काठमाडौं: परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गर्नुभएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो। साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ।
काठमाडौं: सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । सुन तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
पोखरा: राम विल्डर्स कम्पनीले पोखराको विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै सडक संघर्ष समितिले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउँदै संघर्ष समितिले सडक निर्माणमा ढिलाईसुस्ती भएको विषयमा संसदमा कुरा उठाउन माग गरेको छ । ‘सम्माननीय सांसद मार्फत के–कति कारणले काम ढिला हुन गएको हो ? समयमै किन सम्पन्न हुन नसकेको हो ? जम्मा १.८ सडक ४ वर्षदेखि अलपत्र किन राखिएको हो ? जनताको स्वास्थ्यमा किन असर पार्ने कार्य गरिएको हो ?’ ध्यानाकर्षण पत्रमा प्रश्न गरिएको छ । पोखरा आउने क्रममा सांसद शाहीले चाँसो देखाएपछि पत्र बुझाएको स्थानीय पुष्प बरालले बताए । ‘काम विशेषले सांसद शाही पोखरा आउनु भएको रहेछ, पर्यटकीय क्षेत्रको सडक धुलाम्य देख्दा उहाँले आफै यो सडकको विषयमा बुझ्नुभयो, सदनमा नै कुरा राख्छु भनेपछि, ध्यानाकर्षण पत्र बुझाएको हौं,’ उनले भने । बरालका अनुसार सो सडकखण्ड अन्तरगत पर्यटकीय स्थल डेभिजफल तथा गुप्तेश्वर गुफासँगै सडकलाई धार्मिक क्षेत्र पुम्दीकोट, शन्ति स्तुपा लगायतका स्थल पर्छन् । बाटोको निर्माणकार्य सुस्ताउदा पर्यटकलाई आवागमनमा समस्या मात्रै नभई स्थानीले धुलाम्मे बाटोकै कारण हैरानी खेप्नु परेको उनले बताए । बरालले ढिलासुस्तीबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको गुनासो सुनाए । विरौटा– छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।
काठमाडौं: भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उहाँका दाजु अशरफको गोली हानी हत्या भएको छ। पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो । पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गर्नुभएको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ । ५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । “परिषद गठन पछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं” परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने–“यो भ्रमणले प्रदेश खेलकुदहरु संग सम्वन्ध विस्तार संगै सिकाईहरु आदान प्रदान गर्न समेत सहयोग मिल्ने छ ।” भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन, बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्त सिंह बस्नेत, र सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा रहेका छन् ।
दमौली: मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भन्नुभयो, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।” विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उहाँका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भन्नुभयो । आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताउनुभयो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।
पोखरा: पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन पोखरा पर्यटकीय क्षेत्रको राजधानी हो भन्ने सन्देश बोकेर भारतको चार शहरको भ्रमणमा जाने भएको भएको छ । नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेको आज (शनिबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको नाट्टा गण्डकीका अध्यक्षका हरिराम अधिकारीले बताए । ‘पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य भन्ने सन्देशसँगै पोखरा पर्यटकीय राजधानी हो भन्ने सन्देश लिएर भारतका चार शहर जाँदै छौं, अधिकारीले भने, ‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्र्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य समेत हो ।’ विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रको जानकारी दिन, सडकमार्गबाट सहज रुपमा पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण गर्न सकिन्छ भन्ने सन्देशसँगै पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिने उदेश्यले भारत भ्रमणमा जान लागेको नाट्टा गण्डकी अध्यक्ष अधिकारीले बताए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।
पोखरा: पोखराको सेती खोँचमा खसेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेको स्मृति पराजुलीको मृत्यु भएको छ । सेती खोँचमा खसेर बेपत्ता भएको सूचनापछि खटिएको प्रहरीको टोलीले पराजुलीलाई खोँचबाट अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय स्मृति पराजुली दिउसो पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको थिइन् ।
पोखरा: पोखराको सेती खोँचमा १२ बर्षीय स्मृति पराजुली खसेर बेपत्ता भएकी छिन् । पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय पराजुली पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सेती खोँचमा खसेर बेपत्ता भएकी पराजुलीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी कालिका गणबाट उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

