पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ ।    दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा  आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।   पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ ।    ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ ।   आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुने छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।((

महेन्द्रनगर : खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ।   पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुनुहुन्छ ।   “हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा ग¥यौ”, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भन्नुभयो, “तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो ।”   दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आउनुभएको छ । बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।   “आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पु¥याउनुभयो”, उहाँले भन्नुभयो, “अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु ।” धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आउनुभयो ।    सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उहाँको भनाइ छ । “सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो”, धामीले भन्नुभयो, “म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ ।”   सङ्गीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र सङ्गीता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । “दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो”, उहाँले भन्नुभयो, “अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिनुभएन ।”   खेलकुद र पढाइलाई निरन्तरता दिनुभएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोख्नुभयो । “ अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो”, उहाँले भन्नुभयो, “अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ ।”   खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उहाँको भनाइ छ । “पदक दिलाउने  खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो ।”   उहाँले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताउनुभयो । “अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु”, उहाँले भन्नुभयो, “स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ ।”   सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच/छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।    “सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन”, उहाँले भन्नुभयो, “अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।” उहाँले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताउनुभयो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ ।   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र आज यहाँ जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहिआएको बताउनुभयो ।   राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्दै आएको छ । मुलुकको सर्वोपरि हितका पक्षमा उभिँदै बर्वादिको बाटोमा जानबाट जोगाउन आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय लिन मतदातालाई सुझाव दिँदै राप्रपाले अबको गन्तव्य सबल र समुन्नत नेपाल निर्माण भएको उल्लेख गरेको छ । पुँजी निर्माण, दीगो विकास, निःशुल्क स्वास्थ्य र शिक्षा तथा सामाजिक न्याय र समतामूलक समृद्धिमा जोड दिँदै उक्त पार्टीले विसं २०८७ सम्ममा नेपाललाई मध्यमआयस्तर भएको मुलुकमा रुपन्तरण गर्ने अठोट गरेको छ ।   अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, बलियो स्थानीय तह, धर्मसापेक्ष हिन्दू राष्ट्रका पक्षमा सो पार्टीले वकालत गर्दै आएको छ ।   ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौं ’ भन्दै सुशासनका मुद्दालाई अघि बढाउने अठोट गरेको राप्रपाले सबैको मित्रता स्वीकार गर्ने तर हस्तक्षेप अस्वीकार्य हुने परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।    पार्टीले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा राप्रपाले समष्टिगत अर्थतन्त्र : समातामूलक समृद्धि, शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क, समान, सुरक्षित जनजीवन, विकसित र स्थायी बसोबास, विदेशिएका युवालाई स्वदेशमै  रोजगारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।   कृषकलाई सम्मान, उत्पादकत्व वृद्धि, पुँजी निर्माण, दिगो सिँचाइ प्रणाली र दीगो विकासका मुद्दालाई पनि उक्त पार्टीले सशक्तरुपमा अघि बढाउने प्रतिज्ञा गरेको छ ।    घोषणापत्रमा ‘स्वच्छ पिउने पानी र सफा शौचालय–नागरिक अधिकार, ‘दिगो पूर्वाधार निर्माण र समृद्धिको आधार, जलविद्युत्को विकास, पुँजीको निर्माण र आत्मनिर्भरता, एक पालिका एक खेल मैदान’लगायत विषय समेटिएका छन् ।   राप्रपाले भावी सन्ततिका लागि पर्यावरण जोगाऔँ, नेपाल बन्द सधैँका लागि बन्द, आगामी दिनमा सीमा व्यवस्थापनका लागि पहल गर्ने तथा सत्ताकेन्द्रित राजनीति नगर्ने घोषणापत्रमा प्रतिबद्धता जारी गरेको छ ।

