काठमाडौंः नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो । चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सङ्र्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।” बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै सङ्घर्षमा उत्रनुको विकल्प छैन ।” चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा यसअघि नै ध्यानाकर्षण गराएको थियो । चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहीत हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।” कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।
पोखरा: आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् । पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहेर काम गर्ने बताए । उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउनेसमेत प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’ यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए । उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे । ‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’ उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए । ‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।
ढोरपाटनः पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झण्डै डेढदशक अगाडिदेखि जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म प्रगति शून्य प्रायः छ । यो आयोजना चुनावी एजेण्डा मात्रै बनेको छ । आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेकाले पनि आफ्नो घोषणा पत्रमा यो आयोजनालाई मुख्य प्राथमिकता दिएका छन् । तर मतदाता विश्वस्त हुन भने सकेका छैनन् । पटक–पटक जनतालाई ढाँटेर चुनाव जित्ने नेताले यो योजना पूरा नगर्ने स्थानीयवासी बताउँछन् । मुलुककै नमुना आयोजनाअन्तर्गत रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरु गर्छौँ भनेको दशक बित्दा पनि केही प्रगति हुन नसकेको स्थानीयवासी मीनबहादुर कुँवरले बताउनुभयो । उहाँले हरेक चुनावका बेला उम्मेदवारले आफ्नो कार्यकालमा यो योजनाको काम अगाडि बढाउने आश्वासन दिए पनि अहिलेसम्म जनताले अपेक्षा गरेअनुसारको काम नभएको बताउनुभयो । कुँवरले चुनावका बेला जनता झुक्याउने र भोट आफ्नो पक्षमा पार्न नेताहरुले अनेक भ्रम छर्ने गरेको भन्दै आफूहरुलाई अहिले विश्वास लाग्न छोडेको बताउनुभयो । “यो उत्तर गङ्गा जलाशययुक्त आयोजना बनाउने भनेको वषौं भयो, अहिलेसम्म कहाँ के भएको छ, सर्वेक्षण गर्ने काम के भयो, हुने नहुने केही अत्तोपत्तो छैन, नेताहरुले उही चुनाव आउँदा हामी बनाउँछौँ भनेर आउँछन्”, कुँवरले भन्नुभयो, “उहाँहरुले भन्दै आएको १०/१२ वर्ष भइसक्यो तर प्रगति केही छैन, उही चुनावमा जनताबाट भोट फकाउने माध्यम बन्यो, काम हुन सकेन, अब त विश्वास लाग्नै छाड्यो, अहिले बनाउँछौँ भन्छन्, फेरि अर्को चुनावमा पनि त्यही कुरा भन्छन् ।” स्थानीय पुनराम विकले नेताहरुले अहिले पनि गाउँमा चुनावी कार्यक्रम गर्दा जलाशययुक्त जलविद्युत् बनाउने भाषण गर्ने गरेको बताउनुभयो । उहाँले बुर्तिबाङदेखि ढोरपाटनसम्म पुग्ने सडक कालोपत्र गर्न नसक्ने नेताले जलाशययुक्त जलविद्युत्का बारेमा भाषण गरेर जनतालाई झुक्याउनु बाहेक अरु केही नभएको बताउनुभयो । सुरु–सुरुमा विश्वास लागे पनि अहिले जनता झुक्याउने खेल भएको उहाँको भनाइ छ । “ढोरपाटन सिकार आरक्ष पुग्ने सडक हेर्नुस् त कस्तो अवस्था छ, त्यो सडक कालोपत्र गर्न नसक्ने नेताले त्यत्रो पहाड खोलेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्छौँ भन्छन्, पहिले–पहिले त गर्छन् होला, भन्ने लाग्थ्यो तर अहिले विश्वास लाग्न छाड्यो”, उहाँले भन्नुभयो, “चुनाव आयो की नेताको मुखमा यही उत्तरगङ्गा झुण्डिन्छ, यो भाषण सुन्दा सुन्दा हामी पनि वाक्क भइसक्यौँ, उनीहरुले भोट माग्न जनतालाई झुक्याउने खेलबाहेक केही हुनसक्दैन ।” विकले ढोरपाटन पुग्ने पर्यटकले सडकका कारण वषौंदेखि सास्ती खेप्दै आएको भन्दै पहिले यो सडक बनाएपछि मात्रै जलाशययुक्त जलविद्युत्को काम हुनसक्ने बताउनुभयो । उहाँले सडक साँघुरो र अप्ठ्यारो हुँदा जलविद्युत्का लागि चाहिने आवश्यक उपकरण पु¥याउन नसकिने बताउनुभयो । विक भन्नुहुन्छ, “ढोरपाटनमा दैनिक पर्यटक जान्छन्, सडकका कारण उनीहरुले निकै सास्ती खेप्नु परेको छ, नेताहरुले यो सडक कालोपत्र त गर्न सकेका छैनन् भने हाइड्रोपावरको कुरा गर्छन्, हाइड्रोपावर बन्न सबैभन्दा पहिले यो सडक बन्नुपर्छ, यो सडक नबनेसम्म त्यहाँ आवश्यक उपकरण कसरी पु¥याउन सकिन्छ र काम हुन्छ, जनतालाई झुक्याउने पनि सीमा हुन्छ नि, यो सडकको हालत यस्तो छ, हाइड्रोपावर बनाउँछौँ भन्छन् ।” ढोरपाटन–६ का खिमबहादुर घर्तीले अहिले निर्वाचनमा उम्मेदवार बनेका यस क्षेत्रका सबै उम्मेदवारले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनालाई मुख्य एजेण्डा बनाएको बताउनुभयो । उहाँले आफूहरुले अहिलेसम्म जिताएर पठाएका प्रतिनिधिले संसद्मा पटक–पटक आवाज उठाए पनि कार्यान्वयन हुन नसकेको सुनाउनुभयो । उम्मेदवारले महत्वकांक्षी एजेण्डा बनाउँदा काम गर्न नसकेको उहाँको भनाइ छ । “उत्तर गङ्गाका बारेमा धेरै पहिलेदेखि चर्चा हुँदै आएको हो, अहिले पनि चर्चा हुने गरेको छ, सर्वेक्षणको काम सुरु भयो भन्ने त सुनियो, तर कहाँ कति भयो भन्ने थाहा पाइएन, नेताहरुले भनेको बेला काम गरेको भए अहिलेसम्म त जनताले यहाँ उत्पादन भएको विद्युत् प्रयोग गर्न पाउँथे”, उहाँले भन्नुभयो, “अहिले त नेताको कुरा पत्याउनै छाडियो, चुनावका बेला यो गर्छौँ, त्यो गर्छौँ, भन्छन्, तर चुनाव जितेपछि कहाँ के गर्छन् थाहा हुँदैन ।” ढोरपाटन–९ स्थित उत्तरगङ्गाको पानी निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पुमा खसाल्ने भनिएको छ । आयोजनालाई २०७६ असार १७ गते विद्युत् विकास विभागले आठ सय २८ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन अनुमति पत्र दिइसकेको छ ।
पोखराः जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए । जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन । पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले भने,‘यो प्रतिभापुर्ण क्षेत्र हो । उहाँले गरेका योगदान कृतिहरुको जस्तो काठमाडौंमा लक्ष्मी प्रसाद देवकोटाको घरलाई नै किनेर राष्ट्रिय सांस्कृतिक घर बनाइयो । त्यसतै यो पनि बनाइयोस् । त्यसका लागि सरकारले प्रयत्न गरोस् । मैले त्यहि एउटा इच्छा जाहेर गरिराखेको छु ।’ यहाँमात्रै नभई पर्यटकीय क्षेत्रसमेत हेरिदिनुपर्ने उनी बताउँछन् । गठबन्धनबाट कास्की क्षेत्र नं.२(२) का प्रत्यक्ष उम्मेदवार थापाले जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संरक्षण र प्रबद्र्धनमा दत्तचित्त भएर लागिपर्ने बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेशको संरचना निमार्ण गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका साथै प्रदेशमा रहेका कला र कलाकारिताको संरक्षणमा समेत व्यतित गर्ने बताए । उनले धर्मराज सावित्रीको इतिहास कसैले पनि भुल्न नहुने र यस्का लागि प्रदेश सरकारको जिम्मेवारी पनि ठूलो रहेको सुनाए । उनले आफुले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
पोखराः कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिईन् । निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतसँगै झण्डै साढे एक किलोमिटर बाटो ढलान समेत गरिएको बताउँदै उनले भनिन्–‘बांकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस ।’ हिमश्रृखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ । भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ । नेकपा एमाले वडा कमिटि २० का अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भिमप्रसाद बास्तोला, मनवुजा विश्वकर्मा, महानगर सचिव जिवन आचार्य, स्थानीय सरोज गुरुङ, भिम गुरुङ, शंकर गौतम, दुर्गाबहादुर गुरुङ लगायतले निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिंदै कुनै पनि लोभलालचमा नलागि मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।
काठमाडौंः प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी उहाँले अर्का नेता विपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । नेता सिंह देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले विपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताउनुभयो । विसं २०२५ मा विपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा विपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध नेता सिंह सक्रिय रहनुभयो । तत्कालीन पञ्चायती सरकारले विपीसँगै उहाँले मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । विपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो । नेता सिंहलाई विसं २०१७ पुस १ गतेको ‘कू’पछि विसं २०२५ सम्म विपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि विपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरूलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई विपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले चाक्सीबारीमा उहाँका विषयमा लेखिएका पुस्तक विमोचन गर्ने कार्यक्रम राखेको छ ।
