मोरङ: सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् । पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा-७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ । माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र त्यसका लागि गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा वडाध्यक्षसमेत उपस्थित भएर आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राखेका थिए । हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् । सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको छ । तर युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ । अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन । झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ । उद्धार गर्न १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए । उनले भने, ‘हामी माथि चढेर उनलाई झार्न सक्छौँ, तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने जोखिम छ ।’ पोलको ३० मिटर माथि पुगेर ती माझी युवा बसेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त माझीले राखेको प्रहरीको भनाइ छ । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर आज धनकुटा जानुभएको छ । प्रहरीले अध्यक्ष र वडाध्यक्षलाई त्यहाँबाट फर्काउने पहल थालेको छ । अध्यक्ष आएपछि माझीको माग सम्बोधन गराएर सहज रूपमा तल झार्ने विकल्प प्रहरीले रोजेको छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी माझीले दिएको प्रहरीले जनाएको छ ।
म्याग्दी: धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । ‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छु,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’ शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।
काठमाडौं: मर्मतका लागि मेलम्चीको पानी वितरण कार्य आउँदो सोमबारदेखि रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यहि जेठ १ गतेदेखि दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर पुनः २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण कार्य गएको मंसिरदेखि पुनः सुरु गरिएको थियो ।
काठमाडौं: नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।
चितवन: चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ । मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । “दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ”, उहाँले भन्नुभयो । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ । घर गाउँको सिंहदरबारः कति विकास, कति शासन रु, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो । शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि रु, कसरी लेखिँदैछ चितवनको आख्यान रु, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाच प्रस्तुत गरिरहेको छ । कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र यस्तै माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली (सुविन) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो । यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अर्याल र सिम्खडालाई विना विभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए। प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए र उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने समेत बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए, र प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिएका छन्।
पोखरा: गण्डकी प्रदेशमा नेपाली कांग्रेसका जितप्रकाश आले मन्त्री बन्ने भएका छन् । मनाङबाट स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने रेशबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन् । नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिन्छन् । कांग्रेसबाट आलेसँगै नवलपूरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापामगर मन्त्री बन्दैछन्
झापा: पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन् । यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए । त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

