पोखरा: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् । हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन् । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिईन् ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ । महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं ।’ संघको विज्ञप्तिमा नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने तथा घरधनीसँग मित्रवत् व्यवहार गर्न,सम्झौता अनुरुपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरिएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ। प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।
काठमाडौं: सत्तारूढ गठबन्धनका दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको बैठकमा उपस्थित छन्। बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।
काठमाडौं: शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो। बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन्। नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ। तर यता एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। बुधवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको तीन करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ । आज (बुधवार) राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएको हो ।
तनहुँ: तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९:२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनले जानकारी दिए । बन्दीपुर वडा -१ स्थायी घर भई हाल सोही पालिकाको वडा-५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिए । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते भएका छन् । पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ । बुधबार बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।
दार्चुला: दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पाँच जना सम्पर्कविहीन भएका थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृत अवस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो, “शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।” मङ्गलबार दिउँसोबाट सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । “हिजो पनि राति ९:३० बजेसम्म खोजीमा जुट्यौँ ” उहाँले भन्नुभयो, “ आज पनि बिहानबाट टोली खटिएको छ ।” उहाँका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।

