वालिङ : गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिनुभयो । गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिनुभयो । “सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्यौ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।” खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।
काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो । कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।
काठमाडौं : नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लगिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
कास्की । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कास्कीमा सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । कास्की क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले मनोनयन दर्ता गराए । यसैगरि नेकपा एमालेबाट कास्की अध्यक्ष मन बहादुर गुरुङले मनोनयन दर्ता गरे । कास्की क्षेत्र नम्बर २ मा एमालेबाट विद्या भट्टराईले नाम दर्ता गराइन् भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयत दर्ता गरे । कास्की क्षेत्र नम्बर ३ का लागि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महादेव गुरुङले र नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले मनोनयन दर्ता गराए । प्रदेशसभा तर्फ भने केही उम्मेददवार दोहोरिने दाउमा छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ बाट गठबन्धनको तर्फबाट नेकपा माओवादीका दीपक कोइराला (रुपक) ले उम्मेदवारी दर्ता गरेका छन् । भने नेकपा एमालेबाट ‘क’ मापूर्व गृहमन्त्रीसमेत रहेका खगराज अधिकारीले मनोनयन दर्ता गरे । कास्की क्षेत्र नम्बर १ ‘ख ’ मा नेपाली कांग्रेसका दीपक गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट ‘ख ’ मा बेद बहादुर गुरुङ श्यामले मनोनय दर्ता गराए । यसैगरि कास्की क्षेत्र नम्बर २ ‘ख ’ मा एमालेबाट भीम कार्की र ‘ख’ मा मीना गुरुङले मनोनयद दर्ता गराइन् भने गठबन्धनको तर्फबाट २ ‘ख ’ मा माओवादीका विश्व प्रकाश लामिछाने र ‘ख’ मा कांग्रेसका विन्दु कुमार थापा र उम्मेदवार बनेका छन् । यस्तै कास्की क्षेत्र नम्बर ३ ‘क’ मा माओवादीका दुर्गा दत्त भण्डारी र ‘ख’ मा कांग्रेसका प्रकाश बरालले मनोनयन दर्ता गराए भने एमालेको तर्फबाट ‘क’ मा गणेशमान गुरुङ र ‘ख’ मा राजीव पहारीले उम्मेदवारी दिएका छन् । त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि शिरिष गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सोही क्षेत्रबाट राप्रपाबाट माधव प्रसाद कंडेलले नेपाल मजदुर किसान पार्टीको तर्फबाट पशुपति प्रजापति,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बाल कुमार राईले मनोनयन दर्ता गराएका छन् ।
पोखराः हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छे, मूल्यमान्यता र परम्परा अनुसार मनाउने गर्दछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो । मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।
नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ । भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो । भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन् । राप्ती र नारायणी दुवै नदिको तटीय क्षेत्र भरतपुर २७ र २८ नं वडामा बढी जोखिम छ । वडा नं १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा जोखिम रहेको छ । यस्तै वडा नं २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरु पनि जोखिममा छन् ।
महेन्द्रनगर (धनुषा) : खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो । त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताउनुभयो । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।
मनाङ : मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो । थोराङ्ला पास ९५,४१६ मिटर तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल ९४,९१९ मि.तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन् । “हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो । नार्पाभूमि गाउँपालिकाको मेता ९३,५६० मि. देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे ९३,३०० मि. देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ । अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पु¥याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ ।