पाल्पा : दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाउनुभएका उहाँ सबै धानमा रोग लागेपछि चिन्तित हुनुहुन्छ ।           घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । “लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो रु उहाँले भन्नुभयो, “केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।”    चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उहाँ यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताउनुहुन्छ । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उहाँको गुनासो छ । सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताउनुभयो ।           अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउनुुहुन्छ । उहाँले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको बताउनुभयो । “धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुप¥यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो”, उहाँले भन्नुभयो । यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाउनुभयो । करिब ९० मुरी धानको उत्पादन लिने उहाँ यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा हुनुहुन्छ ।         बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ । गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याउनुभएको हो । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उहाँको माग छ । “धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो”, उहाँले गुनासो पोख्नुभयो ।          धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पु¥याएपछि यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ । किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो ।          रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउबिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो । बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यसपटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । “किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो”, शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।         समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उहाँको भनाइ छ । यसवर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरु बताउँछन् ।         रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटलाई धान कम फलेपछि वर्ष दिनको गुजारा कसरी चलाउने चिन्ताले सताएको छ । फड्के किराले सखापै पार्ने गरी धानबालीलाई सतायो । दुःखँंग लगाइएको धान भकारी भरेर वर्षदिनलाई परिवार पालौला भन्ने आशामा रहनुभएका उहाँ बाली भित्र्याउनै नपर्ने गरी रोग लागेर धानमा असर पारेपछि चिन्तित हुनुहुन्छ । “परिवारको आयस्रोत केही छैन, धान लगाएर वर्ष दिन जिविका धान्ने हो, बीउ राखेदेखि गोडमेल गर्दासम्म धेरै दुःख गरियो”, उहाँले भावुक हुँदै भन्नुभयो ।          वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उहाँ बताउनुहुन्छ । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ ।         पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यसपटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उहाँलाई रातदिन सताएको छ । गतवर्ष काटेको धान वर्षाले डुबानमा परी ठूलै नोक्सानी उहाँले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि रम्भा गाउँपालिकाले विवरण सङ्कलन गरेता पनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उहाँको गुनासो छ ।          सगाहाको नौसय मुरी खेतभरि नै महामारीको रुपमा किराले सताउँदा यो वर्ष धानको उत्पादन घट्ने अगुवा कृषक ऋषिराम अर्याल बताउनुुहन्छ । उहाँका अनुसार गतवर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिदा खासै धानमा असर परेन तर यसपटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समय देखि धान लगाउँदै आएको भएपनि यसपटक जस्तो महामारीको रुपमा फड्के किराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।         पाल्पाको रामपुर, माडीफाँट, हँुगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ । ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरिक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत असोजको अन्ततिर परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो ।          पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ ।  जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभानलगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । 

