पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   मालेपाटन खेलमैदानमा आज...

पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।    साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।    २०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए ।   पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित   पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् ।    ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।    आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।   

  पोखरा । पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार  को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका  उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि भण्डारी ले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापनागरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए ।   कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष  रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत ताथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी  गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन ।  कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम  संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए ।  कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए ।  

    पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं  २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो हिसाबले अब एमाले पार्टीले जनताको परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिवद्धता र हामीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।’ पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको विश्वास व्यक्त गरिन् । आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।  

सुर्खेट :  ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।    यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।    दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।   सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भन्नुभयो, “गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”    मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताउनुभयो । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भन्नुभयो ।   दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।    आचार्यले भन्नुभयो, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उहाँले बताउनुभयो ।    सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।    मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ ।   कृत्रिम मालामा उपभोक्ताको आकर्षण       पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।    प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।   सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।    चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् ।   सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताउनुभयो । “चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।” वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । रु ५० देखि रु। एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताउनुभयो । “पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ”, उहाँले भन्नुभयो, “पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।” कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताउनुभयो ।   आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उहाँले बताउनुभयो । उहाँले रु ५० देखि रु एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताउनुभयो । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उहाँ बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उहाँको भनाइ छ ।    अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताउनुभयो । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताउनुभयो । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् ।    हरेक वर्ष दसैँ, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उहाँहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उहाँहरुको छ ।    फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउनुहुन्छ, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ । 

पोखरा:   पोखरा महानगरपालिका ६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।    आज (सोमबार) नेपालका क्याप्टेन विजय लामाले बिजीबी कोरियन रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।    २०४५ सालबाट पोखराको लेकसाइडमा बिजिबी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ज्याक तामाङले कोरियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए ।    उनका अनुसार अहिले बिम बिम रेष्टुरेन्ट क्याफे प्रा.लिमा परिणत भइ बिजीबी समुहले सञ्चालन गर्दै आएको छ । बिजीबी कोरियन रेष्टुरेन्टको अर्काे शाखा काठमाण्डौंको ठमेलमा बिस्तार गरिने तयारी भइरहेको सञ्चालक तामाङले बताए ।    रेष्टुरेन्टमा तयार हुने कोरियन परिकार तथा आवश्यक पर्ने मलासजन्य समाग्रीहरु सबै कोरियाबाट नै आयात गरिने उनले बताए । साथै खानाको लागि आवश्यक पर्ने भाँडाकुँडा तथा टेबल कुर्चीको व्यवस्था कोरियाको शैलीमा नै तयार गरिएको छ ।   आजबाट औपचारिक रुपमा सञ्चालन गरिएपछि विगत ३ महिनादेखि रेष्टुरेन्ट सञ्चालन रहेको थियो ।   उक्त रेष्टुरेन्टमा ४५ प्रकारका कोरियन खाना तयार हुनेछ भने रेष्टुरेन्ट बिहान ११ः३० देखि बेलुका १० बजेसम्म खुल्ने बताइएको छ ।    

पोखरा:   क्याप्टेन विजय लामाले नेपाल सरकारले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका छन् ।  सोमबार पोखराको लेकसाइडमा बिजिबी कोरियन रेष्टुरेन्टको उद्घाटन गर्दै उनले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका हुन् ।    पोखरामा आयोजना भएको नवौं खेलकदु प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटनालाई लिएर व्यवसाय नै बन्द गराउनु व्यवासयीको लागि उचित नभएको क्याप्टेन लामाले बताए ।  ‘दुर्घटना कहिले हुन्छ कहाँ हुन्छ कसैलाई थाहा छैन् । यसलाई रोक्न न सरकारले सक्छ न व्यवसायीले नै, उनले भने, ‘त्यसैले कुनै विषयलाई कारण देखाएर त्यो व्यवसाय बन्द उचित होइन ।’   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाडिङ खेलको क्रममा त्रिभुवन आर्मी क्लबका निसिम थापाको ज्यान गएको थियो । उनले खेलाडी प्रति समवेदना प्रकट गर्दै राष्ट्रले एक नौजवान खेलाडी गुमाएकाले अब यस्तो दुर्घटना हुन नदिन सबैले यसमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।   उनले पोखरा पर्यटनको हिसाबमा टप ५ मा पर्ने बताउदै यसको विकास र प्रचारप्रसारमा स्थानीय तहदेखि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे । ‘पोखरा विश्वको टप ५ मा छ । पोखराको पर्यटकको रोजाई मध्येको एक, जहाँ हरियालीदेखि पर्यटकको रोजाईका ठाउँहरु पोखरा र आसपासमै छन् त्यसैले पोखरा टप ५ मा पछ ।’ क्याप्टेन लामाले भने ।   लामाले पोखराको पर्यटकको रोजाईमा हुँदापनि उचित विकासको पूर्वाधार निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘देशलाई आर्थिक रुपमा चलायन बनाउन पर्यटन क्षेत्र हो तर यसमा राज्यले उचित ध्यान दिन सकेन । पर्यटकलाई पोखरासँगै मनाङ, मुस्ताङ लगायतका जिल्लामा जोड्न पूर्वाधारको अभाव भएको छ । यसमा ध्यान कहिले पुग्ला? सडकको अवस्था कै कारण पर्यटक विचल्ली हुनु परेको अवस्थामा छ ।’  

काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।    महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो ।    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।   भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।   विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।   विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।      तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।   चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय हुनुभएको थियो । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो  । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।   महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।   नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

पोखरा : नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरु गरेका छन् ।    अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू प्रकृतिका साथीहरू काठमाडौँ, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५ ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे । राज गोमन एकमात्र सर्प हो जसले फुल पार्दा गुँडसमेत बनाउने गर्छ ।    सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताउनुभयो । “नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ”, आचार्यले भन्नुभयो, कहिलेकाहीँ आफ्नै प्रजातिको सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।”    “नेपालको कानूनले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम भाइल प्रयोग गर्नु राम्रो हुन्छ तर त्यस्तो स्नेक एन्टिभेनम नहुँदा पोलिभलेन्ट लगाउने गरिन्छ”, आचार्यले भन्नुभयो, “यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।” नेपालमा पोलिभलेन्ट नै प्रयोग हुँदै आएको र पोलिभलेन्ट करेत, कमन कोब्रा र दुई भाइपर सर्प प्रजातिको विष सम्मिश्रण गरी तयार पारिने जानकरी सो अवसरमा दिइएको थियो ।    सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिनुभयो । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्याङ्क सो अवसरमा विज्ञहरूले दिएका छन् ।    “गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्छ, बिरामीले आँखा उघार्न सक्दैन, मुख बन्द हुन्छ, मुखबाट जिब्रोबाहिर निकाल्न सक्दैन, पानी निल्न असजिलो हुन्छ, हातखुट्टा तथा मांसपेशी  चल्न कठिन, मुखबाट ¥याल छाड्ने हुन्छ”, सर्पसम्बन्धी अनुसन्धान गर्दै आउनुभएका अभिषेक सापकोटाले भन्नुभयो, “विषलु सर्पले टोक्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पु¥याउनु पर्छ ।”    नेपालकै एक संस्थाको अध्ययनअनुसार सर्पको टोकाइबाट अधिकांश महिला र बालबालिकाको मृत्यु हुने गरेको छ । तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्याङ्क उक्त अध्ययनबाट खुल्न आएको छ । सर्पले अधिकांश मानिसमा घुँडाभन्दा तल्लो भागमा टोक्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।    विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गरेको र यीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क उक्त अवसरमा दिइएको थियो । नेपालमा पाइने २२ प्रजाति विषालु छन्, तीमध्ये गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर स्नेक (कर्कट नाग) धेरै विषालु मानिन्छ ।    छलफल कार्यक्रममा जिल्ला वन कार्यालय, प्रदेश कार्यालय तथा वन मन्त्रालयका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

ढोरपाटन : बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।    अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ । ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।   यो सडकको २०६३ सालमा ट्र्याक खुलेको थियो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले रु एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सवइञ्जिनीयर विजय शर्माले जानकारी दिनुभयो ।    निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उहाँको भनाइ छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इञ्जिनीयर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताउनुहुन्छ ।      “सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्ररुपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले रु एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।”   उहाँले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताउनुभयो । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उहाँको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताउनुभयो ।   “सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रुट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।   यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ । स्तरोन्नति यात्रा र सामान ढुवानी गर्न सहज हुने बताउनुहुन्छ ।   “यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छभन्दा निकै खुसी लागेको छ, सडक भरी खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो”, थापाले भन्नुभयो, “अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।”   थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना सञ्चालन हुने अपेक्षा गर्नुभयो । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको बताउनुभयो । अब यो समस्याको समाधान हुने थापाको भनाइ छ । “यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन”, थापाले भन्नुभयो ।