खोटाङ: कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए । शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।
पोखरा: पोखरामा क्रेनको ठक्करबाट धना अधिकारीको मृत्यु भएपछि पिडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि सडकमा धर्ना दिएका छन् । हिजो पोखरामा क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना दिएको हो ।
पोखरा: पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । अधिकारीलाई हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ । पीडित परिवारको माग सम्बोधन हुन नसक्दा अधिकारी परिवारले धनाको शव बुझ्न मानेका छैनन् । मृतक परिवार पक्ष र क्रेन सञ्चालकबीच द्विपक्षीय वार्ता भइरहदा प्रहरीले सञ्चालकलाई विना निष्कर्ष लैजान खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । हाल विभिन्न मागसहित द्विपक्षीय वार्ता चलिरहेको बताइएको छ ।
मुगु: हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा बेसक्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिन–छिनमा हिउँ परिरहँदा प्रत्येक दिनको प्रयास निरर्थक भइरहेको छ । खटिएका सुरक्षाकर्मी एकपछि अर्को बिरामी हुन थालेकाले उहाँले आज जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र बिरामी परेकालाई फिर्ता बोलाइएको जानकारी गराउनुभयो । बेपत्ता भएको हप्ता दिन बितिसकेकाले बेपत्तामध्ये कोही जिउँदो होलान् भन्ने आश मरिसकेको छ । अब जेठ ४ गते पाटनमा यार्सागुम्बा टिप्न प्रवेश खुला हुने भएकाले त्यो बेला सुरक्षाकर्मी सुरक्षा दिन जाने र सङ्कलक पनि सयौँ सङ्ख्यामा पाटन पुग्ने भएकाले बेपत्ताको खोजी त्यो बेला सहज हुनसक्ने प्रनाउ बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “खोजीको टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिका दुई आफन्त पनि घर फर्किसक्नुभएको छ, पाटनको अवस्था, परिस्थिति, कठिनाइ सबै उहाँहरूले बुझेर अब खोजी गर्न गाह्रो छ, हामी पनि बिरामी भयौँ, पाटन खुला भए सुरक्षाकर्मी वा यार्सा सङ्कलक कोहीले बेपत्ता भेट्टाए खबर गरिदिनुहोला भन्दै घरतर्फ फर्किसक्नुभएको छ ।” यही वैशाख २२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिउँपहिरो आउँदा यार्सा टिम्न मुगुका पाटनमा पुगेका जुम्ला पातारासि गाउँपालिका–२ तल्फीगाउँका १५ जनामध्ये तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरो बेपत्ता भएका थिए । बेपत्ताको सूचना पाउनासाथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम गमगढीबाट बेपत्ता भएका व्यक्तिका दुई आफन्तसहित २३ जनाको टोली घटनास्थलतर्फ खोजीका लागि गएको थियो । घटनास्थल नजिक हेलिकोप्टर अवतरण गर्न अनुकूल मौसम नभएपछि सिरानी चौरमा अवतरण गरी फर्किएको थियो भने टोली त्यहाँबाट तीन घण्टामाथि र घटनास्थल च्याखुलेकभन्दा चार घण्टा तल रहेको छापाखोला भन्ने स्थानमा बास बसी प्रत्येक बिहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरि प्रयास गर्ने र साँझ बासस्थान फर्किने गर्दै आएका थिए ।
जाजरकोट: भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो । भेरी नगरपालिका-७ का वडाध्यक्ष दीपबहादुर शाहीले आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिए । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा गएका थिए । दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताए ।
विराटनगर: मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । गाउँपालिका–५ बूढीगंगा मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको बताएका छन् । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पोखरा: पोखरामा नेपाली नाटकलाई समसामयिकतातर्फ परिस्कृत गर्न तीनदिने नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार २०८० सुरु भएको छ । नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको उक्त सेमिनारमा नेपाली नाटकलाई समसामयिकतर्फ ढाल्न तथा विविध पक्षका बारेमा भारतीय नाट्यकर्मीले १० वटा र नेपाली नाट्यकर्मीले आठवटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । कार्यपत्रमाथि छलफल चलाइने जानकारी आयोजक संस्था नेपाल नाट्य प्रतिष्ठान पोखरा नेपालले दिएको हो । समाज र नाटकको बीचमा घनिष्ट सम्बन्ध रहेको छ । नाटककारले समाजका विकृतिअन्तर्गत सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक विद्रुपता, असङ्गत मानवीय सम्बन्ध, बेरोजगारीका कारण सिर्जना गरेको असुरक्षित भविष्य, स्त्री र पुरुषको बीचमा विकसित जटिलतालाई चित्रण गर्ने गरेका छन् । नेपाली नाटकलाई विविध पक्षबाट परिस्कृत गर्न प्रा डा रामचन्द्र पोखरेल, प्रा डा सावित्री मल्ल कक्षपति, नवीन पौड्याल ९भारत०, डा अशोक थापा, डा वीरबहादुर विश्वकर्मा ९भारत०, ताराप्रासाद पोखरेल, पूर्णकुमार शर्मा (भारत) लगायतले कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ । समीक्षकहरू डा कृष्णराज घतानी, डा नेत्र एटम, प्रा डा दयाराम श्रेष्ठलगायत रहने बताइएको छ । सेमिनारको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रङ्गकर्म, नाट्य लेखन र प्रदर्शनको परस्पर सम्बन्धको प्रतिफल भएको बताउनुभयो । नाटक पाठ्य र दृश्य दुवै रुप हुने हुँदा पढेर अनुभव गरेको विचारले भन्दा रङ्गमञ्चमा प्रदर्शित रङ्गकर्मको प्रत्यक्ष साक्षात्कारबाट प्राप्त विचार सशक्त हुने आचार्यको भनाइ थियो । कला, साहित्य ताथ सांस्कृतिकरूपमा पोखरा असाध्यै धनी भएकाले पोखरालाई नाट्य क्षेत्रबाट पनि चिनाउन जरुरी भएको उहाँले बताउनुभयो । नाट्यकर्मी प्रा डा दयाराम श्रेष्ठले समसामयिक नाटकमा गम्भीर कथावस्तु, गतिशील चरित्र, विचारशील निर्देशन र सचेत अभिनेता प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, वरिष्ठ सर्जक सरुभक्त क्षेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालर हिसनबहादुर थापामगरलगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।
पोखरा: वैशाख २९ गते शुक्रबारदेखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदल्दिो समयको कथा भएको बताइएको छ । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । चलचित्रका लेखक समेत उनै हुन् । उनले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ । “देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।’, उनले भने । सापकोटाले चलचित्रमा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल नै राखिएको बताए । संगीत समेत ओर्जिनल नै हो । साराङ्गी र बाँसुरीलाई बढी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै चलचित्र निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् । चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले “हल्कारा” आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए । “हल्कारा” को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन् । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए । “हल्कारा” हुलाक आउनुभन्दा अगाडिको समयको कथा भएको भनाई उनको छ । हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर ‘हल्कारा’ भन्नाले लेखेको चिठी पढने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए । ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो । चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, नेपाली परिवेशमा निर्माण भएको चलचित्रलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ(ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली चलचित्रलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए। यसअघि काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा ४ सय जनाको सहभागिता रहेको पराजुलीले जानकारी गराए । उक्त प्रिमियरमा हल्काराले तारिफ पाएको भनाई उनको छ । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरु बाक्लो उपस्थिति रहेको उनले उल्लेख गरे । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर,शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको चलचित्रमा लगानी अन्य चलचित्र भन्दा कम नै भएको जानकारी गराइएको छ ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज बिहीवार आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी० का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचारमात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उनले भने । यस प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिएका छैनन्। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस्, निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’, भने । भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।

