मकवानपुर : छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१ राप्ती नदीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको हो । सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । भक्तजनहरूलाई रातभरि जाग्राम बस्नका लागि छठ पूजा व्यवस्थापन समितिले छ सय फिट लामो पण्डाल र पाल टाँगेको समितिका संयोजक सुशील सनुरियाले जानकारी दिनुभयो । हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकाले सुरक्षा चुनौती नहोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरी सिभिल र पोसाकमा बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको समेत उहाँले जानकारी दिनुभयो ।
पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पुर्याउन मत दिन आग्रह गरे । पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले पोखराका ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाए । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने बाचा गरे । पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता गरे । एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताए । काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याए । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताइन् । माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा काम गरेको हेरे विश्वप्रकाशलाई जिताउनुपर्ने बताए । विगतमा केही नेताले गठबन्धनको दुरुपयोग गरेका कारण गठबन्धन टुटफुट भएको उनको भनाइ छ । नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकिकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी, पुर्णदीप सिग्देल, नेपाली काँग्रेस २१ इकाइ सभापती केवल गिरी लगायतले कार्यक्रममा बोलेका थिए ।
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिए । सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा गर्नुपर्ने माग गरे । १० रोपनीमा उखु खेती गर्दै आएका मालेपाटनका नारायणप्रसाद पाण्डेले प्रदेशमा गठबन्धनको सरकार बन्दा मात्रै स्थानीय कृषकको माग सम्बोधन हुन सक्ने बताए । ‘हामीले युवा उम्मेदवार पाएका छौं,’ उनले भने, ‘हामीले जिताएर पठाएपछि हाम्रो माग पक्कै सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’ अर्का कृषक ढोडबेंशीका केदार अधिकारीले त्यस क्षेत्रमा ४ हजारभन्दा बढी रोपनीमा उखु खेती भइरहेको बताए । ‘यति धेरै उखु कृषकको मत अब युवा उम्मेदवारलाई नै जान्छ,’ उनले भने, ‘युवालाई जिताउनु समयको माग पनि हो । जितेर गएपछि प्रदेशकै नेतृत्व गर्न सक्ने खुबी छ ।’ स्थानीयसँगको भेटघाटका क्रममा उम्मेदवार कोइरालाले पाँच वर्ष प्रदेश सांसद हुँदा त्यहाँको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको बताए । ‘पहिलो कार्यकाल पूर्वाधार निर्माणमा जोड दियौं,’ उनले भने, ‘अब जनताको जीवनस्तर उकास्ने गरी कृषि, पशुपालन, आयआर्जन वृद्धिका योजना ल्याउँछौं ।’ आफू निर्वाचित भएपछि त्यस क्षेत्रलाई उखु खेतीको हबका रुपमा विकास गरेर उत्पादन वृद्धि र खुदो बनाउने प्रक्रियालाई थप आधुनिकीकरण गर्ने योजनाको खोजी गर्ने बताए । भेटघाटमा पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसका प्रदेश १(क) का सभापति दुर्गा सुवेदी, नेताहरु बुद्धिमान गुरुङ, वडा सभापति कुलप्रसाद अधिकारी, संविधानसभा सदस्य तेजकुमारी पौडेलगायत सहभागी थिए ।
पर्वत: नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी लोकमार्गको पुर्णता, ग्रामीण सडकहरुको स्तरोन्नती र एक घर एक खानेपानी धारा कार्यक्रमलाई पुर्णता दिन माग गरेका छन् । सुन्तलाको पकेट क्षेत्र समेत रहेको पाङरामा यसको विस्तार र बजारीकरण तथा कोल्ड स्टोरको समेत व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरका हुन् । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु नागरिककै सेवाका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै विगतका पाँच वर्षमा पुरा हुन बाँकी रहेका कामको पुर्णताका लागि पनि आफुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । विगतमा एमालेकै नेतृत्वमा रहेको नगरपालिकाले धेरै बिकासका काम शुरुवात गरेको बताउँदै ती कामहरुलाई पुर्णता दिनपनि पुन एमालेकै सरकार आउनुपर्नेमा उहाँको जोड रहेको छ । स्थानीयले राखेका मागहरु निर्वाचन लगत्तै पुरा गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ । स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न उहाँले मतदातासँग मत दिन आव्हान गर्नुभएको छ । त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले यो मुलुकको समृद्धि र विकास एमालेबिना सम्भव नहुने बताउँदै अरुको फोस्रा आश्वासनको पछि नलाग्न आग्रह गर्नुभयो । निर्वाचन जितेर गैसकेपछि मतदाताले राखेका मागहरु एक एक गरी पुरा गर्ने उहाँको प्रतिवद्धता रहेको थियो । त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम आज जलजला गाउँपालिकाको लस्ती, वारीवेनी, मिलनचोक र बगरफाँट लगायतका स्थानमा सम्पन्न भएको छ । घरदैलो, भेटघाट र कोणसभामा उम्मेदवार कुँवरले राखेका एजेण्डा र योजनावाट स्थानीयहरु प्रभावित बनेको प्रतिकृया दिएका थिए । निर्माणाधिन योजनाहरुको पुर्णताका लागि पनि सवै सिटमा एमालेले जित्नुपर्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी आफुलाई नागरिकको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीको आजको कार्यक्रम मोदी गाउँपालिकाको बाजुङ र देउपुरमा हुने छ ।
