जनकपुरधाम: मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज मङ्गलबार मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनकारी दिएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कांग्रेसकै वीरेन्द्र सिंहलाई दिने तयारी भइरहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन् । यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा, जनमत र नेकपा माओवादी केन्द्र भएका थिए ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पोखरा: पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका ६ खहरेचोक हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकको विद्युतको पोलमा ठक्कर खाँदा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्, मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते बानियाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको युनियनको १० औं जिल्ला अधिवेशनले मिश्रको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष(खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ(सुमन), सह-सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक रहेका छन् ।
मकवानपुर: बाग्मती प्रदेशमा गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइने भएको छ । बाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइने बताइको हो । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनु पर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिए। उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयभन्दा फरक र नागरिकसँग सिधै चासो राख्ने विषय भएकाले यसतर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिएका हुन। मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको पनि बताएका थिए । उनले आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्त्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रह समेत गरेका छन् ।
खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको ज्यान गएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को २ त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको ज्यान गएको हो । ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
काठमाडौं: प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । यो प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनः स्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत र्दिएका छन् । प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाउनुभएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र का नेता ओमविक्रम भाटले जानकारी दिए । “प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुभएको छ । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ”, प्रदेशसभा सदस्य भाटले भने । रासस
पोखरा: नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ । गत बैशाख २२ गते बुद्धपूर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएको ठहर गर्दै आपत्ति जनाएको हो । नौंचु पैंगीलामा गुरुङ ताङतिङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा.जगमान गुरुङले माफी माग्नु पर्ने बताएको छ । विज्ञप्तीमा भनिएकोछ, ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैर संवैधानिक छ । उनले नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका बासिन्दाले जाल साजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको आरोप छ ।’ नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले डा. गुरुङले आफ्नो भनाई फिर्ता लिएर माफी नमागे परिवारको तर्फबाट जस्तो सुकै कदम चाल्न तयार रहेको बताए । संस्कृतिविद डा. गुरुङले नौंचु पैंगीलामा गुरुङ बारे आपत्तिजनक अभिव्यक्ति मात्र नभई मादी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सर्वोच्च अदालतलाई चुनौती त्यस्तै जातीय तथा क्षेत्रीय द्वन्द्व सृजना गर्ने खालको भनाई राखेका थिए । उनको भनाईको सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो । सो विषयलाई लिएर गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङले समेत सामाजिक सञ्जालमा अभिव्यत्ति दिदै आपत्ती जनाएका छन् ।

