पोखरा: सशस्त्र प्रहरी बलको गोताखोरले पोखराको सेती नदीमा विश्वबहादुर गुरुङको शव फेला पारेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थायी घर भई पोखरा लामाचौर बस्दै आएका ४४ वर्षीय गुरुङको शव गोताखोर सशस्त्र प्रहरीले सेती नदीमा ७३ दिनपछि फेला पारेको हो ।
काठमाडौं : प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका छन्। अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताएका छन् । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका हुन् । पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र पेश गरेका थिए । किराती राष्ट्रिय मुक्ति मोर्चा,नेपाल,लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ।
स्याङ्जा: समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ । ११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट अभियान अगाडि बढाएर कारबाही गरेको हो । विद्युत प्राधिकरण महसुल सङ्कलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको हो । विद्युत बालेर ६० दिन सम्म महसुल नबुझाउने ग्राहकको विना सूचना लाइन काट्न मिल्ने महसुल सङ्कलन विनियमावली भित्र रहेर लाइन कटान गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताउनुभयो । महसुल नबुझाउने धेरै साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटान पश्चात् ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपियाँ ९६ महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । लाइन कटान गरेका ४४ जनाले जडान नगरेका हुन् । प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपियाँ ५४ पैसा महसुल बक्यौता रहेको प्रमुख बरालले बताउनुभयो
धरान : सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले बताए।
काठमाडौं: बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो। उक्त दिन सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भयो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख ११ हजार रुपैयाँ पुग्यो। बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। याे मूल्य अघिल्लाे दिनकाे तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेकाे हाे। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने। सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।
काठमाडौं: बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।
पोखरा: बलियो नेपाल कप यू-१९ टि-२० क्रिकेटमा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालमा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३४ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पलसर सिइसीले १९.५ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि विराट भण्डारीले ५२ बलमा ५९, खेमराज खड्काले ४९ बलमा ४९ रन बनाउँदा मनिष थापाले ९ रन बनाएका थिए । यता पल्सर सिइसीका लागि २९ रन खर्चिएर ४ विकेट लिएका थिए । जवाफी व्याटिङमा पल्सर सिइसीका लागि सन्दिप विष्टले ३७, विपिन न्यौपानेले २० र १६ रन बनाए भने कर्णालीका लागि विराट भण्डारीले २, लक्की वमले र भरत क्षेत्रीले १ विकेट हात पारे । खेलमा विराट भण्डारी म्यान अफ दि म्याच घोषित भए । यता दोश्रो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडेमी विरुद्ध ६ विकेटले महत्वपूर्ण जित हात पारेको छ । पोखरा विरुद्ध व्याटिङको सुरुवात गरेको जनकपुरलाई २० ओभरमा १०१ रनमा खुम्चाएको पोखराका लागि प्रदिप अर्यालले महत्वपूर्ण ३ विकेट हात पारेका छन् । जनकपुरका लागि साजन कुमार अग्रवालले १२ र अखिल श्रवणले ८ रन बाहेक अन्यले खासै दोहोरो रन जोड्न सकेनन् । जनकपुरका विरुद्ध व्याटिङका उत्रिएको पोखराका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका सिव्रिन श्रेष्ठले २१ बलमा नट आउट रहँदै २७, सोहेल कुंवरले २७ बलमा २७ रन सफल श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । जनकपुरका लागि राजेश कुमार दाश र रोहन यादवले समान १–१ विकेट हात पार्दा अखिल श्रवणले २ विकेट झारे । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य खेल पर्यटन विकासका लागि यस्ता खेल कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ । २७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