स्याङ्जा: प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् । चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’ उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।
पोखरा । नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहितका विषय छन् । संघीयतालाई बलियो बनाउने र भौतिक पूर्वाधारसहित समृद्ध गण्डकी प्रदेशमै प्रतिबद्धतापत्र केन्द्रित रहेको एमालेको दाबी छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्व मन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना छ । प्रदेश नै आवश्यक नभएको आवाज उठिरहेको अवस्थामा यसलाई बलियो बनाएर जनतालाई त्यसको व्यवहारिक रुपमै प्रत्याभूति गराउने नीति र योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए । प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । दवाडीले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनीहरुको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए । अझै ४ प्रतिशत जनताको घरमा बिजुली नपुगेको भन्दै त्यसलाई पूरा गर्ने उनको दाबी छ । विगतमा नेकपा एमालेको सरकार हुँदा सुरु भएका तर पूरा नभएका योजनालाई पूरा गरी नयाँ भौतिक पूर्वाधार निर्माणको योजनालाई अगाडि बढाउने उनले बताए । एमालेका पोलिटब्युरो सदस्य विश्वकर्माले देशलाई समृद्ध बनाएर जनताको जीवनस्तर उकास्न एमालेको बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे । प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै, एमाले सरकार बनेपछि कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्ने जोड दिइने प्रतिबद्धता उल्लेख छ । स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ । प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई नि;शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षातर्फ गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ । यस्तै, प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ । नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले गण्डकी प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएकाले प्रतिवद्धतापत्रमा ती विषयलाई प्राथमिकताका साथ राखिएको बताए । प्रतिबद्धतापत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेको सरकारले गरेको कामहरुलाई पनि समेटिएको छ ।
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उनले भने । बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता जनाए । सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरुमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको भनाई छ । उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट व्यक्त गरे । निर्वाचित भएपछि टेलिभिजनमा कहिलेकाहीँ हेर्नुपर्ने र मेरो जनप्रतिनिधिले के गर्र्दैछ भन्नेसम्मको जानकारी मतदातामा नहुने विडम्बनापूर्ण अवस्थालाई आफूले तोड्ने र जनप्रतिनिधिले कसरी काम गर्नसक्छन् । जनताको बीचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उनले सुनाए । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेको छ भन्ने थाहा नहुने, कहिलेकाँही टेलिभिजनका स्किृनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसदमा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु । जनप्रतिनिधिले यसरी हो काम गर्ने भनेर उदाहारण दिन चाहन्छु,’ उनले भने, ‘मलाई आशा छ तापाइँले मेरो यो चाहना पुरा गर्नुहुनेछ । यहाँले चुनेको प्रतिनिधिले यहाँसंगै रहेर यहाँका अपेक्षा पुरा गर्नेछ ।’ नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताए । आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको बताएका उनले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनताको जननादेश विर्सेर विचमै संसद र संविधान माथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमाले र त्यसको नेतृत्व प्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने समेत सुझाए । उक्त अवसरमा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुरखत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नुपर्नाका कारणका बारेमा बताएका थिए ।
काठमाडौं : गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ । “निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन”, निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भन्नुभयो, “स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।” पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताउनुभयो । “हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन”, हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बीरेन्द्र यादवले भन्नुभयो, “पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन् ।” कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका(५ स्युनाका रजबहादुर शाहीले बताउनुभयो । कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ ।
काठमाडौं : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ ।

