पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा : नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफी  मागेको छ । प्रहरी जवानको कमजोर बुझाईका कारण पत्रकार नेपालीमाथि दुर्व्यवहार हुन पुगेको भन्दै आउँदा दिनमा प्रहरीबाट त्यस्तो व्यवहार नदोहोरिने जिप्रका कास्कीले प्रतिबद्धता जनाएको छ ।    विहिबार विहान म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्न पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्र पुगेका नेपालीलाई त्यहाँ रहेका प्रहरी जवानले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारपश्चात पत्रकार नेपालीले आफुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको कुरा पत्रकार महासंघलाई जानकारी दिएका थिए । विहिबार पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसी समक्ष पुगेका थिए ।   दुर्व्यवहारमा परेका पत्रकार नेपाली सहित पुगेको पत्रकार महासंघ कास्कीको टोलीसमक्ष एसपी केसीले बुझाईको समस्याले घटना हुन पुगेको भन्दै नेतृत्वको हिसाबले आफूले माफी  माग्ने बताए । उनले अबका दिनमा पत्रकारहरुलाई सहज र विधिमा रहेर रिपोर्टिंग गर्ने सवालमा आफू मातहतका सबै प्रहरीहरुलाई सम्झाईबुझाई गर्ने वचन दिए । नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर हामीले धेरै कुराहरु गर्नुछ । र, प्रहरीले पत्रकारसँग सहकार्य गरेरै चुनावलाई अझै बढि परिस्कृत गराउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।, केसीले भने (प्रेस स्वतन्त्रताको सवालमा हामी सचेत छौँ र मातहतका सबै तहका प्रहरीहरुलाई हामीले त्यसबारेमा परामर्श पनि दिनेछौँ ।   नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताईन् । साथै उनले कुनै पनि वहानामा पत्रकार माथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् । चुनावको बेला छ । पत्रकारहरु पनि यो समयमा रिपोर्टिंगका लागि धेरै ठाऊँमा पुग्नुपर्ने हुन्छ । तर रिपोर्टिंगको बेलामा प्रशासनको व्यवहार रुखो हुँदै आएको विगतका ईतिहास पनि छन् । त्यसैले प्रहरी र प्रशासन यो सवालमा सच्चिन जरुरी छ । भण्डारीले भनिन् ,यदि प्रहरीले पत्रकारलाई पेशागत कारणले नै फरक व्यवहार देखाउने हो भने हामी पनि संगठित रुपमा फरक तरिकाले सोँच्नुपर्ने हुनसक्छ ।   दुर्व्यवहारमा परेका पत्रकार विजय नेपालीका अनुसार उनी रिपोर्टिंगको क्रममा म्यादी प्रहरीहरुको कार्यक्रममा पुगेर फोटो लिँदा त्यहाँ रहेका प्रहरीले उनलाई जबरजस्ती फोटो डिलिट गर्न लगाई जबरजस्ती कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । म पत्रकार हुँ, मैले समाचारको लागि फोटो खिचेको हुँ भन्दा पनि मलाई रिसाइकल बिनबाट समेत जबरजस्ती फोटो हटाउन लगाईयो । नेपालीले भने , त्यसपछि मलाई दुर्व्यवहारपुर्ण तरिकाले कार्यक्रमस्थलबाट निकालियो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघको अगुवाईमा भएको छलफलपछि भने मलाई केही राहत महशुस भएको छ । पत्रकार महासंघलाई धन्यबाद दिँदै उनले आफूलाई दुर्व्यवहार गरेपनि यस्तै घटना अब दोहोरिन नहुने बताए ।    विहिबार भएको छलफलमा पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

  पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् । निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको बताए । उनले उक्त ठाउँमा बनेका पूल, बाटो निर्माण तथा पानीको समस्या समाधानसँगै सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको जानकारी गराए । कृषिमा व्यवसायिकता रहेको सो क्षेत्रको अर्को सम्ंभावनालाई आधुनिक ढंगले विकाससँगै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको उनको भनाई छ । कार्कीले युवा, महिला सशक्तीकरण सहित स्थानियलाई अब पाँच वर्ष भित्र महानगरवासीको अनुभुति हुने गरि काम गर्ने योजना सुनाए । केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गरेका कार्कीले भुमिहिन जनताका समस्या सधैंका लागि समाधान गर्ने योजना रेहको स्पष्ट पारे । उनले अबको ‘पाँच वर्ष एमालेले गर्छ’ भन्ने अवधारणा आफ्नो पार्टीको प्रतिवद्धता भएको भन्दै बहुमत सहित सरकार निर्माणको जनादेश दिन जनतालाई आग्रह गरेका छन् ।  

