पोखरा । बैंक तथा वित्तिय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल वेडमा उपचारारत हुँदा समेत बैंकको फोनले पीडा दिएको सुनाए । व्यवसायीहरुलाई प्रताडित नबनाउन समेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदापनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ । पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकहरुले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीहरुले नपाएको भन्दै असन्तुष्टि जनाए । नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा निमयन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबिच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परेको बताए । राष्ट्रबैंक दलहरुको भर्तीकेन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्रबैंकले पूँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ । नेपाल बित्त कम्पनी बैंकर्श एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तिय पार्टनरबिना व्यवसायीहरुलाई अगाडी बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शिर्षकमा चार्ज नलिएको दाबी गरे । नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीहरुले अन्य क्षेत्रमा लगानी गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बैंक तथा वित्तिय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर बृद्धि मात्र भन्दापनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेहरुलाई व्यवसायीहरुले उजुरी नगरेपनि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ । नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायीहरु पलायन हुनुपरेको उनले बताए । पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको मर्काप्रति बैंक तथा बित्तिय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारलेपनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीहरुको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए । होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैहो, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए । बैंक तथा बित्तिय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । पोखरा उद्योग बाणिज्य संघ र पब्लिक फोरके टेलिभिजनले कार्र्यक्रम सहकार्य गरेका थिए ।
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् । उनले कतिपय कोण र क्षेत्रबाट गठवन्धनप्रति संशय व्यक्त गरिंदै आएपनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व दिन नसकेको सबैमाँझ स्पष्ट छ ।’ एकै कार्यकालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक जनप्रतिनिधिमूलक संस्था संसद विघटन गर्नुका साथै आम जनताको मतको अपमानसमेत गरेका कारण गठवन्धन निर्माण भएको उम्मेद्वार बरालले स्पष्ट पारे । बरालले भने, ‘मुलुकको संविधान र देशको शासन व्यवस्थामाथि धावा बोल्दै प्रधानमन्त्री ओलीले चालेका कदमसंगै राष्ट्रिय हित संरक्षण गर्ने युगीन दायित्वमा आइपुगेका हौं ।’ देशका ठूलाठूला समस्या, संकट गठवन्धनबाटै पार लागेका थुप्रै उदाहरण सुनाउँदै बरालले २००७, २०४६ र २०६२÷०६३ को आन्दोलन यसैका उदाहरण भएको स्पष्ट पारे । यसैगरी उम्मेद्वार बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरुप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत फोहोरको नियमित सफाइ, अतिक्रमण नियन्त्रण तथा कोमागाने पार्क, वसुन्धरा पार्क, हिमागृह आदिको संरक्षणमा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ताल प्राधिकरणलाई अधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गर्नुका साथै फेवातालमा बर्षेनी थुप्रिने माटोलाई नियमित झिक्ने व्यवस्था गर्ने, तालको चौघेरा कायम गरि आवश्यक व्यूटिफिकेशन गर्ने उम्मेद्वार बरालले स्पष्ट पारे ।
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउनुभयो । विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उहाँले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भन्नुभयो । लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताउनुभयो । उहाँले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताउनुभयो । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गर्नुभयो । एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उहाँले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताउनुभयो । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उहाँले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोल्नुभएको थियो ।
पोखरा । कास्की क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा–१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’ युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’ यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दिर, चर्चको पनि व्यवस्था गर्ने गुरुङले मतदाता माझ प्रतिबद्द्ता गरे । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए । ‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाइलाइ निराशा छाएको छ । अब हाम्लाइ जिताउनुहोस कहिल्यै दुखी बनाउनी छैनौं,’ उनले भने, ‘मतदान गर्दा विवेकपूर्ण तरिकाले गर्नुहोला । तपाईसँगै सहकार्य गरेर बिकास गर्ने योजना छ ।’ उनले अबको विकास नेपाली गठबन्धनको सरकारबाट हुने बताए ।
लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र रु एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले रु ५० हजार मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी रु एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक रु ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाउनुभयो । उहाँको पति कुमार रोजगारीका लागि कतारमा हुनुहुन्छ, कतार गएको पनि तीन महिना मात्र भयो । स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर भुम्दी आउनुभएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उहाँ पनि तरकारी खेतीतर्फ आकर्षित हुनुभएको थियो । गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उहाँले मासिक रु ३० हजार आम्दानी गरेर आत्मनिर्भर हुँदै आउनुभएको हो । अप्सराले भन्नुभयो, “तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।” भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । छ रोपनी आफ्नै र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले प्रतिवर्ष रु नौ लाख मुनाफा गर्दै आउनुभएको छ । पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै श्यामुले भन्नुभयो– “यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।” किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिराँैला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।” कृषि फार्म सञ्चालन गर्दै आउनुभएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गर्नुभएको छ । यतिबेला उहाँका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गर्नुभएका उहाँले भन्नुभयो, “सधै ओझेलमा पारेका किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।” गाउँमा कृषि समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् । अर्का तरकारी खेती गर्दै आउनुभएका रमेश अधिकारीले भन्नुभयो, “माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।” सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ । गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उहाँले भन्नुभयो । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए । तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले तरकारीे खेती सिक्न जरुरी भएको बताउनुभयो । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी सुरु हुनु कृषिमा क्रान्ति भएको उहाँले प्रतिक्रिया दिनुभयो । वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिनुभयो । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उहाँले कृषि महाशाखालाई आग्रह गर्नुभयो ।
पोखराः कास्कीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १ सय ५२ जता नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनीहरु प्रवेश गरेका हुन् । भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँसडकको आयोजनामा पुचःका ३२ सदस्यले मखमलको चप्पल र थैली बनाउने तालिम लिएका छन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे । ‘हामीसँग महिलाहरुले संचालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरणहरु छन्’,उनले भने,‘तर, व्यवसाय गर्नु अगाडि महिलाहरुले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ ।’पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् । नेवा: मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि उनको रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ,प्रशिक्षकको तर्फबाट जमर कँडेल,नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ,नेवाः मिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ,नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले भ्रष्टाचार गर्न र कमाउन राजनीतिमा नआएको बताउँदै भोट माग्दै छन् । आफ्नो उम्मेदवारी विकासकालागि भएको भन्दै गुरुङ घरदैंलोमा व्यस्त छन् । पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाँडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’ घरदैलो अन्तर्गत कालिकाको काफलबारी पुगेका गुरुङलाई स्थानीयले पुल नबन्दा समस्या परेको गुनासा सुनाए । वडा नं १३ र २८ जोड्ने पुल विचमै रोकिँदा काफलबारी विकास हुन नसकेको स्थानीयको गुनासो थियो । गुरुङले निर्वाचित भइसकेपछि पहिलो काम पुल निर्माणमा लाग्ने बताए । ‘तपाईँका समस्यालाई मैले टिपोट गरेको छुँ । म भ्रष्टाचार गर्न राजनीतिमा आएको होइन । समाज विकास गर्नको लागि हो,’ उनले भने, ‘पुलको काम अध्ययन गरेर निर्वाचित भइसकेपछि काम सुरु हुनेछ ।’ गुरुङले आफ्नो लभ्य भनेको इमान्दारपूर्वक जनताको सेवा गर्ने स्थानीय माझ सुनाए । नेपाली काँग्रेस वडा २८ का सभापती विश्वरमण अधिकारीले इमान्दारपूर्वक लागि परेर गठबन्धनको सरकारलाई जिताउन आग्रह गरे । ‘कालिकाको विकासको लागि आफ्नै घरआगनका नेता पाएका छौं । अब जिताउने काम हामी सबैको हो,’ उनले भने ।
पोखराः नेकपा एमालेका अध्यक्ष केपी आलीले अहिलेको निर्वाचनमा पाँचदलीय गठबन्धनले धान, कनिका र चामल मिसिएको जस्तो घोषणा पत्र ल्याएको बताएका छन् । पोखरा सभागृहमा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन नेकपा एमालेका अध्यक्ष ओलीले सो कुरा बताएक हुन् । ‘पाँचदलीय गठबन्धनको रंगिबिरंगी नारा छ’ ओलीले भने ‘धान, कनिका र चामल मिसिएको जस्तो घोषणापत्र, माओवादी, समाजवादी, कांग्रेस र जनमोर्चाले आफ्नो आफ्नो घोषणापत्र जारी गरेको छ, कुन चाहिँ कार्यावन्वयन गर्ने हुन् ?’

