पाल्पा: तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ । यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको जानकारी दिनुभयो । पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।
कास्कीः गण्डकी प्रदेशअन्तरगत लोकसेवा आयोगल प्रदेश वन सेवामा वन रक्षककालागि इच्छुकलाई दरखास्त आव्हान गरिएको छ । प्रदेशले उक्त पदमा १ सय जना स्थायी पदपूर्ति गर्न यही वैशाख ६ गते विज्ञापन खुलाएको छ । विज्ञापनमा दरखास्त बुझाउन न्यूनतम ८ कक्षा पास भएको हुनुपर्ने उल्लेख छ । आयोगले जनाएअनुरुप प्रतियोगितात्मक परीक्षा खुल्ला तथा समावेशी ढाँचामा हुनेछ । जहाँ शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता हुनेछ । निवेदन दिन वैशाख २६ गतेसम्म समयावधि छ भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म समय थपिएको छ । विज्ञापनको सम्पूर्ण विवरणः
दाङ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति फकाएर उपमहानगरपालिका-१३ फुलबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साे घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
नेपालगञ्ज: नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरिएकाे थियाे । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्माले शपथ लिनुभएकाे हाे । प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको थियाे ।
भैरहवा: झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो । सैनामैना नगरपालिका वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला अदालतले अरु १७ जनालाई धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । बालिका सीताको गत फागुन २० गते राति मृत्यु भएको र राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि आफन्तहरुले दाहसंस्कार गरेका थिए । सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटो रिक्सामा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिँदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो । सैनामैना नगरपालिका वडा नम्बर १० फूलबारी टोल निवासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
काठमाडौं: अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् । यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए । अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।
काठमाडौं: आज रातीदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएकाे हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारवाही हुनेछ । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख १० हजार ३०० रुपैयाँ कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