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएरएमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु ।  निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न सक्नुभएन ।’ उनले भने, ‘त्यसैले अहिले एमालेबाट विद्रोह गरेर ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवारको रुपमा खडा भएको छु । म इमान्दार एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु ।’ उम्मेदवार बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सहिढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए । उनले ‘निर्वाचित भएपछि फेरी अर्को निर्वाचनमा गफ दिएर होइन जनतासंग बसेर जनताको सुखदुखमा साथ दिएर, उनीहरुको जीवनस्तर उकास्ने अनि संसदमा जनताकै मुद्धा उठाएर उनीहरुको पक्षमा ऐन कानुन निर्माण गर्ने काम मैले गर्नेछु’ भनेका छन् ।  उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । ‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पुर्याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’  आफ्नो निर्वाचन क्षेत्रमा तीन खालको अवस्था रहेको उनले सुनाए । सबै क्षेत्र महानगर भएपनि पूर्वाधारका हिसावले धेरै पछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ त्यो पुरा गर्छाैं, विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो । अब त्यस्तो प्रवृत्तिलाई यहाँहरुले तोड्नुपर्छ । म प्रतिवद्धता जनाउँछु । जो बोल्छौं । त्यो पुरा गरेरै छाड्ने छौं’ उनले भने ।  कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । उनले निर्वाचन कुर्चीका लागि मात्र नभएको भन्दै जनताको काम गर्ने भन्दै गफ दिएर निर्वाचित भएपछि औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग सचेत बन्नुपर्ने धारणा राखे ।  नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए । गठबन्धनबाट जसले टिकट पाएपनि गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।  

  पोखरा । ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो । कार्यक्रममा स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्त्रण गरेकी हुन् । सो अवसरमा बोल्दै केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे । कार्यक्रममा पूर्व एसएसपी कृष्ण बहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । गत वर्ष स्व. केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु. १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो । यसैविच कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्ष्यकोषको स्थापना गरेको छ । बिहीबार सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा स्व.गुरुङकी श्रीमती तुलसी गुरुङले आफ्ना श्रीमान्को स्मृतिमा ५० हजार रुपैयाँको अध्यक्षकोष सञ्चालन गर्ने गरि रकम हस्तान्त्रण गरेकी हुन् । क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत र सञ्चालन महासचिव रामजी प्रसाद अधिकारीले गरेका थिए । एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले बताए । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा ’ गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजन समेत गर्दै आइरहेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।

  पोखरा । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू  गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गर्नुभएको छ ।       सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले  जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताउनुभयो ।  उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याउनुभयो । 

  पोखरा । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा सधैं साथ रहेको भन्दै उनले आफूले स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको बताए ।  कास्की ३ क अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर २,३,४ लगायतका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा उनले उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उम्मेदवार गुरुङले पार्टीकोे प्रतिवद्धतापत्रमा पूरा गर्न सकिने कुराहरु मात्र आएको बताउँदै आफनो पार्टीले कहिल्यै ठुला र झुटा आश्वसन नदिने बताए । घरदैलो कार्यक्रममा नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, केन्द्रीय संस्कृति विभाग सदस्य, विम्ब कवि रमेश श्रेष्ठ, क्षेत्र नं. ३ (क) निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु केसी, वडा कमिटी इञ्चार्ज दामोदर शर्मा रिमाल, वडा कमिटीका अध्यक्ष रामविक्रम राणा, उपाध्यक्ष सहारा प्रधान, सचिव राधा बराल अधिकारी लगायत सहभागी छन् ।   

  पोखरा  । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्की क्षेत्र नं. २ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेकी छन् । पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता भएको बताईन् । उनले दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् । जेष्ठ नागरिकलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि विचमै सरकार परिवर्तनले अवरोध भएको बताउँदै मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास छ । कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नं. २ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्यक्ष उम्मेदवारका रुपमा उपस्थित भएको बताए । एमाले नेता तथा स्थानिय समाजसेवी कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ,निवर्तमान वडाअध्यक्ष जिवन आचार्य, यमनकाजी गुरुङ लगायतले निर्वाचनको महत्व एवम् यस क्षेत्रका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए । प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले आजै पोखरा १५ स्थित ढुङ्गेसाँघुमा पनि घरदैलो कार्यक्रममा सहभागि भएकी थिईन् । सो अवसरमा मतदाताले स्थानिय आवश्यकता अनुसार विकास निर्माणमा लाग्न अनुरोध गरेका थिए ।    

