पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

काठमाडौं : आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ ।    मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।       आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।   आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ ।       आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।

झापा : झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो ।   हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।    त्यस्तै सिटी सफारी दुर्घटनामा दमक–५ का रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्र्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ 

काठमाडौं : काठमाडौँको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ ।    बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो ।   घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

चितवन : चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।  केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो ।    “सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उहाँले भन्नुभयो, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान ९वार० र सावा धान लगाएका छन् ।    चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन् । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ । यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ ।       चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो ।   आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उहाँले बताउनुभयो ।    चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ । चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।   पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताउनुभयो । उहाँले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा हुनुहुन्छ ।    भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताउनुभयो । उहाँले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाउनुभयो ।    “गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ”, उहाँले भन्नुभयो ।

पर्वत : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् ।    वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।          चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् ।      चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिनुभयो । उहाँ अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहनुभएको छ । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेँसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको बताउनुभयो । उक्त क्षेत्रमा विद्यालयसमेत बन्द भइसकेका छन् भने कर्मचारीसमेत फाट्टफुट्ट बस्ने गरेका छन् ।           “धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, मुस्ताङमा अध्ययपनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, “अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।      यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले सुनाउनुभयो ।   उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाइन्छ । 

बलेवा : बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन ।    पछिल्लो  तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ । मानव विकासका सूचाङ्क राम्रो देखिए पनि गण्डकी प्रदेशमै यो समस्या छ । आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रियरुपमा एक सय ३७ आमाको मृत्यु भएकोमा सोही वर्ष गण्डकी प्रदेशमा नौ जनाको मात्र मृत्यु भएको थियो । आव २०७७/०७८ मा पुग्दा देशभरको सङ्ख्या घटेर एक सय आठ मा झ¥यो । गण्डकीमा १३ पुग्यो । गत आव भने देशभरको सङ्ख्या घटेर ८४ मा पुग्दा गण्डकीको मात्रै २१ पुगेको हो ।   यो अवस्थालाई आमा सुरक्षाको दृष्टिले गम्भीररुपमा लिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । आमा र शिशु मृत्युदर घटाउन सचेतनाका कार्यक्रममा लगानी बढाउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ । “हाम्रो समाजमा आमा र शिशुको सुरक्षाको अवस्था अझै पनि जटिल छ, लगातारको प्रयासले संस्थागत प्रसूति भने बढेको छ”, उहाँले भन्नुभयो, “समयमा अस्पताल लैजाने संयन्त्र विकास गर्दा न्यूनीकरण गर्न सकिन्छ ।” हेलिकप्टरको उद्धारलाई पनि संस्थागत गरेर लैजानुपर्ने उहाँले बताउनुभयो । नियमित गर्भ परीक्षण शतप्रतिशतमा लैजान सकेमा मृत्युदर घट्ने उहाँको तर्क छ ।    गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार गण्डकीमा सुरक्षित मातृत्वका सूचकाङ्क कमजोर छ । उहाँले आकस्मिक हवाई उद्धार सेवालाई संस्थागत गर्न नसक्दा पनि मातृमृत्यु बढेको बताउनुभयो । “विस्तृत स्थलगत अनुगमन गर्न सकिएको छैन, कतिपय घटना पत्रपत्रिकामा आएपछि मात्रै थाहा भएका छन्”, उहाँले भन्नुभयो, “तत्काल प्रजनन स्वास्थ्य टोली गठन गरी परिचालन गरेर यस्ता समस्या व्यवस्थापनमा ध्यान दिन्छौँ ।” पालिकाले सही तथ्याङ्कमा साथ दिनुपर्ने र मन्त्रालयसम्म सबैको चासो बढाउनुपर्ने उहाँले सुझाउनुभयो ।   गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिनसम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार समुदायमा हुने प्रसूतिपछि आउने समस्याले पनि मातृ मृत्युदर बढी देखिन्छ । गत वर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए । आठ  अस्पतालमा सुत्केरी भएका हुन् । समुदायमा सुत्केरी भएकामध्ये छ जनाले आत्महत्या गरेको देखिएको उहाँले बताउनुभयो ।   “स्वास्थ्यमा समस्या आएमा, घरपरिवारबाट मानसिक समस्या थपिएमा वा अन्य कारणले मृत्युवरण गर्छन्”, उहाँले भन्नुभयो, “संस्थागत सुत्केरी गराउने, सुत्केरीअघि सुरक्षितरुपमा स्वास्थ्य संस्था नजिकै बस्न पाउने र उचित स्याहार पाउने अवस्था भएमा मृत्युदर घटाउन सकिन्छ ।” असुरक्षित गर्भपतन घटाउन सकेमा आमाको मृत्युदर घट्ने उहाँले बताउनुभयो । जथाभावी औषधि सेवनपछि जटिल भएर अस्पतालमा बिरामी आउने पद्धतिले मृत्यु बढाएको हो । गर्भपतनपछि गर्भ निरोधमा ध्यान नदिनु, स्वास्थ्य सेवा प्रदायकको सुपरिवेक्षण बिना मेडिकल एवर्सन गर्न रोक्नु ठूलो चुनौती भएको उहाँले बताउनुभयो ।   आमा सुरक्षाका लागि सबै निजी अस्पतालको तथ्याङ्कसमेत अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । “निजी अस्पताललाई डाटा रिपोर्टसम्बन्धी तालिम दिएर सही तथ्याङ्क उतार्न पहल गर्दा आमा सुरक्षाको सही तथ्याङ्क आउँछ”, उहाँले भन्नुभयोे, “अन्यत्र उपचारपछि केही नलागेर सरकारी अस्पताल आएर मृत्युवरण गर्ने क्रम पनि घटाउनुपर्ने बाध्यता छ ।” त्यसका लागि जनचेतना विकास गर्ने, स्थानीय तहका स्वास्थ्य शाखा जिम्मेवार बन्ने र एकद्वार प्रणाली बनाउनुपर्ने उहाँले सुझाउनुभयो ।

बागलुङ : शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो ।    चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो ।    चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक÷गायिकाको रोचक सवालजवाफले दर्शकदीर्घाबाट वाहीवाही पायो । कलाकारले पञ्चकोटको महत्व र प्राकृतिक महिमालाई पनि गीतमा उतारे । रोधीघरका सञ्चालक राजन क्षेत्रीले पञ्चकोटलाई चिनाउन प्रत्यक्ष दोहोरी राखिएको बताउनुभयो ।   “आफू जन्मेको ठाउँ, आफ्नो मातृभूमिको प्रचार होस्, पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर दोहोरीको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यहाँ छायाङ्कन गरिएको कार्यक्रम युट्युबलगायतका माध्यमबाट पनि प्रसारण हुन्छ ।”   सञ्चालक क्षेत्रीले युट्युबलाई सामग्री मात्र बनाउन नभई पञ्चकोटको प्रवद्र्धन गर्नु आफूहरुको मुख्य ध्येय रहेको उल्लेख गर्नुभयो । हालै अमेरिकाबाट आउनुभएका क्षेत्रीको घर पनि पञ्चकोट नजिकैको सिम गाउँमा पर्छ ।   वाद्यवादकसहित झण्डै ५० जना कलाकारलाई रोधीघरले पञ्चकोटमा जमघट गराएको थियो । बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले कलाका माध्यमबाट पञ्चकोटको प्रवद्र्धन गर्न सो कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।   “धेरै कलाकार एकसाथ आएर यहाँ प्रस्तुति दिँदा राम्रो सन्देश प्रवाह भएको छ, लोकदोहारी हाम्रो मौलिक संस्कृति पनि भएकाले यसबाट पञ्चकोटको चिनारी बढाउनमा पनि अवश्य टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।   चर्चित कलाकारको दोहोरी सुन्न आतुर स्रोता/दर्शकको बिहानैदेखि पञ्चकोटमा चहलपहल थियो । बिदाको दिन परेकाले बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकको पनि उस्तै चाप देखिन्थ्यो । पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्यका रुपमा दरिँदै आएको छ ।   मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक पञ्चकोट पुग्छन् । देशका विभिन्न भागबाट धर्मवलम्बीसहित पर्यटक आउने गरेको पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताउनुभयो ।    पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो एक सय ३५ फिटको विश्वशान्ति कलश र पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ ।    कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गर्नुभएको थियो । हालसम्म पञ्चकोटमा रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ ।    धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ ।    पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायतका संरचना बनीसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठ, मन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । पञ्चकोट नेपालका एक सय एक गन्तव्यमध्येमा पर्छ । बागलुङ बजारदेखि आठ किमिमा पञ्चकोट पर्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ । 

काठमाडौं  : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।   उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।    पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।   यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।       मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्यरुपमा छठ हुन थालेको छ ।   छठका लागि आइबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि बर्तालुमात्र राजधानीका छठ घाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।   सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।      सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

तनहुँ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् ।    नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिनुभयो ।    आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उहाँले बताउनुभयो ।    साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उहाँले भन्नुभयो, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।”   क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् ।    सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँुडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिनुभयो ।    काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने  गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् ।     बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताउनुभयो ।    नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिनुभयो ।    बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उहाँले बताउनुभयो ।