कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्रप्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब पनि करातेमाा बलिया देखिएका छन् । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एफिएफ क्लब दुई स्वर्ण र तीन कास्यका साथ दोस्रो स्थानमा रहेको छ । योबाहेक सात प्रदेशको प्रदर्शन भने फितलो रहेको छ । प्रदेश नं १ ले दुई रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, गण्डकीले एक रजत र एक कास्य, लुम्बिनीले तीन कास्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशले एक एक कास्य पदक प्राप्त गरेका छन् । महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण जितिन् । सो स्पर्धामा प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका छन् । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिस क्लबकै गङ्गाराम कुशवारले स्वर्ण हात पारे । गण्डकी प्रदेशका प्रतिक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे । यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिस क्लबकी अनु अधिकारीले स्वर्ण जितिन् । सो स्पर्धामा पुलिसकै अर्मिला डिसीले रजत प्राप्त गरिन् भने एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिस क्लबकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कस्यमा चित्त बुझाए । यस्तै पुरुष टिम कातातर्फको स्वर्ण पदक विभागीय टोली एपिएफ क्लबले जित्यो । सो स्पर्धामा पुलिस क्लब दोस्रो तथा प्रदेश १ र बागमतीले कास्य पदक प्राप्त गरे । यसअघि पुलिस क्लबले महिला व्यक्तिगत कातातर्फ स्वर्ण जितेको थियो । पुलिसकी चञ्चला दनुवार पहिलो भइन् । सो स्पर्धामा आर्मीकी सङ्गीता मगरले रजत तथा कर्णालीकी एलिसा रस्कोटी र सुदूरपश्चिमकी वर्षा साउदले कास्य पदक प्राप्त गरिन् । यसैगरी महिला टिम कातातर्फ आर्मीका सुनिता मगर, रिना श्रेष्ठ र निशा घर्तीले स्वर्ण जिते । प्रदेश नं १ का रोश्मा राई, समिता राई र विद्याकला राईले रजत जिते । बागमतीका सञ्जु देशार, नानु शाक्य र सिर्जना महतरा तथा पुलिस क्लबकी चञ्चला दनुवार, सरु कार्की र तप्पी थापाले कास्य पदक प्राप्त गरे । पुरुष व्यक्तिगत कातातर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण, बागमतीका रेहान जावेदले रजत तथा प्रदेश १ का आशिष मगर र पुलिस क्लबका महसुस तामाङले कास्य जिते । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार केहीबेरमा करातेका थप खेल सुरु हुँदैछन् । आज पुरुष ६० किलो, महिला ६८ किलो माथि, पुरुष ६७ किलो, महिला ६८ किलोमुनि र पुरुष ८४ किलोमुनि तौल समुहको फाइनल खेल हुँदैछन् ।
दाङ: हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ । शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा(माओवादी केन्द्र) का विनय थापा, नेकपा ९एकीकृत समाजवादी० का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका दुर्गा गुरुङ र सदस्यसचिवमा नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहेका सरोज केसी छन् । समितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रचारप्रसारदेखि घरदैलो लगायतलाई तीव्र पार्ने कांग्रेसका क्षेत्रीय सचिव केसीले जानकारी दिए । बैठकले आगामी कात्तिक १ गते पोखरा २६, संगमनगर कालिकाचोकमा सम्पर्क कार्यालय उद्घाटन, उम्मेदवार परिचय लगायत विभिन्न उपसमिति गठन गर्ने निणर्यसमेत गरेको छ । यस्तै, कात्तिक २ गते क्षेत्र नम्बर १ का गठबन्धनका ३० वटै वडा कार्यालयमा वडा निर्वाचन सम्पर्क कार्यालय गठन गर्ने छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कास्की १ मा किशोरदत्त बराल, कास्की १ (१) मा माओवादी केन्द्रबाट दीपक कोइराला र कास्की १(२) मा कांग्रेसबाट दीपक गुरुङ उम्मेदवार छन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो । चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ । आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशिलमान व्यञ्जनकारले जानकारी दिए । आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो । त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले फराकिलो अंकसहित सिंगल जित दर्ज ग¥यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो । लुम्बिनी प्रदेशकी खेलाडी घाइते खेलका क्रममा लुम्बिनी प्रदेशकी एक खेलाडी घाइते भएकी छन् । कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए । ‘विकको लडेर हातमा चोट लागेको छ । गम्भीर चोट लागेको आशंकाले प्राथमिक उपचारपछि एक्सरेका लागि अस्पताल पठाएका छौैं,’ व्यञ्जनकारले भने, ‘अरु जानकारी आउन बाँकी छ ।’
पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् । एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् । पहिलो दिन पुरुष ५५, महिला ४९ र पुरुष ६१ केजी तौल समूहका खेल हुने जनाइएको छ । त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एशियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए । कार्यक्रममा स्वागत नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र संचालन सुशन श्रेष्ठले गरेका थिए । शनिबार नै सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको हो ।
पोखरा । टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो । महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भने सशस्त्रले कास्य पदक पायो । महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको पहिलो चरणको प्रतिस्पिर्धा आइतबार सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेश र कर्णाली प्रदेश पहिलो चरणको खेलबाट बाहिरिएका छन् । वेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । आइतबार शसस्त्र प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेका थिए । शसस्त्रले सेनालाई ३–१ र बागमतीले मधेशलाई सोझो तीन सेटले पराजित गरेको हो । खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए । विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् । ललिता महतको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेश प्रदेशको टोलीलाई २५–६, २५–८ र २५–७ को फराकिलो अन्तरमा पराजित गरेको छ । एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा वि।क।लाई आइतबारको खेलमा वमेन अफ द म्याच घोषणा गरिएको छ । चार वटा समुहबाट आठ टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । तीन÷तीन टिम रहेको समूह (ए)बाट शसस्त्र र त्रिभुवन आर्मी तथा (वि)बाट बागमती र लुम्वीनी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए । उनका अनुसार दुई÷दुई टिम रहेको समुह (सि)बाट नेपाल पुलिस क्लव र (डि)बाट गण्डकी प्रदेश क्वाटर फाइनल प्रवेश गरेको ले जानकारी दिए । सोमबारदेखि शुरु हुने क्वाटर फाइनलको पहिलो खेल समूह (ए)को बिजेता शसस्त्र र समुह (सि)को उपविजेता लुम्वीनी प्रदेश बीच हुने प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले बताए । समुह (बि)को बिजेता बागमती र समुह (डि)को उपबिजेता सुदुरपश्चिम तथा समुह (सि)को विजेता नेपाल पुलिस क्लव र समूह (ए) को उपविजेता सेनाको प्रतिस्पर्धा हुने उनले जानकारी दिए । सोमबारनै क्वाटर फाइनलको अन्तिम खेल समुह डिको बिजेता गण्डकी र समुह (बि)को उपबिजेताबीच हुने भएको छ । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समुहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए । त्यसपछि भएको ६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । आईतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समुहको प्रि–जज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाईनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् । उनका अनुसार प्रदेश १, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पोखराः मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । असोज २३ गते मनोनयन दर्ता भएपनि २६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए भने केहीले विज्ञप्तीमार्फत उम्मेदवारी फिर्ता लिइरहेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने समावेशी समूहको अन्तिम सुची निर्वाचन आयोगले प्रकाशित गरेको छ । निर्वाचन आयोगका अनुसार कूल उम्मेदवार २ हजार ४१२ मध्ये १ हजार १७ उम्मेदवारसँगै क्षेत्री-ब्राम्हण (खस आर्य) समुदायका उम्मेदवार पहिलो नम्बरमा परेका छन् । यसैगरी, दोस्रो नम्बरमा ६ सय ४१ जना आदिवासी जनजाति समुदायका उम्मेदवार रहेका छन् । यस्तै आयोगका अनुसार ५ सय ६ जना उम्मेदवारसँगै मधेसी समुदायका उम्मेदवार तेस्रो नम्बर रहेका छन् । ९७ जना उम्मेदवारसँगै दलित समुदायका उम्मेदवार चौथो नम्बरमा रहेका छन् । ८२ उम्मेदवारसँगै मुस्लिम समुदायका उम्मेदवार पाँचौ नम्बरमा रहेका छन् भने ६९ जना उम्मेदवारसँगै थारु समुदायका उम्मेदवार छैठौ नम्बरमा रहेको निर्वाचन आयोग नेपाले जनाएको छ ।

