पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

बझाङ : बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।   उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ ।    ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको  ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ  ।   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् ।   त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का  अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।   त्यसैगरी स्याङजा  बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ ।   घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

बागलुङ : फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले  बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।   पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।    धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताउनुभयो । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उहाँको भनाइ छ ।   पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे ।    तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो ।    “कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”   छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उहाँको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताउनुभयो ।   “लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।”    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राख्नुभयो ।   “बागलुङ पनि एउटा पर्यटकीय गन्तव्य हो भन्ने विस्तारै स्थापित त हुँदैछ तर पर्यटकलाई एक–दुई रात बास बसाउने गरी घुमघामको प्याकेज दिन आवश्यक छ”, अध्यक्ष चोखालले भन्नुभयो, “पर्यटन व्यवसायीलगायत सरोकारवाला बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्छ, पर्यटनमा हाम्रो भविष्य छ ।”   उहाँले पर्यटक भित्र्याउन सजिलो नभएको भन्दै पूर्वाधार र प्रवद्र्धनको कमी रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । छोटो समय लिएर बागलुङ आउने पर्यटकले कालिका भगवती मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय आदि घुमेर यात्रालाई बिट मार्छन् । 

नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा  दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।    इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।  सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।  दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।   शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गर्नुभएको छ । छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिई सम्पन्न गरिन्छ ।   प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गर्नुभयो  । विगतमा विशेषगरी तराई/मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उहाँले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गर्नुभएको छ ।   प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएका बताउनुभएको छ । कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।   प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।   राष्टपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”   राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।   खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ ।   छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । बिनाभेदभाव सम्पूर्ण प्रणालीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अध्र्य दिएर छठपर्व मनाइन्छ ।

काठमाडौं : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।   कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।   सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।   संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।   साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।   यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व  मनाउने गर्छन् ।     व्रतविधि ​ कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।   यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो ।   “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो ।   कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।   छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज  बर्तालु निराहार व्रत गरिरहेका छन् ।  साँझ नै बर्तालुले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।   यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि  छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।   यसअघि गत शुक्रबार पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबाअर्बाइन’ र ‘नहाय–खाय’ एवं हिजो शनिबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो ९सख्खरमा पकाइएको खीरमात्र खाएर० ‘खरना’ विधि सम्पन्न गरेका थिए ।   केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ । अब मुलुकको राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख ९राष्ट्रपति० नै राजधानीको रानीपोखरीसहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पाहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् ।

खोटाङ : खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।   मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।   मृतक काका र भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो । परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ ।