प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:   वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । उहाँले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने  बताउनुभयो ।     यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ । आज लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ । 

दाङ:   दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।   घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।     मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।    

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।   बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।   बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।   नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो।   कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ।   यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए।   २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।

इन्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा राजस्थान रोयल्सको शीर्षस्थान कायम छ।  गएराती लखनउसँगको हारका बाबजुद राजस्थानले शीर्षस्थान कायम राखेको हो। विजयी लखनऊ ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।    समानअंक भएपनि रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा छ।  गएरातीको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको थियो।   १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ४४ रन बनाए। उनले ३५ बलमा ४ चौका र २ छक्का हाने।    ४० रनको योगदान गरेको अर्का ओपनर जोस बट्लरले  ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।    त्यस्तै देवदत्त पाडिकलले २१ बलमा  ४ चौका प्रहार गर्दै  २६ रनको योगदान गरे। रियान परागले नटआउट १५ रन बनाए।    बलिङमा लखनऊका अवेश खानले सर्वाधिक तीन विकेट लिँदा मार्कस स्टोइनिसले दुई विकेट लिए।  टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो।   लखनऊका केली मेयर्सले अर्धशतक बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए।    कप्तान केएल राहुुलले  ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। मार्कस स्टोइनिस र निकोलस पुरनको २१ र २९ रनको योगदान रह्यो।  बलिङतर्फ राजस्थानका रविचन्द्रन् अश्विनले दुई विकेट लिए। ट्रेन्ट बल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एकएक विकेट लिए।

  सर्लाही:   सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।    बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।   ठक्करबाट मोटरसाइकल चालक एवं पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।    सनाखत हुन नसकेको मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् । 

तनहुँ:   तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।   बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताए । “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उनले भने ।    श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले बताए ।    सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ । “मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएर उहाँहरुसँग उक्त रकम लिने गरेका छौँ”, उनले भने ।    उनका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनीहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।    “पहिला पहिला श्रम स्वीकृतिका लागि पोखरा जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरुलाई झण्झट हुँदैन”, उनले भने । उनका अनुसार एजेण्ट लगाउँदा ठगिने गरेको गुनासो पनि आउने गरेको थियो ।     आँबुखैरेनी गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।   

काठमाडौं:   प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।   शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्  ।   सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।     सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।   दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

  काठमाडौं:    बसुन्धरा-मान प्रतिष्ठानले २०८० सालको बसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ।    प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा  वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा. रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।   त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।   विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ। रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिनुभएको छ।   विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ। 

पोखरा:   आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।   संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।   गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता/दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए ।   कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्ने बताए ।   पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए । आमा औंसीका दिन सामाजिक सञ्जालका भित्ताहरू फोटाले भरिने गरेको भन्दै बुढेसकालमा आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस भन्दै कामना गरे ।   प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन् ।   गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोजगरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाए । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ।