काठमाडौं: समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरू हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ। जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो। शैक्षिक सत्र सुरू भएको महिनौं दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरू भएको दिन नै पुस्तक पाउने भएका छन्। पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ। जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ। योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ। ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए। उनका अनुसार नयाँ शैक्षिक सत्र सुरू नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन। सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए। नेपालगञ्जबाट गाडीमार्फत् ढुवानी गरेर जिल्लामा पुर्याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उनको गुनासो थियो। ‘पहिला जिल्ला शिक्षा कार्यालयमार्फत् मंसिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो’, शाहीले भने। अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि पुस्तक खरिदको रकम समयमा दिन नसकेको उनले बताए। पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरू हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पुर्याएको शाहीको भनाइ थियो। पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे। पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन्। पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो। यी चार पालिकामा पैदल मार्गमार्फत् केही दिनअघि पुस्तक पुगिसकेका छन्। कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए। तीन गाउँपालिकाको पुस्तक भोलिदेखि ढुवानी हुने जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन। हवाई मार्गमार्फत् ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत् ढुवानी गरिने ढुवानीको जिम्मा लिएको ज्ञानबहादुर रोकायाले बताए। उनका अनुसार तीन पालिकाका लागि भोलि शनिबारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ। शनिबारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताए। उनले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुर्याउने जिम्मा लिए। यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैं पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन्। कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरू भएसँगै पुस्तक पाउने भएका हुन्। हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरू हुँदैछ। यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरू हुने गरेको छ। कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन्। तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुने र मंसिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए। कोरोना संक्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू गर्न थालिएको मानसरोवर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।
पोखरा: जिल्ला अदालत कास्कीले कर्तव्य ज्यान मुद्धामा जन्मकैद फैसला पाएका फरार प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । २०७० पुस १३ गते कास्कीको साविक सार्दीखोला गाविस ८ बस्ने भिमबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला गरेको म्याग्दीका जयन्द्र पाईजा पुनलाई ९ वर्षपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । कास्की प्रहरीका अनुसार म्याग्दी स्थायी घर भएर कास्कीको माछापुच्छ«े गाउँपालिका २ भराभरी बस्दै आएका ३७ वर्षीय पुनलाई जिल्ला अदालत कास्कीले ०७३ जेठ १७ गते कर्तव्य ज्यान मुद्धामा जन्म कैद सजाय फैसला गरेको थियो ।
स्याङ्जा: पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ । महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो । यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनासमा सबैभन्दा बढी ४.२६ प्रतिशत र फेदिखोलामा सबैभन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ । चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ भने गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजार रुपियाँमा तीन करोड २३ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको हो । यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड २५ लाख दुई हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा दुई करोड १९ लाख ७० हजार रुपियाँ बेरुजु देखिएको छ । वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ । यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको छ । विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ । फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ भने अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा एक करोड २१ लाख ५० हजार रुपियाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ। नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्। लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि गरेका छन्। लिङ्देनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई नयाँ वर्षका अवसरमा शुभकामनासमेत दिएका छन्। कार्यक्रममा राप्रपा महामन्त्री धवलशम्शेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा लगायतले पनि रक्तदान गरेका थिए। ५७ जनाले आज रक्तदान गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनाएको छ।
