काठमाडौं : थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०७९ नमूना परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८१ र एन्टीजेनबाट ६९८ नूमना परीक्षण गर्दा पीसीआरबाट ४४ र एन्टिजेनबाट ९८ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेशमै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए। मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताए। अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ। उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए। पदवहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरे।
गलकोट: ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ । आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन थालेको छ । ऐतिहासिक महत्त्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा सो क्षेत्रमा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा संरक्षणको काम भएको हो । ओदान रहेको मन्दिर र सत्तल मात्रै रहेको स्थानमा अहिले पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरासहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ । बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । अहिले ओदानडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको स्थानीय रामचन्द्र गौतमले बताउनुभयो । “अहिले ओदान कस्तो रहेछ भनेर हेर्न आउनेको सङ्ख्या बाक्लो छ, यसलाई हिन्दू धर्मसँग जोडेरसमेत कतिले पूजाआजा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बिस्तारै ओदान हेर्नेका लागि चासो दिने बढेका छन् ।” परापूर्वकालदेखि नै ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा दुई वर्षअघिदेखि मात्रै ऐतिहासिकस्थल ओदानडाँडाको संरक्षण थालिएको थियो । “गुमनाम रहेको ओदानडाँडा संरक्षण र प्रचारप्रसारसँगै चर्चामा आउन थालेको छ, रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकको चाप बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक प्रमाणसहितको ओदानडाँडामा हालसम्म पूर्वाधार निर्माणमा झण्डै रु ४० लाख खर्च भइसकेको छ, चर्चित लोकभजन गायक रेशम सापकोटाद्वारा ओदानडाँडाको विषयमा रचना गरेको भजन र छायाङ्कन गरेको दृश्य अहिले तरेली सङ्गीतकुञ्जको युट्युब च्यानलमा ६१ हजारले हेरिसकेपछि ओदानडाँडा एकाएक चर्चामा आउन थालेको हो ।” चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । आदानडाँडाको गुरुयोजना बनाएर ओदानडाँडाको तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणपछि ओदानडाँडाको मुहारै फेरिएको छ ओदानडाँडा संरक्षण संस्थाका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा काठेखोला गाउँपालिकाको र वडा कार्यालयको रु चार लाख, चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको रु सात लाख र वडा कार्यालयको रु एक लाख ५० हजार तथा स्थानीयबाट सङ्कलित गरेको रु २५ लाखबाट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको ओदानडाँडामा पूर्वाधार निर्माण गरिएको हो । स्थानीय सहयोगदाताले एक हजारदेखि रु एक लाख ११ हजारसम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामग्री सहयोग गरेका थिए । सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्तिसहितको पानीको फोहोरा, पदमार्ग र मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, एक सय आठ शिवलिङ्ग, एक सय आठ केजीको तामाको ओदान, मन्दिर अगाडिको जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र तीन सय मिटर लामो पक्की पदमार्ग निर्माण गरिएको छ । “यो दुई वर्षमा धेरै मेहनत गरियो, स्थानीयको सहयोगमा प्राप्त रकमबाट पूर्वाधार निर्माणसँगै प्रचारप्रसारका लागि भजनसमेत छायाङ्कन गरियो, अहिले भजन हेरेकै आधारमा टाढाटाढाबाट धार्मिक पर्यटक ओदान हेर्न ओदानडाँडामा आउछन्”, संरक्षण संस्थाका अध्यक्ष गौतमले भन्नुभयो, “प्राकृतिक ओदानसँगै एक सय आठ केजीको तामाको ओदान राखेपछि पर्यटकलाई थप आकर्षण गर्नेछ, अझै मन्दिरमा सय मिटर जाली, ओदानडाँडादेखि खर्दाङ र खर्दाङदेखि धनीखोरिया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडादेखि दामगाडेसम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी रहेको छ ।” ओदानडाँडा पुर्खाको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रुपमा रहेकाले यसको संरक्षण, पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । पालिकाको गुरुयोजनामा समावेश गरेर ओदानडाँडाको विकास गरिएको लामिछानेको भनाइ छ । बाइसेचौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीय कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । रासस
भक्तपुर: आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिनुभएको हो । यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।
अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ। अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय भएको हो। 'नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो,' निर्माता रामबाबु गुरुङले भने। उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ। निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन्। अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए। ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ। पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म निर्माण भएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। यो फिल्म वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ।
काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो। चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन्। ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए। लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ।
पोखरा: ‘रोटरी क्लब अफ गण्डकी’ अन्तरराष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ । रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएको हो । सामाजिक काममा क्रिायशिल रोटरी इन्टरनेश्नलमा ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएसँगै सो क्लबको अध्यक्षको (चार्टर प्रेसिडेन्ट) जिम्मेवारी युवा व्यवसायी किसान सुनारले पाएका छन् । यस्तै प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसनको चेयरमा राजु कुमार पौडेल, मेम्बरसिपको चेयरमा किसान गिरी, पब्लिक रिलेसनको चेयरमा शान्ता बहादुर लामिछाने रहेका छन् । क्लबको सर्भिस प्रोजेक्टको चेयरमा ज्ञान बहादुर नेपाली, द रोटरी फाउण्डेशनको चेयरमा डा. दिनेश कुमार विक, सर्जेन्ट एटीआर्मसमा तारानाथ भण्डारी, इडिटरमा कमिल खान, न्यू जेनेरेसनमा गौतम सुनार र फण्ड राइजिङको चेयरको जिम्मेवारी पूर्ण बहादुर लामगादेले सम्हाल्ने छन् । उक्त क्लब नेतृत्वको जिम्मेवारी पाएसँगै स्वार्थ भन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर प्रसिडेन्ट किसान सुनारले बताए । ‘रोटरी क्लब अफ गण्डकी विधिवत रुपमा दर्ता भएका छौं, सुनारले भने, ‘आगामी दिनमा हाम्रो सिङ्गो टिम स्वार्थ भन्दामाथि उठेर सामाजिक काममा लागिरहने छौं ।’ शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशिल रोटरी क्लब नेपाल– भुटान डिस्ट्रिक्ट ३२९२ भित्र १ सय ६५ वटा क्लब छन् भने विश्वभर करिब ४६ हजार बढी क्लबहरु सक्रिय छन् ।
काठमाडौं : स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत भएको थिएन । डा.उप्रेती स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् । डा.उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।
काठमाडौं: खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो ।