बागलुङ :  जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब केही दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ ।   बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम शक्ति अलग्गिएका छन् । कांग्रेसलगायतका दललाई गठबन्धनको आड छ ।   विसं २०७४ को चुनावमा बेहोरेको नमिठो हारलाई गत वैशाखको स्थानीय चुनावबाट पूर्ति गरेको कांग्रेस गठबन्धनका बलमा अहिले पनि जित निकाल्न चाहन्छ । यसअघिको सङ्घ र प्रदेश चुनावमा एक्लै वाम गठबन्धनको सामना गरेको कांग्रेसले यहाँका सबै ‘सिट’ गुमाएको थियो । यसपालिको चुनावमा सङ्घ गठबन्धनका अरु दललाई छाडेर कांग्रेस प्रदेशका चारै ‘सिट’ मा प्रतिस्पर्धा गर्दैछ ।   नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दा विसं २०७४ मा कांग्रेस किनारामा परेको थियो । अहिले कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन् । विसं २०७४ मा कांग्रेसझैँ अहिले नेकपा (एमाले) एक्लै चुनावी मैदानमा छ । छ वटा स्थानीय तह भएको बागलुङ–२ मा गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथ लिएर चुनाव लड्नुभएका एमालेका देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखमा विजयी बन्नुभएको थियो ।   त्यस क्षेत्रका कूल ४८ वडामध्ये ढोरपाटनका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूहका तिलक पुन र अरु सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।   निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा एमालेले एउटै वडा पनि जित्न सकेको थिएन । वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा सत्ता गठबन्धनका उम्मेदवारले एमालेकाले भन्दा १५ हजार पाँच सय १९ मत बढी ल्याएका थिए । सत्ता गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले जम्मा १९ हजार ४९ मत पाएको थियो ।   गत स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा सत्ता गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ । एमाले पनि गठबन्धनलाई पछि पारेर चुनाव जित्ने दाउमा छ । गठबन्धनका साझा उम्मेवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका विरुद्ध एमालेका मञ्जु शर्मा चालिसे चुनावी मैदानमा हुनुहुन्छ । गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लड्नुभएकी चालिसेपछि एमाले प्रवेश गर्नुभएको थियो । स्थानीय तह चुनावमा उहाँले तीन हजार दुई सय ६३ मत ल्याउनुभएको थियो । कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उम्मेदवार बन्नुभएकी उहाँ अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा हुनुहुन्छ ।   गठबन्धन दल भने आफ्नो भएको जनमत जोगाउन सके चुनाव जितिने ठान्छन् । माओवादी केन्द्रका सचिवसमेत रहनुभएका शिक्षामन्त्री पौडेलका लागि पनि पुनः सोही क्षेत्रका मतदाताबाट अनुमोदन हुनुपर्ने चुनौती छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट उहाँ विजयी हुनुभएको थियो ।     पौडेलले २८ हजार आठ सय २७ मत ल्याउँदा उहाँसँग पराजित कांग्रेसका नीरज पुनले १९ हजार नौ सय पाँच मत पाउनुभएको थियो । उक्त चुनावमा एमाले बागलुङ–१ र १ को(१), माओवादी केन्द्र बागलुङ–२ र २ को (२), राष्ट्रिय जनमोर्चा १ को (२) र २ को (१) मा विजयी बनेको थियो । कूल ९५ हजार पाँच सय ६१ मतदाता रहेको बागलुङ–२ (१) र (२) मा अहिले भने सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् ।    गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा समेटिएको प्रदेश (१)मा गठबन्धनबाट कांग्रेसका जीत शेरचन चुनावी मैदानमा हुनुहुन्छ । एमालेले आफ्नै उम्मेदवार नउठाए पनि स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सघाउने भएको छ । घर्ती पनि गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्ररूपमा लड्नुभएको थियो ।    माओवादी केन्द्रले टिकट नदिएपछि बिच्किनुभएका घर्ती अहिले एमालेको समर्थन लिएर चुनावमा होमिनुभएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाटै ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुई पटकसम्म प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो ।    विसं २०७४ र विसं २०७६ मा भएको उपचुनावमा बागलुङ–२ (२) बाट उम्मेदवार बनेर हार्नुभएका शेरचनले यो चुनावमा ९१० क्षेत्रलाई रोज्नुभएको हो । कांग्रेस र माओवादीको जनमत बढी रहेको यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता छन् । विसं २०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो ।   वाम गठबन्धनबाट चुनाव लड्नुभएका बुढाले १७ हजार चार सय १५ मत ल्याई कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको थियो । मल्लले जम्मा ११ हजार पाँच सय ४६ मत ल्याउनुभएको थियो । त्यतिबेला वाम दल एकठाउँ भएर कांग्रेस विरुद्ध चुनावमा होमिएका थिए । बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका द्रोर्ण कुँवर चुनावी प्रतिस्पर्धामा हुनहुन्छ । त्यस क्षेत्रमा एमालेबाट लक्ष्मण पुन उम्मेदवार हुनुहुन्छ ।   ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका समेटेको सो क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता छन् । यसअघिको प्रदेशसभा उपचुनावमा सो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार दुई सय ३५ मत ल्याएर चुनाव जित्नुभएको थियो । कांग्रेसका शेरचनले नौ हजार एक सय ३८ मत ल्याउनुभएको थियो । अहिले भने कांग्रेसका उम्मेदवारलाई केही सहज हुने देखिन्छ ।   त्यहाँका २२ वडामध्ये गत स्थानीय चुनावमा एमालेले पाँच मात्रै जितेको थियो । सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतभार एमालेका उम्मेदवारको भन्दा बढी छ । विगतको समीकरण र मतभार जेजस्तो भए पनि आउँदो चुनावको परिणामबारे कोही पनि ढुक्क हुने स्थिति छैन । जितको दाबीसहित दल र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् ।   मन्त्रीदेखि र पार्टीका शीर्ष नेतासम्म चुनावी मैदानमा भएकाले यहाँको चुनावलाई पनि चासोपूर्वक हेरिएको छ । बागलुङ–१ मा सत्ता गठबन्धनका तर्फबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बागलुङ–१ (१) मा गठबन्धनबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर केसी र (२) मा कांग्रेसका डिल्लीराम सुुवेदी र एमालेका नवराज पौडेल चुनावी मैदानमा हुनुहुन्छ । 

  पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनको अवधीमा विभिन्न मुद्धामा फरार रहेका १३ जना प्रतिवादी सहित लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ३० पावरहाउसमा सवारी चेकजाच गर्नेक्रममा दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।    प्रहरीका अनुसार पोखरा महानगरपालिका ३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्नेमा तनहुँको व्यास नगरपालिका  ६ घर भएका २१ वर्षीय मोहम्मद यासिरलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  प्रहरीले यासिरको साथबाट ५ किलो १ सय ग्राम लागुऔषध बरामद गरेको हो ।    यस्तै प्रहरीले सोमबार पावरहाउसमा नै सवारी चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका १३ बाझापाटनका ३० वर्षीय सन्दिप सेन्चुरीको साथबाट डाईजापाम ६३ एम्पुल, फेनेरागन ६३,र नुर्फिन ६३ गरी १ सय ८९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको हो ।    लागूऔषधसहित प्रकाउ परेका मोहम्मद यासिरलाई लागूऔषध सम्बन्धी मुद्धामा ५ दिन र सन्दिप सेन्चुरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।    कोको फरार थिए ?    जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनमा १३ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।    प्रहरीका अनुसार प्रकाउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगपालिका २ बस्ने ३६वर्षीय सन्तोष पुन रहेका छन् । उनलाई सवारी ज्यान मुद्धामा २ महिना १० कैद सजाय र २ हजार रुपैयाँ जरिवना तोकिएको थियो । धादिङ घर भएका हाल पोखरा महानगरपालिका ३२ बस्ने ४० वर्षीय चक्र बहादुर गुरुङ रहेका छन् । उनलाई सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकिएको थियो ।    प्रकाउ पर्नेहरुमा पोखरा महानगरपालिका ३१ मोहरिया बस्ने १९ वर्षीय सुनिल बि.क रहेका छन् । उनलाई  लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकिएको थियो । यस्तै प्रहरीका अनुसार चलन चलाई मुद्धामा ५ हजार जरिवाना सजाय तोकिएका पोखरा महानगरपालिका  २९ भण्डारढिक बस्ने  ७२ वर्षीय  टेक बहादुर गुरुङ,७१ वर्षीय  रनमाँया गुरुङ, ४० वर्षीय शरेमान गुरुङ, ३९वर्षीय  निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ, २६ वर्षीय  बिपना गुरुङ रहेका छन् ।    यस्तै प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी रहेका छन् उनलाई लागूऔषध मुद्धामा ४ महिना २८ दिन कैद सजाय ताकिएको थियो । पोखरा महानगरपालिका  ३० खोरखरा बस्ने २२ वर्षीय  सुजन कामीलाई पनि प्रकाउ गरेको छ । उनलाई  लागूऔषध मुद्दामा ४ महिना ६ दिन तोकी कैद सजाय ताकिएको थियो । र उदयपुर त्रियुगा नगरपालिका १५ घर भएका पोखरा महानगरपालिका २७ हमालचोक बस्ने २८ वर्षीय अनिल आलेलाई प्रकाउ गरेको छ । उनलाई लागूऔषध मुद्धामा ३ महिना २८ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकिएको थियो ।  .