जनकपुरधाम: नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आज (शुक्रबार)बाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ । यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । साथै महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताउनुभयो । उहाँले चाँडै नै बिजलपुरासम्म रेल सेवाको विस्तारका लागि प्रयासरत रहेको जानकारी दिनुभयो । महाप्रवन्धक झाले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताउनुभयो । महाप्रवन्धक झाले अब सहज र सुलभ रेलसेवा उपलब्ध हुने बताउनुभयो । यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारती बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो । महाप्रबन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा विस्तारको शुभारम्भ गरिएको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सात वर्षदेखि कब्जा गरेको छ । बेनी बजार क्षेत्रमा रहेको १४१९ कित्ता नम्बरको चार आना जग्गा उक्त पार्टीले कब्जा गरी आफ्ना कार्यकर्तालाई प्रयोगका लागि दिएको छ । बजारको केन्द्रमै रहेको उक्त जग्गा वर्षौंदेखि कब्जा हुँदा पनि नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालय निरीह बनेका छन् । नगरपालिकाले जग्गा आफ्नो मातहतमा ल्याउन नसकेर निरीह बनेको नगरवासीको भनाइ छ । डेढ दशकअघि तत्कालीन खाद्य संस्थानको जग्गा बेनी नगरपालिका–२ खबरका प्रदीप सापकोटाले खरिद गर्नुभएको थियो । सापकोटाले खरिद गरेको उक्त जग्गा जिल्लास्थित राजनीतिक दलहरूले सार्वजनिक हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलनका कारण सापकोटाले आफ्नो जग्गामध्येबाट चार आना जग्ग्गा नगरपालिकालाई २०७३ सालमा पास गरेर दिनुभएको थियो । तत्कालीन नेकपा (माओवादी पार्टी) शान्ति प्रक्रियामा आएसँगै उक्त खाद्य संस्थानको भवन र जमिन प्रयोग गरेर पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले सापकोटाको नाममा रहेको जग्गामा रहेको पुरानो भवनमा नेकपाको पार्टी कार्यालय सञ्चालनमा छ । नगरपालिकाले उक्त जग्गाका विषयमा सहजीकरण गरिदिन प्रशासनलाई औपचारिक रूपमा पत्राचार नगरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । उक्त जग्गाका विषयमा नगरपालिका, जग्गाधनी सापकोटा र नेकपा बसेर समझदारी गर्न सके समस्या समाधान हुने उहाँले बताउनुभयो । प्रजिअ पौडेलले भन्नुभयो, “सार्वजनिक जग्गा कसैले कब्जा गर्न मिल्दैन । समस्याको समाधान गर्न नगरपालिकाले पहल गर्नुपर्दछ । नेकपाले जग्गावाला सापकोटासँग तत्कालीन समयमा गरेको समझदारी पालना गराउने उद्देश्यले उक्त जग्गा नछाडेको बुझेको छु । जग्गा दिने, लिने र नेकपा पक्ष बसेर छलफल गरेर विषय टुङ्गोमा पुग्ने देखिन्छ ।” उक्त जग्गालाई नगरपालिकाको मातहतमा ल्याउन कोसिस गरे पनि आफ्नो कार्यकालमा सफल नभएको वडा नं. ७ का निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अहिले उक्त जग्गा भाडामा प्रयोग गर्ने गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिइएको छ । २०७६ मङ्सिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको भाडामा प्रयोग गर्नेगरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिने निर्णय गरेको थियो । दस वर्षका लागि वार्षिक १० हजार भाडा तिर्ने गरी मिति २०७६ पुस ३ गते सम्झौता भएको थियो । पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले वार्षिक रूपमा भाडा भुक्तानी गर्दै आए पनि नगरपालिकाले जग्गा कब्जामुक्त गराउन नसकेका कारण उपभोग गर्न नपाएको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिमा आएको पार्टीले वर्षौंदेखि सरकारी जग्गा कब्जा गर्नु र नगरपालिकाले समस्या समाधान गर्न नसक्नु लाजमर्दो विषय हो ।” नगरप्रमुख सुरत केसीले जग्गालाई नगरको मातहत ल्याउन नेकपासँग आवश्यक पहल थालेको र कुराकानी सकारात्मक दिशातर्फ बढेकाले चाँडै निष्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
काठमाडौं: शुक्रबार अमेरिकी डलरको भाउ सीमान्तदरमा बढेको छ। आज डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। बिहीबार डलरको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा महंगिएको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ र बिक्रीमा १४४ रुपैयाँ ६६ पैसा पाइन्छ। बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा थियो। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।
काठमाडौं : नयाँ वर्ष २०८० को पहिलो दिन आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। शुक्रबार राति देशभर आंशिक बदली रहने छ।
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मुस्ताङ जाँदै गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्। घाइतेको अवस्था खतरामुक्त रहेको अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्सले घाइतेलाई बेनी अस्पताल पुर्याएको हो। बसमा २३ जना यात्रु सवार थिए। बस सडकबाट ५ मिटर तल खसेको थियो।

