँले नेपाली खाद्य संस्कृतिका सम्बन्धमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्ययन गर्नुभएको छ, भ्रमणमा हिड्नुभएको छ । त्यो खाद्य संस्कृति विषयमा छलफल गर्न म कहाँ आउनुभयो । उहाँले के भन्नुभयो भन्दा ‘तीर्थजी विन्ध्यावासिनीमा बली कस्तो छ ?’ मैले भनें,‘ किन ?’ उहाँले भन्नुभयो–‘ बली दिन जाती होइन ।’ मैले उहाँलाई भनें,‘ बली दिन जाती त होइन तर त्यो त म पनि मान्छु तर विन्ध्यावासिनीमा दिएका मात्र बली हुन्छन् ? बुच्चडका दिएका बली हुँदैनन् ?’ विन्ध्यावासिनीमा बली एकदम घटेको छ तर पोखरामा मासु पसल बढेको छ । फरक के र’ैछ भन्दा बली दिँदा मान्छेले प्रसाद खान्छन् मासु खादैनन । बली वर्षको तीन चार चोटी दिन्थ्यो । उनीहरु मासु खाने भनेर खाँदैनथे । देवीको प्रसादका रुपमा ग्रहण गर्थे । त्यसको परिमाणसमेत सानो हुन्थ्यो । तर, मन्दिरहरुमा बली समाप्त भयो । एउटै टोलमा ५÷६ ठाउँमा बलीहरु सुरु भए । यो समाचार हुन सक्छ कि सक्दैन ? समाचार अर्को पनि छ, हामीले पोखराबाट सँधैं हिमाल देखेका छौं । हामीमध्ये कतिलाई थाहा छ– हिमालका नामहरु, उचाइहरु । हिमाल आरोहण इतिहासका विषयलाई हामीले आफ्नो समाचार लेखनीमा विषय बनाएका छौं कि छैनौं ? हाम्रो दुर्भाग्य ! संसारमा पहिलो चोटी ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहणको प्रारम्भ हामीबाट भयो । अन्नपूर्ण प्रथम चढेर यसको आरम्भ भयो । १९५० जुन ३ तारिखमा । सगरमाथा कहिले चढियो ? १९५३ को मे मा । अन्नपूर्ण चढेको तीन वर्षपछि सगरमाथा चढियो तर हामीले यसलाई उजागर गर्न नसकेको हुनाले सगरमाथाको आरोहणको इतिहास बन्यो । अन्नपूर्णको आरोहणको इतिहास बनेन । हामीले पोखराबाट देख्दै गरेको पाँचवटा हिमालले नाम नै पाएको छैन । ७ हजार ५ सय मिटरको सेरोफेरोमा भएका पाँच हिमाल नामविहीन छन् । समाचारहरु छन् । समाचार खोज्नका लागि हामीले अध्ययन गर्न जरुरी छ । त्यसलाई प्रस्तुतिकरणमा हामी कति नवीन हुन सक्छाँै ख्याल गर्न आवश्यक छ । समाचार वाचकको त समाचार लेखनमा केही भूमिका हुँदैन । समाचार लेखन एउटाले गर्छ, त्यो सम्पादककोमा पुग्छ । सम्पादकले सम्पादन गर्छ अनि वाचकले वाचन गर्छ । तर पनि वाचन कति आकर्षक हुन्छ ? भन्ने कुरासँग समाचारको सम्प्रेषण जोडिन पुग्छ । समाचार अत्यन्त महत्वपूर्ण थियो तर वाचन नै काम नलाग्ने भयो भने स्रोताले त्यो समाचारमा ध्यान दिँदैन । समाचार स्रोताका मनसम्म पु¥याउनका निम्ति त्यसलाई बलशाली बनाउनका निम्ति वाचकको पनि भूमिका हुन्छ । मैले यो पत्रकारितामा सिर्जनशीलतालाई यसरी जोड्न चाहेँ । पत्रकारिता यस्तो डरलाग्दो विधा हो । हामीले जुन बेलामा पत्रकारिता गथ्र्यौँ, त्यो बेलामा सबै बीटमा लेख्नुपथ्र्यो । राजनीति, भाषासाहित्य, संस्कृति, विज्ञान, सडक सबै विषयमा समाचार लेखिन्थ्यो । अहिले विस्तारै विधागत पत्रकारिताको युगमा प्रवेश गरिसक्यौं । राजनीतिको विषय लेख्नेले त्यसमा मात्रै केन्द्रित भएर लेख्ने प्रचलन बढ्दो भयो । पत्रकारहरुको संघसंस्था समेत विधागत रुपमा बन्न थालेका छन् । यतिबेला अझै विषयवस्तुका विषयमा हामीले आफूलाई अझै गम्भीरताका साथ लान सक्ने परिस्थतिको निर्माण भएको छ । मैले पत्रकारितामा सिर्जनशीलतालाई के भन्न चाहँे भन्दा, तपाईँको