ढोरपाटन : प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् ।    पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्नुहुन्छ, “नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।”   उहाँले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्यासँग झेल्नुपरेको भन्दै चुनावका बेला आउने नेताले आशा मात्रै देखाउने तर काम भने नगरेको बताउनुभयो । बाढीले सिङ्गो भुजीखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोख्नुभयो ।   उहाँ भन्नुहुन्छ, “हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेता दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किन हाम्ले भोट दिने ।”    बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो । आफन्त र भए भरको सम्पत्ति गुमाएपछि विकले ऋणधन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताउनुभयो । विकले विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख राहत पाए पनि घर बनाएको अझै रु चार लाख ऋण थुप्रिएको बताउनुभयो ।   “सुरुमा केही समयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख त पाइयो, प्रदेश सरकारले दिने भनेको रु ५० हजार आएन, घर बनाउँदा रु छ लाख ऋण लाग्यो, रु चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ”, उहाँले निरास हुँदै भन्नुभयो ।   अर्का बाढीपीडित लिलमाया विकले पनि यसपालि भोट नहाल्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले भोट हाल्नै परे बाढीपीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताउनुभयो । आफूहरुलाई नेताले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उहाँको भनाइ छ । “अहिलेसम्म मैले धेरै पटक भोट हाले, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेतामात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढीपीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।   बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उहाँले पनि अहिलेसम्म पाउनु पर्ने राहत पूरै पाउन नसकेको गुनासो गर्नुभयो । केही नेताले बाढी आएको बेला राहत दिलाइ दिने आश्वासन दिए पनि अहिलेसम्म दिन लाउनन सकेको बताउनुभयो । “सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन हामीलाई कसले दिन्छ र रु, बाढी आएको धेला केही नेता आएर हामी राहत दिलाइ दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्”, विकले भन्नुभयो ।   बाढीमा जीवन सङ्गीनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई भोट दिने बताउनुभयो । उहाँले बाढीले भए भरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बितिसक्दा पनि कुनै नेताले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले अहिले दिनदिनै नेता भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको बताउनुभयो ।   “आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्ने उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही”, उहाँले भन्नुभयो, “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फर्काइदिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौं पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।”   बाढीले विकको श्रीमती, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीमा परी ३८ बढीले ज्यान गएको थयो । तेइस जनाको शव फेला परे पनि १५ अहिलेसम्म बेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँच काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो । 

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।    सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ । जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ, उनले भने, आज मुद्दा बुझायौं । भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुन्छ ।’   लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।   गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो ।   गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।   केन्यासँग ट्वान्टी-२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

