पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराः   गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।  उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।  बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ ।  उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।  कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए ।  थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए ।  यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित  बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।  

  पोखरा:   विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले पोखरामा आयोजना गरेको आसन्न निर्वाचनलक्षित संसदीय चुनावको भण्डाफोर तथा सडक सभा कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ । पोखरामा आज (बुधबार) भएको सडक सभामा लेखनाथस्थित बेलचौतारा लगायत स्थानका बालबालिकाहरुलाई र्यालीमा सहभागी गराइएको थियो । विहान १० बजे घरदेखि निस्केका बालबालिकाहरुलाई कार्यक्रम अवधिभर राखिएको थियो ।  उनीहरुलाई सो कार्यक्रमको नाचगानमासमेत प्रयोग गरिएको थियो । कुनैपनि पार्टीले बालबालिकालाई प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।  वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ । आवश्यकता अनुसार ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरि उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ । यसैगरी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने बताएका छन् । उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच पु¥याई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ ।  हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् । ‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा उल्लेख छ ।  बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ । पाँच दलिय गठबन्धन तर्फ कास्की २ बाट श्रीनाथ बराल, सोही क्षेत्रको प्रदेश सभा (क) बाट विश्वप्रकाश लामिछाने र (ख) बाट विन्कुकुमार थापा उम्मेदवार छन् । 

  पोखरा:  नेपाल बैंक लिमिटेड ८६ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट शुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ जना कर्मचारीको सहभागिता रहेको थियो । प्रभातफेरी पश्चात कार्यक्रममा बोल्दै गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनहरुमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन। उप–प्रबन्धक धु्रब पौडेलले बैंकले बार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीहरुलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे। बैंकका नेपालभर २२६ शाखा, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ ।

भोजपुर:   भोजपुरको पौवा दुम्वानमा गाउँपालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।   जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको हाे ।   बम विस्फोट हुँदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएकाे बताइएकाे छ ।  उनको खुट्टामा चोट लागेको छ ।​ यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।   साे सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी थियाे । 

पोखरा:  राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा सहभागी दलहरु सुविधाभोगी बन्न पुग्दा त्यसको दुरुपयोग हुने गरेको प्रति गिरीले चिन्ता व्यक्त गरे । ‘तीन तहको सरकार हुँदा नागरिक दोहोरो तेहेरो करको मारमा परिरहेका छन् । त्यसैमाथि कर तिर्नका लागि नागरिकलाई अझै बढि सास्ती छ ।’ गिरीले भने, ‘यातायात कार्यालयमा कर तिर्नकै लागि नागरिकले घुस खुवाउनु परेको स्थिती छ । साँच्चै यस्ता दृश्यहरुले नेपाललाई साह्रै कुरुप बनाईरहेका छन् ।’ गिरीले जनप्रतिनिधिहरुको सुविधाभोगी आचरणले यस्तो समस्या आईरहेको बताउँदै नागरिकको काम गर्दा सुविधा खोज्न नहुनेमा जोड दिए । उनले जनताको सेवा गर्नका लागि भन्दै राजनीति गर्नेहरुले त्यसलाई पैसा कमाउने माध्यम बनाएको कारण यस्तो समस्याले निरन्तरता पाएको बताए । ‘राजनीति कुनै पनि हिसाबले पेशा हुन सक्दैन । र, आर्थिक लाभ लिनका लागि गरिने राजनीतिले देशको विकास गर्दैन ।’ गिरीले भने, ‘हाम्रो पार्टी राप्रपाले यही विषयलाई आफ्नो सबैभन्दा ठुलो मुद्दा बनाएर अहिले चुनावमा होमिएको छ । हामी भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मान्छौँ । त्यसैले यो देशको साँच्चिकै विकास गर्ने हो भने नागरिकले भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने पार्टी राप्रपालाई नै मत दिएर जिताउनुपर्छ।’ गिरीले राप्रपालाई जिताउँदा प्रत्येक नागरिकका लागि फाइदैफाइदा भएकोले यो पटक मत परिवर्तन गरेर जनताले ठुला पार्टीलाई सबक सिकाउन जरुरी रहेको बताए । गिरीले आफ्नो चुनावी एजेन्डामा पनि दोहोरो कर र नागरिकलाई परेको आर्थिक भारको विषयमा सम्बोधन गरेको बताउँदै निर्वाचित भएसँगै यो विषयलाई सदनमा चर्को रुपमा उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिनका लागि पनि सास्ती ब्यहोर्नुपर्ने तितो यथार्थ रहेको उल्लेख गर्दै गिरीले त्यसका लागि पनि आफूले नीतिगत रुपमा काम गरि तत्काल सहजताका लागि काम गरेर देखाउने वचन दिएका छ्न । ‘सरकारी सेवा सुविधा बिना झन्झट, भनसुन र आर्थिक लेनदेन बिना नै सहज रुपमा हुने गरि व्यवस्था मिलाउन मैले संसदमार्फत भुमिका खेल्नेछु।’ गिरीले भने, ‘मोबाईल एपबाटै घरमै बसिबसि सरकारी सेवा सुविधा लिने र सो बापतको दस्तुर बुझाउने व्यवस्था मिलाउनका लागि मैले विशेष रुपमा काम गर्नेछु ।’ साथै गिरीले विज्ञ समूहरुको निर्माण गरि यस्ता विषयको तत्काल सम्बोधन गर्न फरक निकाय नै बनाउन आफूले प्रस्ताव गर्ने बताए । राप्रपाका उम्मेदवार गिरी यतिबेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलोको क्रममा राप्रपा र उम्मेदवार गिरीको पक्षमा ठुलो जनसमर्थन मिलेको छ । गिरीले आफू यो पटक कुनै पनि हालतमा जनताबाट निर्वाचित भएर संसदमा पुग्ने कुरामा ढुक्क रहेको जानकारी दिएका छन् । 