प्रस्तुतिमा सिर्जनशीलता, तपाईको दृष्टिमा सिर्जनशीलता हुन आवश्यक छ । पत्रकार राष्ट्रको मार्गदर्शक पनि हो । एउटा पत्रकारको खोजी पत्रकारिता र त्यसको अध्ययनले संसारको चक्रवर्ति महाराज जस्ता भएका अमेरिकाका राष्ट्रपतिको सत्ता गुमेको इतिहास पनि छन् । त्यस कारण मेरो आग्रह छ, निवेदन छ । पत्रकारिता सामान्य विषय होइन । घटना घट्यो, त्यसको सूचना संकलन गरी आफ्ना माध्यम बाट आम जनमानस समक्ष पु¥याउने मात्र उत्तरदायित्वमा सीमित हुनुभयो भने पत्रकारिताको कर्मकाण्डमा तपाईं सम्मिलित त हुनुभयो तर पत्रकारितालाई एउटा उचाईमा पु¥याउने कुराबाट तपार्इं चुक्नुभयो । त्यो हुनाले पत्रकार साथीहरुले दुईटा विषयमा आफूलाई गम्भीर राख्नुपर्छ जस्तो लाग्छ । सत्यका प्रतिको निकटता, सत्यको सामिप्यतामा जीवलाई आलोकित बनाउने एउटा अभ्यास । दोस्रो आग्रह नराख्नुहोस् । दल वा दलको गुट विषयमा आग्रह नराख्नुहोस् । मैले सम्प्रेषण गरेको समाचार मुलुकका हितमा हुनुपर्छ भन्ने आग्रहका साथ समाचार लेख्नुभयो भने त्यसले तपार्इं, समाज र राष्ट्रलाई कल्याण गर्छ । जसले भोलिका दिनमा अझ सिर्जनात्मक हुनका लागि पनि बल दिइन्छ । पत्रकारिता भनेको छिटछिटो विषय होइन । यो सतहको कुरा मात्रै होइन । पत्रकारितामा जीवतको गाम्भीर्यता छ । पत्रकारितामा सिर्जनशीलता छ र त्यो सिर्जनशीलता मुलुकका पक्षमा छ भनेर हामीले साबित गर्न सक्छौं । (नेपाल प्रेस युनियन कास्कीले ३२ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको ‘पत्रकारितामा सिर्जनशीलता’विषयक कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठबाट प्रस्तुत विचारको सम्पादित अंश )
काठमाडौं: सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।
काठमाडौं: सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताए ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात् विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अर्थात् ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनुमान थियो । कुल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजिगगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने अनमुान थियो । गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो । यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताउनुभयो ।
पोखरा: गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । उनका अनुसार चोरी मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्दामा २ जना, सवारी ज्यान मुद्धामा १ जना र अपराधिक उपद्र मुद्धाका २ जना गरी १० जनालाई रिहाई गरेको कारागार कार्यालय कास्कीका प्रमुख कोइरालाले जानकारी दिए ।
काठमाडौँ: नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि हुन गई विश्वव्यापी रूपमा तापक्रम वृद्धि भएको हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशममलव एक डिग्री सेल्सियसले बढेको छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले वर्सेनि मानवीय र आर्थिक नोक्सानी व्यहोर्दै आएको छ । सन् १९९० देखि २०१९ सम्मको नेपालले उत्सर्जन गरेको हरितगृह ग्यासको प्रवृत्ति हेर्दा सन् २००० पछि हरित ग्यास उत्सर्जनको वृद्धिदरमा