पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

काठमाडौं : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ ।    मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले  पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो ।     प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवसथापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएकाकारण खेलाडीले अनुमान गरेभन्दा  राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य पदक जितेको हो ।     सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त ग¥यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कास्य पदक हात पारेको थियो ।   बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीकाकारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आँकलन गरेका केही पदक भने गुमाउन परेको थियो ।    तथापी सेनाले सबै  टिमलाई पछि पार्दै आफनो पुरानो च्याम्पियनको छवि र वर्चश्व कायम राख्न  सफल भएको छ । महासेनानी बस्नेत भन्नुहुन्छ, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।”   सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो ।    मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी सावित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हँुदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।   प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवलटेनिस, कबडडी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्डबल र स्क्वासमा प्रतिस्पर्धा ग¥यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।   यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ ।   त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफनो पोल्टामा राख्न सफल भएका हुन् ।

  पोखरा । तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ । महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।  च्याम्पियन पृथ्वीचोकले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हेम्जाले २० हजार रुपैयाँको साथमा शिल्डक मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै तेस्रो भएको भीमसेनटोलले १० हजार रुपैयाँ प्राप्त गर्यो।  नेवार समुदायका युवाहरुबीच आपसी भाइचारको सम्बन्ध विकसित गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पृथ्वीचोकका विजय श्रेष्ठ घोषित भए । यस्तै पृथ्वीचोककै अजय श्रेष्ठ उत्कृष्ट एला, कृष्णराज भण्डारी उत्कृष्ट फिक्सो घोषित भए । हेम्जाका चार्लित श्रेष्ठ उत्कृष्ट गोलरक्षक र अंकित श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताको अनुशाशीत टिम मोहोरिया ल्यह्मा पुचः घोषित भयो ।   ल्याम्ह पुच: नेवार समुदायका युवाहरु बिच भाइचारा सम्बन्ध राख्न आयोजना गरिएको प्रतियोगिता शुक्रबारदेखी सुरु भएको थियो । शुक्रबार र शनिबार लिगचरणका खेलहरु भएका थिए । आइतबार सेमिफाइनल तथा फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक रोविन मानन्धरले जानकारी दिए । कोरोना महामाररीका कारण ३ वर्ष प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । २०७४ सालदेखी रनिङशिल्ड सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा कुल १५ टिमको सहभागिता रहेको थियो ।  

  पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ ।  सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् । सोमवार पोखरा १२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए । साथै, एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ । वडा नम्वर १२ का स्थानियले दीपावलीको खुसीयाली जस्तै एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे  ।

  पोखरा । नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१)  का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन् ।    भरतपोखरीका जनताले महानगरबासी भएको  अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजना अनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको र वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिए पनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग भेटघाट गर्दै ती योजनासँगै सो वडाका आधा दर्जन बढि बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए । सो वडाका महत्वपुर्ण स्थानमा सेति नदि माथि थप  मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको  दुरि छोट्याउने काम गर्ने  र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुङ्गा सावित हुने उनको भनाई छ । उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनताले  स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए ।

