राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा मतदान गर्न नपाउने भएका छन् । लामिछाने चितवन क्षेत्र नं.२ का उम्मेदवार हुन् । यहाँ मतदाता नामावलीमा नाम नभएपछि उनी आफैलाई भोट हाल्न नपाएका हुन् । लामिछानेले आफ्नो मतदान काठमाडौंमा गरेका छन् । क्षेत्र नं.३ का मतदाता उनले महांकाल पानीटंकीस्थलमा मतदान गरेका छन् । चितवन क्षेत्र नं.२ मा लामिछाने नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धामा छन् ।
काठमाडौंः मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
काठमाडौंः नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर विवेकको मत प्रदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यसम्पन्न गरिसकेको छ । त्यस्तै आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । प्रमुख आयुक्त थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो । आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ । आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । बाइस हजार दुई सय २७ मतदान केन्द्र निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नुहुनेछ । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । सात हजार दुई सय १९ पर्यवेक्षण निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार दुई सय सात र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना जरी सात हजार दुई सय १९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगले हालसम्म करिब सात हजार पाँच सयलाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउनुहुने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।
काठमाडौंः निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।” गत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रुपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ । प्रेस सेन्टरको आपत्ति प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो । केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । “सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो” अध्यक्ष सापकोटाले भन्नुभयो “यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लङ्घन पनि हो ।” आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहितरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार सङ्गठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लङ्घन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीररुपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।
काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । आयोगका अनुसार देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् । निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ कार्यान्वयनमा छ । यसरी निर्वाचनमा खटिएका कर्मचारीले “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिका, २०७४” मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवा सुविधा पाउँछन् । मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ । निर्वाचनका क्रममा खर्च हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको नाममा निकासा दिन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिकाअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन रु दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई रु दुई हजार, सहायक कर्मचारीलाई रु एक हजार छ सय र सहयोगी कर्मचारीलाई रु एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कितस्तरको कर्मचारी भएमा भने अधिकृत सरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनसमेतको दैनिक तथा भ्रमण भत्ता दिइन्छ । कर्मचारीहरुले यदि पैदल यात्रा गर्नुपर्ने भएमा प्रति १५ किलोमिटरलाई एक दिन मानी एक दिन बराबरको भत्ता उपलब्ध गराउने व्यवस्था छ । यस्ता कर्मचारीलाई आफू कार्यरत रहेको कार्यालय रहेको स्थानबाट निर्वाचन अधिकृतको कार्यालयमा नियुक्ति लिन उपस्थित हुँदा लाग्ने बाटोको म्याद र तयारी म्याद एक दिन गरी दैनिक भत्ता दिइन्छ । त्यस्तै, मतदान अधिकृतलाई मोबाइल रिचार्ज तथा अन्य विविध कार्यका लागि थप सुविधावापत रु पाँच हजार दिइन्छ । मतदान केन्द्रमा स्वयंसेवकका रुपमा नियुक्त हुने व्यक्तिलाई खाजा खानावापत तीन दिनका लागि प्रतिदिन प्रतिव्यक्ति रु एक हजार उपलब्ध गराइन्छ । त्यसैगरी मतगणना टोलीमा रहने कर्मचारीले प्रत्येक सिफ्टका लागि निर्धारण गरिएअनुसार दैनिक सुविधा र भत्ता पाउँछन् । निर्देशिकाअनुसार प्रमुख मतगणना अधिकारीलाई रु दुई हजार पाँच सय, सहायक मतगणना अधिकारीलाई रु दुई हजार, अन्य कर्मचारीलाई प्रतिव्यक्ति रु एक हजार छ सय र कार्यालय सहयोगीलाई रु एक हजार दुइ सय दिने व्यवस्था छ । मतगणना अवधिभर मतगणना कार्यमा सहयोग गर्ने निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीलाई प्रतिदिन प्रतिव्यक्ति अधिकृतस्तर एकजनालाई रु एक हजार, सहायकस्तर दुई जनासम्मलाई रु आठ सय र सुरक्षागार्डलाई रु छ सय भत्ता दिइन्छ । निर्देशिकामा भएको व्यवस्थाअनुसार निर्वाचनमा खटिएका कर्मचारीमध्ये मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले नियुक्ति पाएको मितिदेखि र अन्य कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयमा हाजिर भएको दिनदेखि निर्वाचन सम्पन्न भएको मितिले १५ दिन ननाघ्ने गरी भत्ता पाउँछन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा काजमा रहेको मितिसम्म निर्वाचन भत्तावापत आफूले खाइपाई आएको मासिक तलबको एक सय २१ प्रतिशत बराबर हुन आउने रकम पाउँछन् । निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीले कार्यालयमा हाजिर भएको दिनमा खाजा र खानावापतको पनि निश्चित रकम पाउँछन् । अधिकृतस्तरका कर्मचारीका लागि दैनिक रु सात सय, सहायकस्तरका कर्मचारीले रु पाँच सय, हलुका सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पिएसओ)लाई रु पाँच सय खाना र खाजा खर्चका रुपमा उपलब्ध गराउने व्यवस्था छ । अनुगमन भ्रमण वा अन्य कुनै कारणले कार्यालयमा हाजिर नभएको दिनको भने खाजा र खानाबापतको रकम पाइँदैन । त्यस्तै, मुख्य निर्वाचन अधिकृतले जिल्लाभित्रका निर्वाचन अधिकृतबीच समन्वय तथा सहजीकरण गर्न निर्वाचन क्षेत्रको सङ्ख्याको आधारमा प्रतिनिर्वाचन क्षेत्र मासिक रु एक हजार दरले रकम पाउँछन् । निर्वाचनमा खटिने सुरक्षाकर्मीले प्रतिदिन रु पाँच सयका दरले खाना तथा खाजा खर्च वापतको रकम पाउँछन् । त्यस्ता सुरक्षाकर्मीले सिफ्ट बमोजिमको काम गरेका अवस्थामा भने दामासाहीका हिसाबले रकम दिने व्यवस्था छ । सुरक्षाकर्मीलाई खाजा र खानावापतको रकम उपलब्ध गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा रहने सुरक्षाकर्मीलाई निर्वाचन अधिकृतको कार्यालयमा रहँदासम्मको खर्च दिइन्छ । मतपेटिकाको सुरक्षाका लागि मतगणनास्थलमा खटिएका सुरक्षाकर्मीलाई मतदानका दिनदेखि मतगणना सम्पन्न भएको दिनसम्मको खाजा र खाना भत्ता उपलब्ध गराइन्छ भने निर्वाचन कार्यालयको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई मतदान हुने दिनभन्दा तीस दिन अघिदेखि सम्बन्धित सबै जिल्लाका निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको मितिले तीस दिनसम्मका लागि उपलब्ध गराइन्छ । निर्वाचनको काममा खटिएको अवस्थामा बाहेक जगेडमा रहेका कर्मचारीलाई भने यस्तो भत्ता तथा सुविधा उपलब्ध गराइँदैन । सरकारले स्थानीय भत्ता पाउने भनी तोकेको जिल्लामा अन्य जिल्लाबाट खटिई आएका निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले सरकारले तोके बमोजिमको अतिरिक्त स्थानीय भत्ता पाउँछन् । निर्वाचन अधिकृत आफ्नो पदाधिकार रहेको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालयमा हाजिर हुन गएदेखि कार्य सम्पन्न गरी आफ्नो कार्यालयमा फर्किँदासम्मको अवधिका लागि कर्मचारीको तहअनुसार दैनिक तथा भ्रमण भत्ता दिइन्छ । आफ्नो पदाधिकार रहेको जिल्लामा नै खटिएको निर्वाचन अधिकृतले भने दैनिक तथा भ्रमण भत्ता पाउँदैनन् । यद्यपि, पदाधिकार रहेको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान १५ किलोमिटरभन्दा बढी दूरीमा रहेमा भने यस्तो सुविधा पाइन्छ । दैनिक तथा भ्रमण भत्ता पाउने निर्वाचन अधिकृतले खाजा र खाना खर्च भने पाउँदैनन् । निर्वाचन कार्यालयलाई टेलिफोन, फ्याक्स, इन्टरनेटलगायतका सुविधा सरकारले नै उपलब्ध गराउँछ । तर निर्वाचनसम्बन्धी कामका लागि निर्वाचन अधिकृतलाई मोबाइल तथा फुटकर टेलिफोन सुविधावापत निर्वाचन अवधिभरका लागि एकमुष्ट रु सात हजार दिइन्छ । निर्देशिकाअनुसार मतदान केन्द्र निर्माण गर्न भवन भएका मतदान केन्द्रका लागि रु पाँच हजार र भवन नभएका मतदान केन्द्रका लागि रु १० हजार मतदान अधिकृतलाई उपलब्ध गराइन्छ । बिजुली बत्ती नभएको मतदान केन्द्रमा जेनेरेटर तथा अन्य व्यवस्था गर्न मतदान अधिकृतलाइ रु तीन हजार उपलब्ध गराइन्छ । ढुवानी खर्चका रुपमा मतपेटिका तथा अन्य निर्वाचन सामग्री रहेको स्थानबाट मतदान गर्दा र मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका तथा अन्य निर्वाचन सामग्री ढुवानी गर्दा पैदल हिँड्नु परेमा पन्ध्र किलोमिटर दूरीका लागि एक दिन कायम गरी प्रतिदिन प्रतिमतपेटिका रु छ सयका दरले मतदान अधिकृतलाई ढुवानी खर्चवापत ढुवानी खर्च उपलब्ध गराइन्छ । त्यस्तै, मतगणना व्यवस्थापन खर्चका रुपमा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा आवश्यक पर्ने गुन्द्री, कार्पेट, चकटी, बत्ती, पानी, जेनेरेटर, माइक आदिको व्यवस्थापनका लागि छुट्टै रकम उपलब्ध गराउँछ । त्यस्तो सामग्री व्यवस्थापनका लागि २० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रमा रु २० हजार, ५० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रका लागि रु ३० हजार, ८० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रमा रु ४० हजार र ८० हजारभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्रमा रु ५० हजारसम्म मतगणना व्यवस्थापन खर्च छुट्याउने व्यवस्था छ ।
गलेश्वरः म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उहाँको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनुभयो । मतदानका लागि गाउँबाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उहाँले जानकारी दिनुभयो । लुलाङसम्म सवारीसाधन र त्यसपछि एक दिनको पैदल यात्रा गरेर पुगिने जिल्लाको अति विकट गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि गुर्जामा २० जना कर्मचारी खटाइएको छ । जिल्लाकै अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले पनि संवेदनशील मानिएको गुर्जामा आवश्यक सुरक्षाकर्मीसहितको टोलीसमेत पठाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित आठ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् । यहाँ भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कूल नौ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
तनहुँ: तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । धेरैजसो डेङ्गु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । “मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ । डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिनुभयो ।
मनाङः हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् । नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उहाँको भनाइ छ । चामे-५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन् । शर्माका अनुसार नार्पाभूमि-१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ र नार्पाभूमि(५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ मतदाता छन् । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ६ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार ६ सय ४७ मतदाता छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ६ हजार सात सय ७९ मतदाता छन् । जसमा प्रदेशसभा १ मादुई हजार छ सय २४ मतदाता र प्रदेशसभा २ मा चार हजार एक सय ५५ मतदाता छन् ।
पोखराः भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् । छिमेकी दुई ठूला राष्ट्रहरू चीन र भारतसम्म सिमाना जोडिएको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशको राजधानी रहेको कास्की जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लामा दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउँनेछन् । जसमध्ये एक लाख ४० हजार तीन सय ६९ महिला, एक लाख २४ हजार ८३ पुरुष र चार जना अन्य छन् । निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ८९ जनाको प्रतिस्पर्धा छ । तनहुँमा कूल दुई लाख ४४ हजार तीन सय ४० मतदातामध्ये महिला एक लाख २७ हजार दुई सय ६ जना छन् भने पुरुष एक लाख १७ हजार एक सय ३४ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ । गोरखामा दुई लाख २० हजार ६ सय ३७ जना मतदातामध्ये महिला एक लाख १० हजार चार सय २१ र पुरुष एक लाख १० हजार एक सय ८९ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी ४९ जना चुनावी मैदानमा छन् । स्याङ्जामा कूल दुई लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमध्ये महिला एक लाख २४ हजार सात सय ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् । पूर्वी नवलपरासीमा दुई लाख ३३ हजार ९५ जना मतदाता रहेकामा एक लाख २३ हजार पाँच सय ४० महिला र एक लाख नौ हजार पाँच सय ५१ पुरुष छन् । यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । बागलुङमा कूल एक लाख ९२ हजार दुई सय २७ जना मतदाता रहेकामा ९८ हजार ६ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जिल्लामा ३१ जना चुनावी मैदानमा छन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, लम्जुङमा प्रतिनिधिसभाका लागि एक÷एक निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । थोरै मतदाता रहेको मनाङमा कूल पाँच हजार नौ सय ७६ मध्ये महिला तीन हजार ९४ र पुरुष दुई हजार आठ सय ८२ जना छन् । जिल्लामा प्रतिनिधिसभा प्रदेशसभा गरी छ जनाको उम्मेदवारी छ । प्रदेशसभा २ मा प्रदेशसभा सदस्यका लागि राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसक्नुभएको छ । पर्वतमा कूल मतदाता महिला ६१ हजार नौ सय ९८ र पुरुष ६० हजार ६ सय ५१ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार रहनुभएको छ । लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनाको उम्मेदवारी छ । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदातामध्ये महिला मतदाता ६८ हजार दुई सय ८८ जना छन् भने पुरुष मतादाता ६५ हजार दुई सय ७१ जना छन् । म्याग्दीमा कूल ८६ हजार एक सय २० जना मतदाता रहेकामा ४४ हजार ६४ महिला, ४२ हजार ५५ पुरुष र एकजना अन्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि जिल्लामा कूल १९ जनाको प्रतिस्पर्धा छ । कूल १० हजार नौ सय ५७ जना मतदाता रहेको मुस्ताङमा महिला पाँच हजार पाँच सय ८१, पुरुष पाँच हजार तीन सय ७५ र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ । यस निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू पुगी निर्वाचन प्रक्रियाका कामहरू गरिरहनुभएको उहाँले बताउनुभयो ।