काठमाडौंः पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए। एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। 'निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो', एसएसपी बोहोराले भने, 'त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो। उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।' अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए। अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पत्रकार अधिकारी उक्त होटलको कोठा नम्बर ५०२ मा पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ। कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका 'म्बोजी, नोराु'', जासुसीको जालो र 'चक्रव्यूहमा चन्द्रसूर्य' किताब पनि प्रकाशित छन्।
कास्की: आम निर्वाचन २०७९ का लागि कास्कीमा ७ जना मतदातालाईमात्रै छुट्टै अस्थायी एक मतदान केन्द्र स्थापना गरिने भएको छ । कास्की कारागारमा कैद सजाय भोगिरहेका ७ जना कैदीबन्दीलाई कारागार परिसरमै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्रनाथ न्यौपानेले कास्कीको दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिने बताए । उनका अनुसार कास्की कारागारसँगै जिल्ला समन्यव समितिमासमेत अस्थायी मतदान केन्द्र स्थापना हुनेछ । ‘आसन्न निर्वाचनका लागि कास्की जिल्लामा दुईवटा मतदान केन्द्र तोकिएको छ । जसमध्ये एउटा कास्की कारागार कार्यालय रहेको छ भने अर्काे जिल्ला समन्वय समितिको कार्यालय रहेको छ, प्रवक्ता न्यौपानेले सुनगाभा न्यूजसँग भने, ‘कैदीबन्दीहरुको लागि कारागारमै र मतदानमा नखटिएका बाँकी कर्मचारीले जिससमा मतदान गर्नुहुन्छ ।’ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कास्की कारागारका ४ जना पुरुष र ३ जना महिला कैदीबन्दीले मतदान गर्ने कास्की कारागार प्रमुख भीमराज कोइरालाले बताए । कोइरालाका अनुसार उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउनेछन् । ‘कैदीबन्दीले केन्द्रको लागि समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन्, उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय कास्कीले कैदीबन्दीको आवश्यक कागजात मागेपछि पठाएका थियौ, जसमध्ये मतदाता नामावलीमा नाम रहेका ७ जनाले मात्रै मतदान गर्न पाउने भएका छन् ।’ कोइरालाका अनुसार मतदान गर्न पाउनेहरुमा लमजुङका नवराज तामाङ, कास्कीका प्रकाश गुरुङ, गोरखाका छ्योतक घ्यान्चोक लामा, मुस्ताङका सुक बहादुर विक, कास्कीकी भिम कुमारी विक र मनु परियार, स्याङ्जाकी सुनिता थापा रहेकी छिन् । हाल कास्की कारागारमा रहेका ८ सय ४८ कैदीबन्दी मध्ये ७ जनाको मात्रै मतदाता परिचयपत्र रहेको छ ।
पोखरा : ५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र जनतालाई दिनका लागि जनप्रतिनिधि बनेका छन्, विन्दुकुमार थापा । २०७४ मा निर्वाचित भएपछि थापाले वर्षेनी १५ लाख हाराहारी सेवा सुविधा र तलव भत्ताको रकम जनतालाई दिए । आगामी कार्यकालको चुनावी संघारमा रहेका उनले, चुनाव जितेपछि पुनः सेवा सुविधा जनताकै लागि खर्चिने घोषणा गरेका छन् । ‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु,’ उनले भने, ‘सदाझैं सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ ।’ थापाले आफ्नो ५ वर्षे कार्यकालको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशको उत्पादन र बजारीकरणमा जोड दिएका छन् । प्रदेशलाई समृद्ध बनाउन उर्जा, कृषि, उद्यमशिलता, पर्यटन र पुर्वाधारमा उनको फोकस छ । ‘कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने सडक प्रदेशको लाइफलाइन हो । यसलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा पोखरालाई जोड्न पहल गर्नेछु,’ उनले भने, ‘गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु ।’ थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणालाई अघि सारेका छन् । उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यहरुको प्रबद्र्धन गर्ने योजना सुनाए । उनले गण्डकीमा बाह्य लगानी भित्र्याउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने अनुकुल कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए ।