कम देखिए पनि सन् २००८ पछि उच्च दरले बढेको छ । यसैगरी सन् १९९० मा दुई करोड मेट्रिक टन हरितगृह ग्यास उत्सर्जन हुने गरेकामा सन् २०१९ सम्म आइपुग्दा यस्तो ग्यास उत्सर्जन चार करोड ८४ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ । जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी, क्योटो प्रोटोकल, पेरिस सम्झौता लगायतका संरचना स्थापना भएका छन् । हरेक मुलुकले जलवायु परिवर्तनको असरलाई कम गर्ने गरी नीति, कानुन तथा कार्यविधि तर्जुमा गर्ने र सोही अनुसार कार्यान्वयन गर्दै गएका छन् । नेपाल पनि यी सन्धि सम्झौताको पक्ष राष्ट्र भई जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । विश्वको हरितगृह ग्यास उत्सर्जन सन् १९९० मा ३२ अर्ब ५२ करोड मेट्रिक टन रहेकामा सन् २०१९ मा यस्तो उत्सर्जन ४९ अर्ब ७६ करोड मेट्रिक टन पुगेको छ । सन् १९९० देखि २०१९ सम्मको अवधिमा विश्वको हरितगृह ग्यास उत्सर्जन औसत एक दशमलव ४५ प्रतशितले वृद्धि भएको छ । क्लाइमेट वाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन, संयुक्त राज्य अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रुस, ब्राजिल, जापान, इरान, जर्मनी र क्यानाडा छन् । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी अंश चीनको २४ दशमलव दुई प्रतिशत रहेको छ भने संयुक्त राज्य अमेरिकाको ११ दशमलव छ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्र ९कोप० को २७औँ सम्मेलन सन् २०२२ मा इजिप्टको शर्म एल–शेखमा सम्पन्न भएको थियो । हिमाली क्षेत्रका मुद्दा, अनुकूलन, न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका विषयलाई समेटेर नेपालले राष्ट्रिय अवधारणापत्र तयार गरी सम्मेलनमा पेस गरेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलका अनुसार सो सम्मेलनमा हानीनोक्सानी कोष स्थापना गर्ने, “स्यान्टीयागो नेटवर्क” कार्यान्वयन गर्न संस्थागत व्यवस्था गर्नेलगायतका विषयमा विकसित राष्ट्र कोप–२८ सम्म अनुकूलन वित्त दोब्बर गर्नेसम्बन्धी प्रतिवेदन तयार गर्न सहमति भएको थियो । हाल नेपालमा भौगोलिक सन्तुलन र सङ्कटासन्नताको अवस्थाका आधारमा जलवायु नमुना गाउँलाई थप स्थानीय तहमा विस्तार गर्न आठ स्थानीय तहमा जलवायु नमुना कार्यक्रम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा स्थानीय तहलाई जलवायु अनुकूलन योजनाका विकासमा सहयोग गर्न कुल रू १० करोड विनियोजन भएको छ । जलवायु परिवर्तनका लागि प्रत्यक्ष लाभ पुग्ने बजेटको अंश पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कुल बजेटको चार दशमलव छ प्रतिशत बजेट जलवायु परिवर्तनका लागि प्रत्यक्ष लाभ पुग्ने गरी विनियोजन गरिएकामा चालु आर्थिक वर्षसम्म आइपुग्दा यो अनुपातमा वृद्धि भई पाँच दशमलव नौ प्रतिशत पुगेको छ । वन तथा वातावरण मन्त्रालयद्वारा सन् २०२१ मा प्रकाशित सङ्कटासन्नता र जोखिम विश्लेषण प्रतिवेदनअनुसार समष्टिगत जलवायु परिवर्तन सङ्कटासन्नतास्तरमा अति उच्च २४, उच्च २६, मध्यम ११, न्यून १५ र अति न्यून एक जिल्ला रहेका छन् । यसैगरी, उक्त प्रतिवेदनअनुसार जोखिमस्तरमा अति उच्च आठ, उच्च १३, मध्यम २०, न्यून २१ र अति न्यून १५ जिल्ला रहेका छन् । रासस