पर्वत : पर्वत, कास्की र स्याङ्जा जिल्लाको सङ्गमस्थल प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा तोरण महोत्सव गरिने भएको छ । यही कात्तिक १८ गते हरिबोधनी एकादशीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।   पछिल्लो समय पवित्र कालीगण्डकी नदीमा तोरण तार्ने प्रचलन लोपहुँदै गएकाले त्यसको जगेर्नाका लागि पञ्चासेमा विगत पाँच वर्षदेखि निरन्तर उक्त महोत्सव गरिँदै आइएको छ । हरिबोधिनी एकादशीलाई तोरण तार्ने दिनका रूपमा पनि लिने गरिन्छ । दुई–तीनदशक अगाडिसम्म जिल्लामा ‘तोरण तार्ने’ लाई ठूलो उत्सवका रूपमा लिने गरिन्थ्यो । हरिबोधिनी एकादशीका दिन गाउँ–गाउँबाट जन्तीले झैँ काँधमा डोला बोकेर  हिँडेका देखिन्थे । उनीहरूको गन्तव्य पवित्र कालीगण्डकी हुन्थ्यो ।   जिल्लाको कुश्मा नगरपालिका–५ मोदीवेणीको मोदीवेणीधाम हुँदै बग्ने कालीगण्डकी नदी तारेर ‘तोरण’ तारिन्थ्यो । वारिपट्टि पर्वत र पारिपट्टि बागलुङको किनारमा बाबियोका मोटा लट्ठामा फूलमाला उनेको ‘तोरण’ तार्न कालीगण्डकी नदी पौडेरै वारपार गर्नेहरू भेटिन्थे । आजभोलि ‘तोरण’ तार्ने प्रचलन लोपहुँदै गएको छ । पछिल्लो पुस्तालाई त कालीगण्डकी तरेर ‘तोरण’ तारिन्थ्यो भन्दा पनि विश्वास लाग्दैन तर तीन जिल्लाको सङ्गमस्थल तथा जिल्लाकै उच्च स्थानमा रहेको पञ्चासेको तालमा भने विगत चार वर्षदेखि ‘तोरण महोत्सव’ हुँदै आएको हो । तोरणको महत्व लोप हुन नदिन तथा संस्कृतिलाई निरन्तरता दिन एकदिने महोत्सव आयोजना हुँदै आएको छ ।    पञ्चासे बुद्ध विहार साहिस्वारा र राधाकृष्ण सुदामा मन्दिरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ । समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको पञ्चासे ताल वारपार गर्ने गरी बाबियोबाट बनाइएको ‘तोरण’ तार्ने र सोही अवसरमा भजन चुड्कासहितका सांस्कृतिक कार्यक्रम राखेर महोत्सव आयोजना गर्न लागिएको राधाकृष्ण सुदामा मन्दिर सञ्चालक समितिका सचिव लक्ष्मण शर्माले बताउनुभयो ।    “पहिले–पहिले मोदीवेणीधाममा तोरण तार्नेको भीड हुन्थ्यो । गण्डकीको किनारमा हजारौँ जम्मा भएर वारिको तोरण पारी किनारमा लगिन्थ्यो ।    पौडीबाजहरूले ढाडमा तोरण बाँधेर पौडिएरै गण्डकी पारी लगेर बाँध्थे”, उहाँले भन्नुभयो, “विस्तारै यो परम्परा हराउँदै गयो। मोदीबेणीमा तोरण तारेको देख्न पाइएको थिएन तर यो लोप हुनु हुँदैन भनेर हामीले अहिले पाँचौँपटक तोरण महोत्सव आयोजना गरेका छौँ ।’   पञ्चासे बुद्ध बिहारको विशेष पहलमा हुन लागेको महोत्सवमा पर्वतका विभिन्न स्थानका भक्तजन सहित कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका  र पुतलीबजार नगरपालिकाका सहित गुल्मीबाट पनि दर्शक तथा भक्तजन महोत्वसवमा आउने गरेका छन् ।   बालाचतुर्दशीमा भक्तजनको बढी भीडभाड हुने गरेको पञ्चासेमा पर्यटकीय दृष्टिले  पनि आकर्षणको केन्द्र हो। पञ्चासेमा पूजा गरेपछि कुनै काम पूरा होस् भनी गरिएको भाकल पूरा हुने तथा दिवङ्गत आत्मले मुक्ति पाउने विश्वास गरिन्छ ।   सुनसान जङ्गलको बीचमा रहेको तालको वरिपरि रूख छन् । ती रूखबाट खसेका हरेक पात चराचुरुङ्गीले नै निकालेर ताल सफा राखिरहन्छन् । तालभन्दा माथि २५ मिटरभन्दा बढीको उचाइमा रहेको पञ्चासे मन्दिर धर्मावलम्बीहरूका लागि अर्को आकर्षण हो ।   बालाचतुर्दशीमा सतबीज छर्दा तालदेखि मन्दिरसम्म नै मानिसको घुइँचो लाग्ने गरेको छ । सुदामा मन्दिर सञ्चालक समितिका सचिव शर्माका अनुसार विगतको बालाचतुर्दशीमा झन्डै एक लाख भक्तजन आएको अनुमान गरिएको पञ्चासेमा हरिबोधिनी एकादशीमा पनि झन्डै त्यतिकै  सङ्ख्यामा भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।    कास्कीको पोखरा महानगरपालिकाको पामे–घाँटीछिना हुँदै भञ्ज्याङदेखि आर्थरसम्म जोडिने सडक भने अहिलेसम्म पनि सञ्चालनमा नआउँदा पोखराबाट पञ्चासे आउने पर्यटक तथा धर्मावलम्बीलाई समस्या भइरहेको स्थानीय बासिन्दाले बताए  ।

काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ ।    आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।   मतदातालाई मतदानका  लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ । छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत  आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सवै मतदाता समेटिने गरी बृहत्रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।   आगामी  निर्वाचनका लागि यस पटक १८ भाषामा तयार गरिएको सामाग्रीलाई केन्द्रीयस्तरबाट प्रचार प्रसार गरिने भएको छ  ।  आयोगले यही कातिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रभावकारीरुपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो  ।  मतदाताको सहभागिता अधिक बृद्धि गराउन,  सदर मतप्रतिशत बढाउन तथा हर तवरले सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको हो ।    