काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री खाणसहितका १२ जनामाथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई फरार रहेका छन् । यस्तै आज (आइतवार) नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दुवै जनालाई जिल्ला अदालत काठमाण्डौले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । रामेछापका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । यस्तै रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँका सल्लाहार रहेका इन्द्रजीत राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक पनि संलग्न रहेका प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
बागलुङ: वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो। आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको छ। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए। सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन्। ‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्काले भने, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ।’
काठमाडौं: वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै २ वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताएका छन् । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ र उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने हुन्छ। यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गर्ने तयारी गरेको र प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम समेत रोकिएको थियो। रासस
पोखरा: आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया थमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो । २६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । रोकामगरको दर्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि अप्रेसन नै गर्नुपर्ने भएकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेज ल्याएको ओमकुमारीका श्रीमान विकलले बताए । उनले आफुले जोहो गरेर ल्याएको २५ हजारमध्ये १२ हजार एम्बुलेन्सलाई दिएको सुनाए । बाँकी रहेको पैसाले केही नहुने बताउदै विकलले भने, ‘हामी त आपतमा परेको देखेर अलिअलि यही बिरामी ल्याउनुभाकाहरुले दिनु भो अब त के गर्नी गर्नी भाछ ।’ छोरीको त्यो हालत देखेर थमकुमारीको आमा चन्द्रकली पुनमगरलाई चैन छैन । छोरीको उपचारका लागि कसरी पैसा जोहो गर्न भन्ने कुराले निकै पिरोलेको चन्द्रकलीले बताइन् । ‘यो अस्पतालमा ल्याएर आइसियुमा भर्ना ग¥यौं । एकदिनकै १४ हजार लाग्ने रहेछ, पैसा नभएपछि एकदिन भन्दा धेरै आइसियुमा राख्न सकेनौं,’ उनले भनिन् । गत २७ गते अस्पतालमा भर्ना गरेको बिरामीको उपचारमा आर्थिक अभाव भएपछि एकदिन भन्दा धेरै आइसियुमा राखेर उपचार गर्न नसकेपछि सर्जरी वार्डमा झार्न बाध्य भएको चन्द्रकुमारीले सुनाईन् । ‘आईसियुको बेडको ६ हजार रहेछ, औषधीको ८ हजार लाग्ने रहेछ, साथमा भएको पैसाले एकदिन पुग्यो त्यसपछि अर्को दिनलाई नपुगेपछि सर्जरी वार्डमा राखेको छु, अहिले अस्पतालमा नै भएका बिरामीका आफन्तको सहयोगमा सामान्य उपचार भइरहेको छ,’ उनले भनिन् । बिरामी रोका मगरको ८ महिनाको छोरी छ । उनको श्रीमान ज्यालामजदुरी गर्छन् । कतैबाट उपचार खर्च जोहो नभएपछि छोरीको अप्रेसन नहुने चिन्ता छ । ‘ज्वाईको कमाई नै छैन, छोरीको हालत यस्तो छ, पुन मगरले भनिन्, ‘पैसा खोज्न नसकेपछि छोरीको अप्रेसन हुन्नकी भन्ने चिन्ता बढेको छ ।’ आर्थिक सहयोग गर्न अपिल उपचार गर्न आर्थिक अभाव भएपछि बिरामीकी आमा चन्द्रकलीले सहयोगको अपिल गरेकी छिन् । बिरामी छोरीको टाउकोको अप्रेसन गर्नका लागि रकम अभाव भएपछि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन् । उनले थमकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले ९८६४३७६१६१ मा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।
रूकुम(पूर्व): रुकुमको सिस्ने गाउँपालिका–८ भुरुङ्गास्थित सामुदायिक जंगलमा प्रहरीले ४ थान भरूवा बन्दुक फेला परको छ । अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरी टोलीले शनिबार जंगलको खाल्डोमा सेउलाले छोपेर वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । सो स्थानमा कसले कहिलेदेखि बन्दुक राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।
काठमाडौं: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार राति टोखा नगरपालिका ८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो। शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ र कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रासस
पोखरा: शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’ हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दर्शक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि आएका थिए। काठमाडौँ आएपछि ओस्कार कलेज अफ फिल्म स्टडिजमा अभिनय पढ्न थालेका त्रिपाठीले सोहि कलेजमा अध्यापक बने। हाल उनि अभिनय विभाग प्रमुख छन्। उनले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र ’हल्कारा’ बाट प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उनको चर्चा व्यापक भएको थियो। कोभिड १९ को महामारीले गर्दा केहि समय पहिले नै रिलिज हुनुपर्ने यो चलचित्र अहिले बल्ल रिलिज भएपछि दर्शकहरुको प्रतिक्षा पुरा भएको छ । शनिबार पोखराको ट्रेड मलमा रहेको हलमा सयौंको संख्यामा एकसाथ दर्शक आई चलचित्र हेरेका छन्। कास्कीका कास्कीकोट र मालेपाटन, काहु। ढिकुरपोखरी , वाम्दी लगायतका गाउँबाट उनीहरु बस नै रिजर्भ गरेर पोखरा आएका थिए। गत बर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो । यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ ।

