पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन ...

पाल्पा:   रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।       पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा नौ जनालाई ह्विलचियर वितरण गरिएको वडाअध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभयो ।       रु एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गीता लम्साल पौडेलले बताउनुभयो ।  उहाँका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित रु ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त रु ६१ हजार सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ । 

पर्वत:  खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।       जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन् ।      पौडेलद्वयले गत माघ २९ गते वनमा आगो लगाएका थिए । वनमा आगो लगाउँदा वनजङ्गल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिनुभयो ।       उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएकामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुनः प्रहरी हिरासतमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताउनुभयो ।       पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगालागी भएको थियो । यस वर्ष गत माघदेखि आगालागीका घटना बढ्न थालेका डिभिजन वन कार्यालयले जनाएको छ ।       हिउँद याममा हुने अधिकांश आगलागीमा मानवीय लापरबाहीका कारण हुने गरेको पाइएपछि यसपटक दोषीलाई खोजी गरेर कारबाही गर्न थालिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले बताउनुभयो । 

सिन्धुली:    सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।  घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । 

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’अभियान सफल बनाउन सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।  आज एक सन्देश जारी गर्दै उहाँले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गर्नुभएको छ । यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।  “हामीले हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौँ”, उहाँले भन्नुभएको छ, “साथसाथै निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।” अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्यका  स्क्रिनिङ गरिनेछ ।  मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।    तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि  भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभएको छ ।  सशस्त्र सङ्घर्षका कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गर्नुभएको छ ।   “हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौँ । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौँ । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो ।  यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौँ । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौँ । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौँ ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।       अध्यक्ष दाहालले सशस्त्र सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।  बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । 

काठमाडौं:  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै,  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:   आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ ।  सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।   लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो  ।  रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।  विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ । 

नवलपरासी:   नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।       रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उहाँ बेचैन हुनुहुन्छ ।       श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै ।   लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहनुभएको छ ।  शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात प¥यो”, उहाँले भन्नुभयो, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”      तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताउनुभयो ।  “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”      सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताउनुभयो ।  “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।       वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो ।  “शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उहाँले भन्नुभयो, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”      सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।