प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौँ:   नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।    निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेसन आइओसी बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो ।    रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।      लु२ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो ।    तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । रासस

तनहुँ:   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।   काठमाडौं पोखराका लागि छुटेको  ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिएका छन् ।    घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको उहाँले बताउनु भयो र अन्य घाइतेको भने दमौलीको अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

गोरखा:  जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ५ जना  घाइते भएका छन् ।   काठमाडौंबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा जीपमा रहेकी त्यही ठाउँकी ७८ वर्षकी किरमाया आलेको ज्यान गएको प्रहरीले जनाएको छ ।     दुर्घटनामा गण्डकी गाउँपालिका ६ कै ७७ वर्षकी कनमाया आले, ७८ वर्षका धनबहादुर आले, ८१ वर्षका तीर्थबहादुर आले, ७२ वर्षका पूर्णबहादुर थापा र ६५ वर्षकी गंगामाया थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी लिलाराज लामिछानेले बताएका छन्  र घाइतेहरुको चितवन भरतपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।   जीपका चालक गण्डकी गाउँपालिका ६ का केहरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । हावाहुरीले सडकमा ढालेको रुखलाई छल्ने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताएका छन् । काठमाडौं पेन्सनपट्टा सम्बन्धी काम सकेर घर फर्कँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

 काठमाडौं:    भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा हुने भएको छ ।   सोमबार बस्ने प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था रहेको छ । विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीको भ्रष्टाचारमा भने हदम्याद नलाग्ने व्यवस्था छ ।    भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ ।’

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।   पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन् । पोखरामा रहेर २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गरेकी छन् । उनले विशेष गरि महिला सशक्तिकरणका क्षेत्रमा आवाज उठाउदै आएकी छन् । भण्डारी यसअघि राष्टपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेकी छन् । संविधान सभा सदस्य, नेपाली कांगे्रसका तत्कालिन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमा प्रेस यूनियनले संचालन गर्ने गरि आफ्नी वहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए । उक्त पुरस्कार नेपाली प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताइन् । सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ यनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र २०७९ नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिब ज्योति हमालले जानकारी दिइन् ।

काभ्रे:   काभ्रेको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर र ४ वटा गाडी पुरिएको छ ।  बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । कार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ । सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि कुनै मानविय क्षति भएको छैन । लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको बि।पी राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

तनहुँ:   इनारमा डुबेर तनहुँमा एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा सुमन एन्ड सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका ऋषिङ गाउँपालिका-७ निवासी आलेको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानबहादुर आलेले सञ्चालन गरेको सो फार्ममा डोरीको सहायतामा इनारभित्र पसी सफा गर्ने क्रममा अक्सिजनको कमीले गर्दा आलेको मृत्यु भएको हो । अक्सिजनको कमीले अचेत भएपछि उपचारको दमौली अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले आइतबार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

काठमाडौं:    बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवात का रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा चव्रmवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “त्यहाँको जस्तो कडा प्रभाव नेपालमा पर्दैन तर बदलीसहित छिटपुटदेखि हल्का वर्षा केही दिन रहने छ ।” उहाँका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात  आइतबार जमिनमा झर्ने प्रव्रिmयामा अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो । नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो ।  तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।  चक्रवातले समुद्रको तातो पानीलाई आफ्नो फेरामा बढी लिएको छ । चक्रवात  वैज्ञानिक जेफ मास्टर्सले यसको असरस्वरूप यो विकास भएको र अवसान हुने आसपासका क्षेत्रमा पनि एक सातायता तापक्रम वृद्धि उच्च रहेको औँल्याउनुभएको छ । असामान्य रूपमा यसले ग्रहण गरिरहेको ३१ डिग्री सेल्सियस हाराहारीको तातो पानीको वाफका कारण यसको असर पनि दक्षिणपूर्वी एसियामा अत्यधिक तातो मात्रा बढाउनमै केन्द्रित रहेको अनुमान गरिएको छ । जसको असर नेपालमा थोरै जोडिन्छ । चक्रवातको थप असरका विषयमा जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा र मौसम पूर्वानुमान महाशाखा दुवैले अध्ययन गरिरहेको छ । यसले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ । आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।

काठमाडौं:   नेकपा एमालेका नेता टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।