प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा सेवा अवरुद्ध हुने भएको हो । विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने महाप्रबन्धक तिवारीले सूचना जारी गरेर जनाएका छन् । उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

पोखरा:    पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो ।  सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको छ । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ ।  पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु.७ लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।  लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछ । उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्ने भने यस बाहेक सेवा शुल्क भने लिइने छैन । सम्झौताको कुल रकम रु.७ करोड रहेको छ । प्रत्येक लाभग्राहीलाई ७ लाखका दरले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु.११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने विषयमा हामी सचेत छौँ, यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।” आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।  लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताउनुभयो । पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना  सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म १०३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी १०८८ घरहरू निर्माण गरिएका जानकारी दिनुभयो । यस परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुगेको मानन्धरले बताउनुभयो । मुलुकका विभिन्न स्थानहरूमा नयाँ निर्माण, पुनर्निर्माण र स्थानान्तरण लगायतका कामहरू भइरहेका उहाँले जानकारी दिनुभयो ।  सम्झौताको तेस्रो पक्ष कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनहरूको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । स्थानीय सरकारको सहकार्यमा आवास निर्माण जस्तो महत्वपूर्ण क्षेत्रमा थप लगानीका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।  आवास निर्माण क्लष्टरबेस तर्फ २ वटा मोडल बनाउँदा उपयुक्त हुने लुमन्तिले जनाएको छ । उसका अनुसार २५ लाख सम्मको घरजग्गा र ४५ लाख सम्मको घर जग्गा गरी २ वटा मोडल उपयुक्त हुनेछन् । यसलाई उसले भावी योजनाका रूपमा अगाडी सारेको छ । ७० करोडको ऋण सहायतामा आगामी पाँच वर्षमा १००० वटा घर निर्माण गर्ने ती मध्ये १०० वटा घरहरू क्लस्टरबेसमा निर्माण गर्ने योजना छ ।  

काठमाडौं:    संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनु भयो । उहाँले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनु भयो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहन्थ्यो । वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि १४ महिनादेखि सर्वोच्च न्यायालय कामुको भरमाचोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए । उनको उपचारमा डा. रोशन शर्मा, दिनेश राई लगायतको टोली सहभागी थियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नर्भिक अस्पतालका चिकित्सकहरुसँग पनि राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गरेका थिए ।

काठमाडौं:   एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज कीर्तिपुर मैदान र मुलपानी मैदानमा एकरएक खेल हुँदैछ । समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई तथा हङकङले सिङ्गापुरलाई हराउँदै विजयी सुरुवात गरेका छन् । एसीया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । 

काठमाडौं:    सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आज खान छुटेका बालबालिकालाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सालदेखि खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङक्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ ।

काठमाडौं:    केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ । केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ । खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरको ४० दशमलव ८, नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । दीपायल, धनगढी र विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा धेरै छ । आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ । 

तनहुँ:    तनहुँ-१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।  नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित  सम्बन्धित मतदान केन्द्रमा खटाइने ढकालले बताउनुभयो । “सदरमुकामबाट टाढा दूरीमा रहेका मतदान केन्द्रमा ७ गतेबाटै आवश्यक सबै सामग्री दिएर कर्मचारी खटाउँछौ,” ढकालले भन्नुभयो ।  कुल एक सय ५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ । भानु नगरपालिकामा कार्यरत भगवती शर्मालाई भानु-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत पार्वती पौडेललाई भानु-३ स्थित मस्र्याङ्दी आधारभूत विद्यालय, कृषि विकास बैंकमा कार्यरत रसिला श्रेष्ठलाई भानु-६ स्थित पड्केपसल आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत दुर्गा अधिकारी तिमिल्सिनालाई व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत देवी भण्डारी चापागाईँलाई सत्यवती माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा दिइएको छ ।  शुक्लागण्डकीमा कार्यरत मञ्जु सुवेदीलाई व्यास-४ स्थित मदर्शा आधारभूत विद्यालय (ग), सडक डिभिजन कार्यालयमा कार्यरत बबिता शर्मालाई व्यास-७ स्थित पञ्चज्योति आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत अस्मिता सुवेदीलाई पञ्चज्योति आधारभूत विद्यालय (ग), व्यासमा कार्यरत कल्पना खनाललाई आँबुखैरेनी-३ स्थित रामशाह माध्यमिक विद्यालय (ख), भानुमा कार्यरत सरस्वती गुरुङ ढकाललाई बन्दीपुर-१ स्थित विष्णु माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।  आँबुखैरेनीमा कार्यरत निर्मला कँवरलाई बन्दीपुर-१ स्थित पवित्रा माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत लक्ष्मी रिमाल पराजुलीलाई बन्दीपुरस्थित भानु माध्यमिक विद्यालय (ख), भिमादमा कार्यरत टेकावती ढकाललाई बन्दीपुरस्थित दिल आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत सावित्री आचार्य कोइरालालाई बन्दीपुरस्थित जगदीश्वर आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत लक्ष्मी गुरुङलाई बन्दीपुरस्थित चन्द्रोदय आधारभूत विद्यालय (ख) र देवघाटमा कार्यरत पुष्पादेवी बरामलाई व्यासस्थित जलदेवी माध्यमिक विद्यालय (ङ) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।  तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।RSS

पोखरा:  म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर घैयारामा बुलेट बाइकको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।  बागलुङदेखि बेनीतर्फ आउँदै गरेको बा २ प ४०७१ नम्बरको बुलेट बाइकले बेनी नगरपालिका १ घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए ।  ‘आज साँझ अन्दाजी ७ः१० बजेको समयमा बागलुङदेखि बेनी तर्फ आउँदै गरेको बुलेट बाइकसँग रत्नेचौरको घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा  बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको हो, ‘लामाले भने, बाइकको ठक्करबाट चितुवाको मृत्यु भएपनि बाइकमा सवार दुईजना सामान्य रहेका छन् ।’ बाइकको ठक्करबाट मृत्यु भएको चितुवालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय म्याग्दी लगिएको छ ।