पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवा दिन माध्यामिक तहमै पाठ्यक्रम बनाउन पहल पर्ने प्रतिवद्धता जनाएको छ । पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न माध्यमिक तहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहल गर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिक विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न महानगरीय आईसिटी एकेडेमी स्थापना गर्न महानगरसँग सहकार्य गर्ने बताएको छ । यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमा लाईब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ । विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमा विकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकता अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमा विकास गरिने बताएका छन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
पोखरा: नेकपा (एमाले)को तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीले तीब्र विकास र समृद्धि आफ्नो एकमात्र स्वार्थ भएको बताएका छन। उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टी सङ्ग मात्रै भएको भन्दै समृद्ध नेपाल( सुखी नेपालीको सपना साकार पार्न आफू योजना र कार्यान्वयनको उपाय सहित निर्बाचनमा सामेल भएको बताएका छ्न। जहिले पनि एमालेले संभव सपना देख्यो । तिनीहरुको सार्थक परिणाम देखिइसकेको छ्न। अब पनि आफ्नो घोषणा पत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ । राष्ट्रिय स्वाधीनताको रक्षा सहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्बाधारहरुको उत्कृष्टतापूर्बक निर्माणमा लाग्नेछु। जनताको जगमा उभिएको पार्टी हो जनता आशा र बिश्वासलाई भरोसामा बदल्ने छु कार्कीको भनाइ थियो। कार्कीले सो कूरा आफ्नो क्षेत्रका बासिन्दाहरू सङ्ग भेटघाट गर्दै बताएका हुन। हिजो पनि आफ्नै ठाउँमा थिए, सधै तपाईंकै घर आगनमा नियमित आउने छु ,समस्या बुझ्दै तपाहरूकै सुझाव अनुसार अघि बढ्छु, जनताका चाहाना नै आफ्नो विकासको योजना हुन,कार्कीले उल्लेख गरे। नागरिक निरोगी भए मात्रै देश समुन्नत हुने हुँदा आफ्नो पार्टिले हाम्रो नेपाल निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी ,कृषि भूमिमा पानी सिचाइमा लगानी ,स्वस्थ सुन्दर र ब्यबस्थित पालिकाको अबधारणा अघि सारेको बताए। उनले जनताको कर जनताकै लागि विकासमा लगानी गर्दै सशक्त महिला विकसित समाज, बनाउने,विद्युत उर्जा विकासबाट समृद्धिको यात्रा तय गर्ने उल्लेख गरे।
बागलुङः अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू–२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये दोस्रो स्थानमा उहाँ आइतबारदेखि बन्द प्रशिक्षणमा हुनुहुन्छ । नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ । बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क हुनुहुन्छ । “खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो”, केसीले भन्नुभयो, “टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मेहनत पनि त्यसै अनुसार गरिहेको छु ।” दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गर्नु भएको थियो । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नु भएको थियो । ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो । १४/१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभएका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिनुभएको छैन । “प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै क्लबमा पनि आवद्ध भएको छैन ।” यहाँको गलकोट नगरपालिका–७ मल्ममा जन्मनु भएका केसी गाउँमै भलिबल खेल्दै र सिक्दै आउनुभएको हो । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो । “अब अन्तिम १४ मा परेर रविले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा हामी विश्वस्त छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उनलाई राष्ट्रिय टोलीमा पार्न हाम्रो प्रयत्न रहन्छ ।” रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ । उहाँ हाल गलकोट भलिबल टिमका प्रशिक्षक समेत हुनुहुन्छ । रवि र सुरेन्द्रले सँगैसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताउनु भएको छ । “रविले सुरुमा वडास्तरीय प्रतियोगिताबाट खेल जीवन सुरु गर्नु भएको हो, मैले नै धेरै ठाउँमा उनलाई अघि सारेर भलिबल सिकाएको हुँ”, प्रशिक्षक केसीले भन्नुभयो, “रवि कुशल स्पाइकर हुन्, अनुशासन र इमान्दारिता उनको अर्को सम्पत्ति हो ।
पोखराः पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो लगे तर, बषौं हुँदापनि पिच गरेनन् । मोटर चल्छन् । बाटोको धुलो सबै भान्सामा पुग्छ । हामी रोगी भयौं मत पाएकाहरु सांसद र मन्त्री भए, उनीहरुलाई हाम्रो पीडा महसुस् भएन ।’ मगरबेँशीमा उनी मात्र होइन अन्य बासिन्दाको पनि यस्तै गुनासा छन् । उनीहरुले अब पहिले भोट दिएकालाई मत नदिने अठोट गरेका छन् । सोही ठाउँकी विमला परियारले अब जति नै गरेपनि पहिले भोट दिएकालाई नदिने आफूहरुको अठोटे सुनाइन् । ‘भोट माग्न मात्र आउने अनि भोट पाएपछि फर्केर नआउनेलाई किन मत दिने ? जति झुक्याउने झुक्याए अब हामीलाई झुक्याउन सक्नेछैनन् ।’ उनले भनिन्, ‘अब चिनेजानेको इमान्दार मान्छेलाई भोट दिने हो । धोका दिनेलाई होइन ।’ मत माग्दै पुगेका नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बराललाई स्थानीयले पुराना नेता भएकाले आफूहरुले विश्वास गर्ने तर धोका दिन नपाइने सर्त राखेका छन् । ‘पहिले जितेर गएकाले गरेनन् । तपाई हामीलाई इमान्दार हुनुहुन्छ भन्ने लागेको छ । फेरी धोका दिन पाउनुहुन्न । यो बाटो पीच गरिदिनुहोला । बोलेको कुरा पुरा गरिदिनुहोला । हामी तपाईलाई मत दिन्छौं’ बिमलाले भनिन्, ‘यहाँ वषौंदेखि हाम्रो आग्रह सुनेर यो बाटो नबनाउने । हाम्रा पीडा नसुन्ने अनि चुनावका बेला आएर कताकता रेल ल्याउने कुरा गरेका छन् । अब पनि हामीले तिनका कुरा पत्याएर भोट हाल्यौं भने सधैं यस्तै धोकामात्र पाउने हो । हामी अबपनि गल्ति गर्दैनौं ।’ उम्मेदवार बरालले विगतमा आफूसमेत आएर मत मागेको स्मरण गर्दै आफैले मत मागेर जिताएकाले धोका दिएकैले आफू उम्मेदवार भएको बताए । ‘यहाँ हजुरहरुसंग मत मागिदिन म पनि आएको थिएँ । जितेर गएकाले जनताको अपेक्षा सुनेनन् । विद्रोह गरेर अहिले गठबन्धनबाट उम्मेदवार बन्दै तपाईको घर दैलोमा आएको छु । अब तपाईहरुले मलाई मत दिँदा यसरी पछुताउनु पर्नेछैन । म मत पाएपछि पनि तपाईसंग आइरहनेछु । तपाईहरुकै कुरा संसदमा राख्नेछु र समस्या समाधान गर्नेछु । चुनावमा मात्र आउने अरु बेला हराउने मान्छे म होइन । यहाँहरुले विश्वास गर्नुहोस्’ उनले भने । बरालले उत्पिडित, सुकुम्बासी र पछाडि परेका समुदायका साथै समग्ररुपमा विकास र समृद्धिकै लागि उम्मेदवार बनेको बताए । कास्की क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार आफूहरुले साझा प्रतिवद्धता नै जनाएको उनले सुनाए ।
पोखरा: कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए । ‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आसा र अपेक्षा आफूबाट गरेको उनले सुनाए । उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’ गुरुङले घरदैलो कार्यक्रममा गर्दै धेरै मतदातासँग मतको अपिल गरेका छन् । उनले २०४८ सालदेखि मत राख्दै आएका मतदाताहरु अहिले निरास हुँदै आएको प्रतिक्रिया पाए । ‘घरदैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ,’ उनले भने, ‘केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं । भोट हाल्छौं । यस्तै मिश्रित प्रतिक्रिया पाएको छु ।’ गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरि जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन् । उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा: मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ । कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताउनुभयो । त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उहाँको भनाइ छ । यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।” उहाँले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गर्नुभयो । उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उहाँले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
पोखरा: गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल गर्यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो । ‘कतिसम्मभने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’ अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहको खुलापन उनको गाउँसम्म पनि आइपुगेको थियो । बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरुको अभियानले उनको मन छोयो । पञ्चायत नै समस्याको जड हो भन्ने बुझाइ गाढा बन्यो । १० कक्षा पढ्ने बोलाउनको स्कूलमा एक हुलयुवाहरु आइपुगे । ‘संसारमा महिला र पुरुष दुई जातमात्र हुन्छन् र गरीबको राज्य स्थापना गर्नुपर्छ’ भन्ने भनाइमा सहमति जनाउँदै उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए । मशाल अर्थात् विद्रोह उनको विद्रोही चेत झन जागरुक भयो । हाल ‘जीवन’उपनामले चिनिने माओवादीका केन्द्रीय सदस्यको जीवनले अर्कै मोड लियो । २०४६ सालको आन्दोलनमा होमिए । खुला राजनीतिमा आएसँगै २०४७ सालमा हँसिया हथौडा अंकित झण्डा सहितको सदस्यता पाए । २०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले उनलाई गाउँ इकाइको अध्यक्षको जिम्मेवारी दियो । २०४९ मा उनी जिल्ला सदस्यमा बढुवा भए । फलामे अनुशासन र अरु कम्यनिष्ट भन्दा फरक देखिने जनमोर्चामा रहँदा उनले अनुशासन र त्यागको पाठ सिके । जनताको मुक्ति बाहेकका सबै विषयहरुलाई मिथ्या ठहर गरे । ‘नीति र नेतृत्व तथा जनतालाई आदर गर्ने संस्कार मैले त्यही बेला सिकेँ’,रामजी भन्छन्,‘पुरानो संरचना नभत्काइ नयाँ बन्दैन भन्ने विचारप्रतिको प्रतिवद्धता पनि वृद्धि भयो ।’ २०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । उनी जिल्ला कमिटीमै थिए । कमरेड तारा अधिकारीले उनको हातमा एउटा चिठी थमाइन् । तीनजनाको बीचमा चिठी खोल्नू भन्ने निर्देशन थियो । बरालले आफूसँगै अन्य २ जनाको बीचमा खाम खोले रे । खाममा जनयुद्ध सुरु भएका पोष्टर र अनुरोध थिए । ‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमा भएन, पार्टीप्रतिको विश्वास बढेर आयो,दिमागमा मुक्तिको सपना नाच्न थाल्यो’,उनले अतित सम्झिए । मुक्ति मार्ग सजिलो थिएन । माक्र्स–लेनिन,गान्धी, नेपालकै बीपी कोइराला र पुष्पलालको जीवनी पढेर उनले बुझेको त्यही थियो । तर, क्रान्तिमा समर्पण चाहिन्छ भन्ने बुझेका रामजीले आफूलाई योद्धामा परिणत गर्न ढिलाइ गरेनन् । २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने । खुला जीवन भूमिगतमा परिणत भयो । त्यस पछिको कालखण्ड साँच्चिकै कठीन थियो । जतिबेला पनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरु बनाउने जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरे । कास्कीका आफूभन्दा उच्च तहका र समकालीन नेताहरुले सहादत प्राप्त गर्दा पनि उनी सम्हालिए । निरन्तर मुक्तिको मार्गमा लागि रहे । २०५३ मा पूणर्कालिन बन्ने बित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आइलाग्यो । त्यही उपक्रममा थुप्रै फौजी र राजनीतिक योजना बनाएको स्मरण गर्दै उनले भने,‘पूर्णकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धीको साक्षी बन्ने अवसर मिल्यो ।’ २०५७ मा पार्टीले उनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो । २०५९ सालतिर पार्टी कमजोर देखिँदा पार्टीले उनको काँधमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी थमायो । उनी त्यो भूमिकामा अब्बल देखिए । पार्टी पोलिटब्यूरो सदस्यमा बढोत्तरी भए । २०६२÷०६३ को आन्दोलनले देशमा परिवर्तन सम्भव गरायो । माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । माओवादीले बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा स्थापित भयो । उनी २०६२÷०६३ को आन्दोलनलाई जनताको आन्दोलन भन्न रुचाउँछन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, तत्कालीन एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्मको सुझबुझपूर्ण निर्णयबाटै यो उपलब्धी हात लागेको उनको ठहर छ । खुला राजनीतिमा आएसँगै पार्टीजस्तै उनको पनि भूमिका फेरिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । संविधान सभा सदस्य भएर संविधान लेख्ने रहर पूरा नभएपनि उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य चुनिए । हाल गण्डकीका अर्थमन्त्री रहेका रामजीले संघीयता संस्थागत गर्न तथा समुन्नत कास्की बनाउन सक्दो योगदान गरेकै छन् । जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा आफूलाई उभ्याएका छन् । उनै रामजीप्रसाद यो पटक प्रजातान्त्रिक वाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फका उम्मेदवार बनेका छन् । अब संघीय संसदमा पुगेर कस्केली जनताको आवाज मुखरित गर्ने उनको सपना छ । ‘एक चरणको क्रान्ति सम्पन्न भएको छ,संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ,अहिले पनि हामी युद्धमै छौँ र यो युद्ध अलि फरक प्रकृतिको छ, अहिले हिजोको उपलब्धीको रक्षा र प्रतिगमनलाई परास्त गर्नु छ ’,उनी अक्सर भन्ने गर्छन् । रामजी प्रसादले हिजो प्रजातन्त्रको लागि ज्यान गुमाएका कास्कीका शहीद हरिप्रसाद गुरुङको सपना पच्छ्याएका छन् । माओवादी जनयुद्धका शहीदहरु राज विक्रम भुर्तेल, सीता भुर्तेल,विजय ढकाल, बेपत्ता पाएिका पूर्ण तिमिल्सिना लगायत घाइते र शहीद परिवारको व्यथालाई नजिकबाट बुझेका छन् । ‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, म अहिले पनि सामान्य जीवन बाँचेको जनताको सेवक हुँ, भोलि पनि म त्यस्तै रहने हो’,उनी भन्छन्,‘एक बारको जीवनमा फलानो मान्छे पनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’ यसो भनिरहँदा अभावले थिल्थिल्याएको र रोगले आक्रमण गरिसकेको शरीर प्रति भने बेपर्वाह देखिए । ‘अभाव र खटाइकै बीच आन्द्रामा समस्या देखियो,इन्टर्नल हर्नियाले पनि गाँज्यो,स्पाइनल कर्ड भन्छन् क्यारे, ढाडको शल्यक्रिया पनि ब्यहोरेँ, यो मेरो दोस्रो जुनी नै हो । यो जुनी जनताकै सेवामा लगाउने हो ।’ त्यही उपक्रममा उनले कास्की क्षेत्र नम्बर ३ को समृद्धिको लागि दर्जनौं योजना सुनाउन भ्याए । उनका योजनाहरु पर्यटन र कृषिको जगमा टेकेर बनाएका योजनाहरुमा स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडिबुटी प्रशोधन केन्द्र,ग्रामीण सडकको स्तरोन्नति,पर्यटकीय पदमार्गहरुको संरक्षणसम्म समेटिएका छन् ।
पोखरा: आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ (क) का उम्मेदवार दुर्गादत्त भण्डारीले महंगी नियन्त्रणका लागि प्रदेश स्तरमा नै अभियान सञ्चालन गर्ने बताएका छन् । ‘बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मुल्य वृद्धि भएको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मुल्यवृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।’ उनले भने, यो महंगी यसरी नै बढ्ने हो भने नागरिकको जीवन निम्नवर्गीय समुदाय जोखिममा पर्ने खतरा देखियो ।’ उनले यो समस्यालाई प्रदेश स्तरबाट नै समाधान गर्न सकिने र आफु विजयी भएमा गण्डकी प्रदेशको महंगी नियन्त्रण गर्न अभियान चलाउने दावी समेत गरे । चुनावी अभियानका क्रममा जनताबाट चरम महङ्गीको मारमा आफूहरु परेको गुनासा पछि वडा नं १ र २ मा भएका कार्यक्रमहरुमा उम्मेदवार भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतमुलक कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता जनाए । उनले भने, ‘साँच्चै महङ्गीले जनताको ढाड सकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।’ उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताए । उनले अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पारे । बागलुङ् बसपार्कको स्तरोन्नति, प्राचिन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको नेतृत्व आफूले गर्ने भण्डारीले बताए । उम्मेदवार भण्डारी सहितको गठबन्धनको टोलीले वडाका बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको थियो ।
पोखरा: आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भर्याङ् मात्रै बनाएकोमा छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’ उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी मात्र भएको बताए । ‘बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा पुगेको छैन ।’ उनले भने, ‘गाउँमा वेरोजगार छन्, चुनाव आएपछि रोजगारीका नारा मात्रै लिएर आउँछन् ।’ स्थानीयको माग विकाससँगै स्थानीय मठ मन्दिरको संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नुपर्ने सामाजिक रुपान्तरण अभियान चलाउनुपर्ने रहेको छ । पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेकोले आफ्नो प्रतिवद्धता प्रति ईमान्दार भएर जनताको सेवा गर्ने दावी गरे । ‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउने छु ।’ उनले भने ।

