काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ। अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो। सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उहाँ निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ। यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो । सोमबार ९हिजो० छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो ।
काठमाडौं: सरकारले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षितरूपमा नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आबद्धतासम्बन्धी बनेको कार्यविधिमा व्यक्तिगत डाटा र राज्यको सुरक्षाका कुराहरू निजी कम्पनीलाई दिने तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिने गरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको बताउनुभयो । उहाँले त्यो कार्यविधिका विषयमा अध्ययन गर्नका लागि छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको पनि बताउनुभयो । मन्त्री शर्माले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको बताउनुभयो । उहाँले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताउनुभयो । उहाँले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउनका लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो । प्रवक्ता शर्माले काठमाण्डौ–तराई द्रुत मार्गमा पर्ने खोकना जग्गासम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको बताउनुभयो । उहाँले त्यो समस्या समाधान गर्न समितिलाई तीन महिनाको समय दिएको पनि बताउनुभयो ।
पोखरा: अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् । पोखराबाट टेनिस सुरु गरेका बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वारियतामा पर्न सफल भएका हुन् । अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् । विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताए । उनले दशौं हजारौं खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए । बास्तोलाले १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेका छन् ।
त्रिवेणी: नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो । “नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि केही ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ”, उहाँले भन्नुभयो । फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उहाँको भनाइ थियो । डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता साताव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । यहाँ रहेका सामुदायिक वनले नियमित हेरालुबाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने र अग्नि नियन्त्रक समूह निर्माण गर्ने गरे पनि पूर्णरूपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताउनुभयो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा भने हाल यस्तो घटना भएको पाइएको छैन । गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने, वन्यजन्तु आगोमा जलेर मर्ने, धुवाँका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने हुन्छ । वन क्षेत्रमा लागेको डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँको बादल देखिन्छ । वायुमण्डल धुवाँले ढाक्दा कतिपय मानिसको आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या हुने मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ थियो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर जमिनमा वन रहेको छ । RSS
पोखरा: नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा-२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उहाँको भनाइ थियो । नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पु¥याउने छ ।” उहाँले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवद्र्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताउनुभयो । उहाँले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गर्नुभएको थियो । पहिलो पटक नेपाल आउनुभएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । पहिलो पटक नेपाल आएको सुनाउँदै उहाँले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो । उहाँले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आउनुभएको थियो । नाकाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बतउनुभयो । साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ । हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी छ । RSS
काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।
काठमाडौं: निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो । काठमाडौंलाई तराईरमधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । रासस
म्याग्दी: म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ। काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ। उनीहरु दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए। सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका छन्। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी वेपत्ता भएका थिए। उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ। बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ। रासस