  पोखरा: नेत्रहिन युवा संघ नेपाल कास्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै सरोकारवाला निकायलाई सहजिकरण गरिदिन आग्रह गरेको छ । संघले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई अपाङ्गता मैत्री बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तिहरुसँग सांकेतिक भाषमा सञ्चार गर्न सक्ने वाताबरण सिर्जना गरिदिन सम्वन्धित सरोकारवालासंग अनुरोध गरेको हो । अपाङ्गता भएका व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरूलाई सहजिकरण गरिदिन संघले आग्रह गरेको छ। ‘नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रीय महासन्धीको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनितिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ तर पनि अपाङ्गता भएका व्यक्तिहरु विभिन्न भौतिक सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो वालिग मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम नै छ। तसर्थ, कोहि पनि अपाङ्गता भएक व्यक्तिहरु आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धिर सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसर्ता लिइदिनहुन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बुधबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।

पोखरा:   ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आचार्यले स्पष्ट पार्नुभएको छ ।   ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, प्रमुख आचार्यले भन्नुभयो, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन, स्वाभाविक रूपमा हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ, स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शङ्का गर्नुभएको छ, यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ, तर हामीले ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ निर्णय भैनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा भ्रम छर्ने काम नगर्न उहाँले सम्बन्धित सबैलाई आह्वानसमेत गर्नुभयो  ।  तर, हाल पोखरा १४ को ल्याण्डफिल्ड साइडमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने उहाँले स्पष्ट पार्नुभयो ।  ‘साँचो कुरा के हो भने अहिले हामीले वडा नं। १४ मा जस्तो गरेर डम्पिङ साइड बनाउने होइन, अव जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिन्छ, त्यो औद्योगिक क्षेत्र भित्र पनि राख्न सकिन्छ, बस्ती कै बिचमा पनि राख्न सकिन्छ, त्यस कारण यसको विषयमा तर्सनु पर्ने कुनै कारण छैन, प्लान्ट कस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर हामीले जानकारी गराउँछौँ ।’ तर, निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकहरूमा भ्रम सृजना गर्ने कार्य तत्काल बन्द गर्न उहाँले सचेत गराउनुभयो ।  पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्त्वपूर्ण कुराहरू सारा पोखरेलीहरूको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने उहाँले बताउनुभयो । राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने प्रमुख आचार्यले बताउनुभयो ।   क्यालीब्रेसन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पुरै सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभयो । ‘हाल रिठ्ठेपानीको डाँडा कटानको काम भइरहेको छ, त्यहाँको माटोले हाल सञ्चालनमा रहेको ल्याण्डफिल्ड साइड पुर्ने काम जारी छ, केही दिनमा क्यालीब्रेसन फ्लाइट समेत हुदैँछ, प्रमुख आचार्यले भन्नुभयो, हामी ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने क्रममा छौँ, यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्दैछौँ ।’ सुरुमा अल्पकालीन र पछि दीर्घकालीन व्यवस्थापन गरिने बताउँदै उहाँले विमानस्थल सञ्चालनका लागि कुनै हालतमा व्यवस्थापन गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो ।       

पोखराः   नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छिन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औल्याईन् । घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् । जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्याउनु पर्ने आवश्यकता औल्याउँदै सवैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिनेमा उनको जोड छ । निर्वाचन क्षेत्र नंं. २ (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरिन् । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा। छममाया पुनको पनि सहभागि थिईन् ।   नेकपा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार मंगलवार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न भएको छ । पोखरा १६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८४२ मतदाता रहेका छन् ।