ढोरपाटन : सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यो थिएन । यस भीडमा पोखरा महानगरपालिका–२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेको थियो । बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरुले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए ।   पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचारप्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरुले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरु पनि दर्शकहरुलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक सुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरुको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो ।   मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताउनुभयो । उहाँले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरु सङ्गठित भएर यसको संरक्षणमा लागेको बताउनुभयो । पुनले पहिले–पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताउनुहुन्छ । “बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरुले बजाउनु हुन्थ्यो, पछि गएर हामी मगरहरुले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरुले मात्रै बजाउनुहुन्थ्यो भने अहिले महिलाहरुले पनि बजाउँछौँ”, पुनले भन्नुभयो, “हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।”   उहाँले पहिले–पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताउनुभयो । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरुले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उहाँले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरु यसको संरक्षणमा जुटेको बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ, “हामीहरुले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोच्नु भयो तर अहिले राम्रो मान्नुहुन्छ, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउनुहुन्थ्यो, अहिले उहाँहरुले बजाउन छोड्दै जानुभयो, हामीहरुले चासो दियौँ बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।”   उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गर्नुभयो । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरु लागिरहेको उहाँको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताउनुहुन्छ ।   “मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरुले निकै चासो दिए, यिनीहरुसँगै साना केटाकेटीहरुलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।”   पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरुलाई आफूले नै सक्रिय बनाएको पुन बताउनुहुन्छ । पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरुले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । “अहिले नयाँ युवा केटाहरुले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरुले पनि बजाउन सिके, अब यिनीहरुले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ”, पुनले भन्नुभयो । नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताउनुभयो । बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उहाँको भनाइ छ । पुन मगर भन्नुहुन्छ, “बागलुङमा दलित समुदायका दाइभाइहरुले अहिले पनि बाजा बजाउँदै आउनुभएको छ, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरु अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।”   उहाँले आफूहरुले अग्रजबाट सीप सिकेको भन्दै अनुजलाई पनि सिकाइरहेको बताउनुभयो । पुनले बाजा बजाउने प्रचलन दिनप्रति दिन घट्दै जान थालेपछि आफूहरुले गाउँमा सङ्गठन बनाएरै संरक्षणमा जुटेको बताउनुहुन्छ । अहिले पुनः बाजा बजाउने प्रचलन बढ्न थालेको उहाँको भनाइ छ । “करिब पाँच वर्ष जति त बाजा बजाउने प्रचलन निकै कम भएको थियो, हामी युवाहरु एक पटक गज्जबले कस्सियौँ, त्यसपछि बाजा बजाउन सिक्यौँ, बाजाहरु किन्यौँ, बजाउन थाल्यौँ, अहिले फेरि लयमा फर्किन थालेको छ”, उहाँभन्नुहन्छ, “अहिले बाजा बजाउनका लागि धेरै ठाउँबाट माग आउँछ, हामीहरु सक्ने जति ठाउँ पुग्ने गरेका छौँ, यसले हामीलाई स्वरोजगरा पनि बनाएको छ ।”

दाङ : घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर  र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।       लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ ।    घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको  दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिनुभयो ।    महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो ।  घटना विवरणसहित  क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उहाँले बताउनुभयो । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ ।   लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताउनुभयो ।

काठमाडौं  :  नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना ९नयाँ वर्षको शुभकामना० जनाउँदै  बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।    भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताउनुभयो ।   म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ ।   म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् । म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य ९धानको बोक्रा निकालेर तयार गरेको कालो चामल० राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ ।    घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवान्को मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ ।     म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं ९मूली महिला०ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ ।  म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।    पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, पूmलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ ।   म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिन्छ ।  खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ ।   म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।    इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् आँैसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।”   प्राडा श्रेष्ठले भन्नुभयो, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”    यसै दिन पारेर नेवारले नयाँ संवत्समेत मनाउँछन् ।  म्हपूजाको दिन नेपाल संवत् सुरु हुन्छ । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधले नसताओस् र शरीर सधैँ तन्दुरुष्ट होस् भन्ने कामनाले पनि म्हपूजा गर्ने प्रचलन सुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।    म्हपूजा कहिलेदेखि सुरु भएको, कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन् ।    म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ ।   कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीका बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोही अनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चखुंतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनाका कारण खोज्न थाले । उहाँले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाएँ । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ ।

  पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२/६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए । सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र राष्ट्रियता बचाउन  तथा समग्र देशको विकासका लागि यो पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्न स्थानियलाई जागरुक बनाउनका लागि एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।  उनले गणतन्त्र आएपछि काठमाण्डौं केन्द्रित सिंहदरवार गाउँ आएपनि जनताले त्यो सुविधा र सहजता आभाष गर्न नपाएको भन्दै स्थानिय स्तरमा सिंहदरवार आएको महसुस गराउनका लागि प्रदेश सरकारले पाउनुपर्नै अधिकारका लागि आफु र आफ्नो पाटी लागिपर्ने बताए । वडाका विस्तारित वैठकमा कास्की क्षेत्र नम्वर ३ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङ, पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो । वडाका विस्तारित वैठकमा प्रत्येक वडामा एमाले वडा कमिटिका वडा अध्यक्षको संयोजकत्वमा  युवा परिचालन, महिला परिचालन, आर्थिक सङकलन, वृद्धवृद्धा परिचालन, अनुगमन लगायतका उपसमितिहरू गठन गरिएका छन् ।  यसैविच एमालेको चुनाव प्रचार कार्यक्रम अन्तर्गत दलित मुक्ति मोर्चाको क्षेत्रिय स्तरको भेला पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।  

पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।    साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।    २०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए ।   पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित   पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् ।    ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।    आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।