लेखनाथ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो । महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुर पश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन । बिजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् । रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काश्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् । कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् । कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् । स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए । स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सिमित् भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् । कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।
पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत दिनुपर्नेमा जोड दिए । यस्तै कास्की क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका एमाले उम्मेदवार खगराज अधिकारीले सुकुम्वासीको समस्या समाधानमा एमाले पाटी कटिवद्ध भएर लाग्ने बताए । उनले अहिले सरकार छ कि छैन जस्तो भान भएको भन्दै अब एमालेको एकल बहुमत आए विकासको लर्काे लाग्ने बताउँदै एमाले उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको बताइएकाे छ ।
पोखरा । सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा चुनाव वहिष्कार गर्ने बताएका छन् । पोखरामा आज (बुधबार) र्यालीसहित आमसभाको आयोजना गर्दै ४ पार्टीले सँयुक्त रुपमा प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्ने बताएको हो । र्यालीपछि आम सभालाई सम्बोधन गर्दै माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गरेको स्पष्ट पारे । यसअघि ४ दलीय समुहले मानवअधिकार चोकदेखि र्याली सुरु गरि न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा आएर आमसभा गरेको थियो । र्यालीको क्रममा उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गरौं लगायतका नाराबाजी गरेका थिए । ४ कम्युनिष्ट पार्टीद्वारा चुनाव वहिष्कार किन?
पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । कार्यालयको नयाँबजारमा उम्मेदवारसहित गठबन्धन दलका गण्डकी प्रदेशका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र संबृद्धिका लागि गठबन्धन निर्माण भएको बताए । कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू दृढसंकल्पित भएर काम गर्ने उनले प्रतिपद्धता जनाएका छन् । आफूले कास्कीका जनताको भावना जनतासंग सुखदुखमा संगै रहेर गहिरोगरी बुझेको भन्दै उनले कास्कीका जनताको केन्द्रीय प्रतिनिधि भएर निरन्तर काम गर्ने धारणा राखे । ‘यहाँका हरेक नागरिकको साथमा रहेर यहाँहरुका दुखसुखमासंगै काम गरेको छु । कास्कीका जनताको भावना बुझेको छु । त्यो भावना अनुरुप केन्द्रमा सशक्त आवाज उठाउने कुरा, जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा मेरो सधैं ध्यान केन्द्रित हुनेछ । यहीढंगले म यहाँको प्रतिनिधि भएर संसदमा भूमिका खेल्नेछु’ उनले भने । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेण्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनु पर्ने बताए । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले आवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकार समेत दिने धारणा राखे । उनले जनताले लडेर ल्याएको व्यवस्था नै असुरक्षित हुने अवस्था आएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, कांग्रेस नेता देवराज चालिसे, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फ बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठ फाइनल प्रवेश गरेकी छिन् । आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा बागमतीकी भावना सुनुवारलाई ११–८, ११– ४ र ११–५ सहित ३–० को सोझो सेटमा पराजित गर्दै विपना फाइनलमा प्रवेश गरेकी हुन् । यसैगरि अर्काे सेमिफाइनल खेलमा गण्डकीकी कृष्णा थापामगरलाई बागमतीकी स्वस्थानी श्रेष्ठले १३–११, ११–७, ६–११ र ११–७ सहित ३–१ को सेटमा हराइन् । अब स्वस्थानीले स्वर्ण पदकका लागि बिहिबार बागमतीकी विपना ब्लोनसँग प्रतिस्पर्ध गर्नेछिन् । भने आठौ संस्करणको राष्ट्रिय खेकुदको स्क्वास च्याम्पियनसमेत रहेकी गण्डकीकी कृष्णा थापामगर र बागमतीकी भावना सुनुवार तेस्रो स्थान हाँसिल गरिन् । स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार पुरुषतर्फको टिम इभेन्टमा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश गर्याे । भने सशत्र प्रहरी बलको टोलीलाई पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो । टिम इभेन्ट तर्फ लुम्बिनी प्रदेश र सशत्र प्रहरी बलको टोलीले तेस्रो स्थान हाँसिल गरेको भण्डारीले बताए । भण्डारीका अनुसार गण्डकीका अृमत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
पोखरा: नवौं राष्ट्रिय खेलुकद अन्तर्गत नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो । त्यस्तै बागमती प्रदेशले १ रजत र २ काँस्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १ ले २ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् । बुधबार आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् । प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन् । बिजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् भने एलिनाले रजत पदक जितिन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य पदक पाउन सफल भइन् । यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भए भने रुविनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले काँस्य पदक हात पारे । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।

