काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विधान महाधिवेशनको तयारीका काम गर्न पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ । बैठकले विधान महाधिवेशनको तयारी गर्नका लागि आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पार्टीको पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरी छलफलका लागि तल्लो तहको कमिटीमा पठाउने निर्णय भएको छ । यस्तै बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो । सरकारको एक वर्ष सफल र प्रभावकारी एमाले सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको बैठकको निष्कर्ष छ । बैठकले सुशासन र सेवा प्रभावमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबीचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । आज सम्पन्न सचिवालय बैठकले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्न थालेको निष्कर्ष निकालेकोे उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपरेकाले अपेक्षा गरेजस्तो परिमाण आउन सक्दैनथ्यो भन्ने लागे पनि अनेकौँ बेथितिलाई सल्टाउँदै मुलुकलाई सही दिशातर्फ अघि बढाउन एमाले नेतृत्वको सरकार सफल भएको बताउनुभयो । आमजनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताका कारण प्रतिगामी प्रयास निस्तेज भएको बैठकले निष्कर्ष निकालेको छ । यसैगरी, बैठकले पार्टीमा अझ बढी भावनात्मक एकता सुदृढ गर्दै जाने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बैठकद्वारा विभिन्न पाँच प्रस्ताव पारित बैठकले वर्तमान सन्दर्भमा विभिन्न पाँच महत्त्वपूर्ण प्रस्ताव पारित गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बैठकले इरान र इजरायलबिच जारी दुई साता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको भन्दै युद्धमा संलग्न दुवै पक्षलाई युद्धविरामको इमानदारीपूर्वक पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, स्थायी रूपमा युद्ध अन्त्य गर्न सम्बद्ध पक्षहरूको ध्यानाकषर्ण गरिएको उहाँले बताउनुभयो । द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न बैठकले शक्ति राष्ट्रहरूको ध्यानाकर्षण गरेको छ । यसैगरी, भिजिट भिसा’को दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसदभित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानबिन गर्न उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति’ बनाउनु सकारात्मक कदम भएको निष्कर्ष निकाल्दै बैठकले यसमा संलग्न सबैलाई धन्यवाद दिएको छ । यसैगरी, दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको भन्ने प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह र आशाको सञ्चार उत्पन्न गराएको बैठकले ठहर गरेको छ । पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यले देशलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । यसैगरी, बैठकले पारित गरेको प्रस्तावमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमानसमेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीका अनुसार सिङ्गो पार्टीपङ्क्तिलाई विपद् व्यवस्थापनका काममा तयारी अवस्थामा रहन र विपद्को बेलामा आ–आफ्नो ठाउँबाट परिचालित हुन सचिवालय बैठकले आह्वान गरेको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो । गाउँपालिकाले गत मंगलबारमात्र आगामी आर्थिक वर्षका लागि ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपैयाँको बजेट ल्याएको थियो।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा आफूहरुको घर बसोबास अधिग्रहण भएकामा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका छन् । सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागुुन ६ गते रकम चेम्जोङ नेतृत्वको गठन भएको कोशीटप्पुु वन्यवजन्तुु आरक्षका विस्थापितहरुको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुझाव दिएको थियो । सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने प्रतिनिधिमण्डलमा सहभागी उच्चस्तरीय आयोगका तत्कालीन सदस्य मनोहरनारायण श्रेष्ठले बताउनुभयो । सो समस्याका विषयमा सर्वोच्च अदालतको २०४६ वैशाख ५ गतेको फैसलामा पनि सट्टा जग्गा दिनु भन्ने आदेश भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । ज्ञापनपत्र बुुझेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई उक्त समस्याबारे अध्ययन गरी १५ दिनभित्र विस्थापित परिवारलाई उचित जवाफ दिन निर्देशन दिनुभयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्ततु गरेको छ । माछापुच्छ्रे गाउँपालिाकाकी उपाध्यक्ष सीता अधिकारीले आगामि आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्तुत गरेकी हुन् । जस अन्तर्गत संघीय सरकार वित्तिय समानिकरण अनुदान ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान २७ कोरोड ९४ लाख, संघ समपुरक अनुदान तर्फ ८१ लाख, संघीय सरकार राजश्व वाँडफाँट १२ करोड १९ लाख, संघ रोयल्टी बाँटफाँट बाट ४३ लाख रुपैया मात्र अनुमान गरिएको छ । प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु १ करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार शशर्त अनुदान २ लाख, प्रदेश राजश्व वाडँफाँड तर्फ १ करोड १२ लाख ४४ हजार प्राप्त हुने अनुमान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु २ करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात ५ करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ । यता विषयगत क्षेत्रगतको पुर्वधार विकास तर्फ रु ११ करोड ५० लाख ५० हजार, सामाजिक विकास तर्फ ४ करोड ९४ लाख ३३ हजार, आर्थिक विकास तर्फ २ करोड ४४ लाख ८ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचाल तथा व्यवस्थापनमा १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकमहरु २ करोड ३५ लाख र वडागत बजेट तर्फ ५ करोड ४० लाख र शशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार छुट्टाइएको छ । ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मुल नारालाई साकार पार्ने योजनाका साथ आगामि आर्थिक वर्षको वजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् । यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १७ औं गाउँसभाले अवको आर्थिका बर्ष देखि लागूहुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । गाउँसभाको सहजिकरण पालिकाका प्रमुख प्रशाशकीय अधिकृत केशव सुवेदीले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर आधारभुत तहदेखि माध्यामिक तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र कक्षा ८ की प्रिष्टिना रसाइली द्वितीय भए । यस्तै छात्रतर्फ कक्षा ७ का आदित्य लम्साल प्रथम र कक्षा ९ का दिवस घिमिरे द्वितीय भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
काठमाडौं: पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बयानकालागि विशेष अदालत पुग्नुभएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उहाँ आजअदालतमा आफैँ हाजिर हुनुभएको हो । नेपालले बुधवार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उहाँको बयान सुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उहाँको बयान सुरु भएको हो । विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ । गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उहाँको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी भएको छ । विशेष अदालतले उहाँको बयान लिएपछि थुनछेक बहससमेत आजै तोकेको छ ।
चितवन: चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका– ४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देशव्यापी सार्वजनिक यातायात बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीसँग सहमति गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेपछि प्रदेश सरकारले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गत जेठ २० गते गरेको थियो । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।
पोखरा: होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी होटलकर्मी र उनीहरुका कर्मचारीले सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे । उनले होटल क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् महशुलमा उद्योग सरहको मान्यता दिएकोमा अर्थमन्त्रालय र सरकारलाई धन्यवाद दिए । बैंकको ब्याजदर विगतमा दुई अंकमा भए पनि अहिले एकल अंकमा झर्नु सकारात्मक भएको भनाई उनले राखे । होटल संघ नेपालले गत वर्ष चीन र बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरेको स्मरण गराउँदै सल्लाहकार परिषद्का संयोजक पराजुलीले प्रवद्र्धनबाट मात्र पर्यटन अगाडि बढ्न सक्ने भनाई राखे । अभिमुखिकरणमा थप बोल्दै आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाउँ है पोखरा र चलिए पोखरा जस्ता अभियान संचालन गर्दै आएको स्मरण गराए । पोखराका होटलमा रहेको पाँच खर्बको लगानी जोगाउनका लागि पनि संघ सचेत भएर अगाडि बढेको भन्दै उनले आफ्ना सदस्यको हितका लागि संघ सँधै लड्दै आएको भनाई राखे । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रोमिङ गर्ने अवसर भएको भनाई राखे । कार्यक्रमका श्रोत व्यक्ति सन्तोष वरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएर भन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाई राखे । बरालले कार्यक्रममा अनलाईन ट्राभल एजेन्सी (ओटीए), अगोडा, बुकिङ डटकम लगायत होटल बुक गर्ने प्लाटर्फको अकाउण्ट संचालन र एआईको प्रयोगबारे जानकारी गराएका थिए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