विगतका निर्वाचनदेखि नै  यस कार्यक्रममा स्वास्थ्य स्वयम्सेवीकाको योगदान महत्वपूर्ण रहदैआएको थियो । यस पटक पनि स्थानीय तहले उहाँहरुलाई नै न्यूनतम १० हजार भत्ता उपलब्ध गराउन आयोगले निर्देशन दिइसकेको छ ।    स्वास्थ्य स्वयमसेवीले प्रत्येक वडाका बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी दिने र आफूले चाहेको उम्मेदवारलाई दिएको मत बदर नहुने गरी स्वस्तिक छाप लगाई मतपेटिकामा खसाल्ने विषय मुख्यरुपमा मतदाता शिक्षासँग जोडिएको छ । यस कार्यक्रमबाट  मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्न, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन, सुसूचित मतदाता तयार गर्न, अर्थपूर्ण सहभागिता जनाउन, बदरमत न्यूनीकरण गर्न, अमूल्य मतको महत्व बुझाउन र योग्य प्रतिनिधि चयन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।    आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड, ७९ लाख ८८ हजार पाँच ७० मतदाता सूचिकृत छन् । प्रतिनिधिसभा सदस्य २७५ र प्रदेशसभा सदस्य ५५० सिटका लागि निर्वाचन हुन लागेको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यमा ३३० तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य ११० र प्रदेशसभा सदस्यमा २२० सदस्यका लागि बालिग मताधिकारका आधारमा निर्वाचन हुन लागेको छ ।   सह–प्रवक्ता सूर्यप्रसाद अर्याल भन्नुहुन्छ, ‘‘प्रत्येक मतदातालाई किन मतदान गर्दैछु, मतको मूल्य कस्तो हुन्छ, कस्तो प्रतिनिधि चयन गर्नुपर्छ, त्यसले लोकतन्त्रको सुदृढीकरणका लागि कस्तो फरक पार्छ भनी अर्थपूर्ण र गुणस्तरीय मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको छ ।’’   विस २०७४ मा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता रहेकामा एक करोड पाँच लाख ९४ हजार ४४ अर्थात ६८दशमलव६७ प्रतिशत मतदान भएको थियो । उक्त मतदानमा एक करोड ४५ हजार चार सय ७४ अर्थात ९४दशमलव८२ मत सदर भएकामा पाँच लाख ४८ हजार पाँच सय ७० अर्थात पाँच दशमलव१८ प्रतिशत मत बदर भएको थियो ।   निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,  विश्वासनीय  र मितव्ययी   तुल्याउन त्यस्ता मतदाताको महत्वपूर्ण भूमिका हुन्छ ।   उहाँ भन्नुहुन्छ, “सूसुचित मतदाताले नै निर्वाचन आचारसहितालाई कहाँ, कसले, कसरी  पालना वा उलङ्घन ग¥यो भनी बुझने र मूल्याङ्कन गर्ने काम गर्छ ।”   पछिल्लो समय आयोगले निरन्तर शिक्षाका रुपमा मतदातालाई सूसुचित तुल्याउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनका माध्यमद्वारा देशमा लोकतान्त्रिक संस्था सवल हुने, जनताको आवाज मुखरित हुने र नागरिकले राजनीतिक छनोटको अधिकार पाउने हुनाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रुपमा लिने गरिन्छ । मुलुकको निर्वाचनसँग जोडिएका  सरोकारवालासँगको छलफल,  परामर्श, समीक्षा र अन्तक्र्रियामा प्राप्त सुझाव र पृष्टपोषणका आधारमा आयोगले आसन्न निर्वाचनलाई लक्ष्य गरेर विभिन्न नीति तथा रणनीति बनाएर मतदाता शिक्षा कार्यक्रम तयार गरेको हो । आयोगले यस पटकको निर्वाचनमा केही सुधार परिमार्जनका साथै  केही नवीन मतदाता शिक्षा कार्यक्रम पनि बनाएको छ । निर्वाचनको तयारीका लागि आयोगले तीव्र गतिमा तयारी गरिरेहको छ भने राजनीतिक दल पनि आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा प्रवेश गरिसकेका छन् । मौसमका हिसाबले वातावरण चिसो हुँदै गए पनि चुनावी राजनीतिक सरगर्मीले टोल, वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र समग्रमा देशकै माहोल तातेको छ ।   राजनीतिक सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उलङ्घनका घटना सुनिन थालेका छन् । आयोगले त्यस्ता गतिविधिबारे के कसो भएको हो भन्नेबारेमा स्पष्टिकरण सोध्ने र  जानकारी लिने काम निरन्तररुपमा गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो,“दल वा उम्मेदवारले आचारसंहिता बाहिर गएर गरिएका गतिविधिबारे अनविज्ञता प्रकट गर्न मिल्दैन । आचारसंहिताविपरीत गरिएका गतिविधिलाई रोक्न तत् तत् उम्मेदवार र दल अग्रसर हुनैपर्छ ।”

जाजरकोट : उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिनुभयो ।   चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उहाँको भनाइ छ । आफ्नो मात्र सात वटा चौँरी मरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उहाँले जानकारी दिनुभयो ।    चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी ९मान्नागखिया०मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए ।  केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् । जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताउनुभयो ।   चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्य हुने उहाँको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो ।