पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै मुखिया बारबरले उपाधि जितेको हो । उपाधिसँगै मुखिया बारबरले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको वेलननले नगद रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा संगम गुरुङ, उदीयमान खेलाडीका रुपमा समिर किसान र उत्कृष्ट गोलरक्षकका रुपमा सुशान्त गुरुङ पुरस्कृत भए । उनीहरुलाई विधागत पुरस्कारसँगै स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सुदिप सुनारले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा (कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरु) ४३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी विजया गुरुङ, तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितालाई सम्पन्न गर्न न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले सहयोग गरेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् । प्रहरीले उनीहरुको साथबाट हिजो (शुक्रबार) सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७ ग्राम पथ्थर बरामद गरेको छ । अवैध रुपमा ल्याइएको सुन पोखरामा विक्री नभएपछि बुटवल लैजादा गर्दा उनीहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सुनसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरीले जनाएको छ । बरामद सामानहरुको विवरण सुनको ढिक्का सानो ठुलो – २ तोला २३ लाल सिक्री– २९ थान (तौल १० तोला ३१ लाल) दानावाला माला - १ थान ( तौल २ तोला ९४ लाल) पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल) कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल) मंगलसुत्र – १७ थान ( तौल गर्दा ५ तोला) लकेट- ९९ थान (तौल गर्दा १३ तोला १२ लाल) कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल) झुम्का स-साना टुक्राहरु - १ तोला ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका( ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ साल माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साल साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’ ३१ वर्षीय शिवनारायण थारु काठमाडौंबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए । उनले बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाएका थिए । ‘त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,’ शिवनारायणले भने । सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् । यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका– १ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रबार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रबार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिइन् । प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए । २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ । सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ ।
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताउनुभयो । उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।”सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताउनुभयो । उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो ।
सिन्धुली: काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो । उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ । ‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने । उनले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए। यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको उनले बताए । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।
पोखरा: पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । शुक्रबार सम्पन्न भएको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए । यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए । च्याम्पियन भए संगै स्याङजाले नगद रु १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यहि जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे । उनले ट्रफी संगै नगद रु ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे ।
डोटी: डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए । घटना स्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली खटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

