पाेखरा: हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ । कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् । मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् । आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् । रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत बैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो । बैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ । यस्तै बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउने छुटेका इँटाभट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् । मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ । अन्यथा संवैधानिक व्यवस्थानुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’ उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउदै सरकारबाट बाहिरिदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’ उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरुलाई अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए । आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बस्यालका अनुसार आगामी ४ गतेसम्म सञ्चालन हुने सो अनलाइन पत्रकारिता तालिममा आचार संहिता, अनलाइन पत्रकारिकताको महत्व र मौलाउदै गएको पीत पत्रकारिताको विषयमा तालिम प्रदान गरिने छ ।
काठमाडौं: अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो । अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका उनले बताए । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो । यस्तै यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा ५ सय १२ जनाले अनुमती लिएका पर्यटन विभागले जनाएको छ । जसमा एक सय तीन जना महिला छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि एक सय ९७ जनाले अनुमति लिएका छन् । यस वर्ष अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो । घोडाबाँधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे , मानापाथीलगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्न सकिन्छ । घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ताहरुले बताएका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ । घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताए । उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उनले भने, ‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’ घान्द्रुकमा सभाहलसहितको रिसोर्ट आवश्यक भएकाले त्यो आवश्यकता पनि पुरा गर्ने उनको भनाई थियो । प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उनले बताए । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाई थियो । करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालन कुलप्रसाद गुरुङले जानकारी दिए । ‘कोरोनाको समय देखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो अवस्था थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागे । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी छु ।’ ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ । रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङलले जानकारी दिए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए । लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उनले भने, ‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
ढोरपाटन: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताउनुभयो । अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ । कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्ने पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो । नेपाल प्रहरीका हवालदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवालदार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिए । प्रहरी हवालदार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवालदार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवालदारलाई राती नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
पोखरा: पोखरामा शुक्रबारदेखि नाटक ‘उर्वशी सूक्त’ मञ्चन सुरु भएको छ । नारी शक्तिलाई केन्द्रमा राखेर तयार भएको नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा बैशाख ११ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गरेका हुन् । शनिबार अतिरिक्त सो दिउँसो १ बजेपनि हुनेछ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटकमा दील प्रसाद गुरुङ, शिव संकल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गरेका छन् । नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । वेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाए । पेशाले पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रुचिले साहित्य, संगीत र कलाप्रेमी उनका कथा, कविता लेख र समालोचनाहरु प्रकाशित छन् । यो नाटकबाट पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले खुलाए । हालसम्म तीनवटा नाटक लेखेका संकल्पको मञ्चन भएको पहिलोनाटक उर्वशी सूक्त बनेको छ । उनले आफूले लेखेको यहीं नाटकबाटै निर्देशनमा समेत डेब्यु गरें । झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले भने दुई सय रुपैयाँको टिकट काट्न सक्नेछन् । झण्डै एक महिनाको रिहर्सल पश्चात तयार भएको नाटकको पहिलो सो मञ्चन पश्चात प्राप्त दर्शकको प्रतिक्रियाले थप उत्साहित बनेका छन् । तस्बिर: अर्जुन गाहा मगर (सुशान्त) /सुनगाभा न्यूज

