गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो । दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभएको छ । जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै हुनुहुन्छ । दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो । नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याउनुभएको छ । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाउनुभएको छ ।
पोखराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।
म्याग्दीः म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
पोखराः कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याउनुभएको छ । यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल(जीवन)ले चार हजार आठ सय ३८ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याउनुभएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ आठ हजार सात सय ४६ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई पाँच हजार तीन सय ९९ मतसहित दुर्गादत्त भण्डारीले पछ्याउनुभएको छ । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार एक सय ४७ र हाम्रो नेपाली पार्टीका खीमप्रसाद तिमिल्सिनाले दुई हजार एक सय २५ मत प्राप्त गर्नुभएको छ । हालसम्म २० हजार आठ सय ६२ मतगणना भएकोमा आठ सय मत बदर भएको छ ।
ढोरपाटनः बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गर्नुभयो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गर्नुभएको छ । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गर्नुभएको छ । निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह सि मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन । पहिलो हाफमा १(० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २–१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै साउदीले तीन अङ्क जोडको छ । आजै हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डि’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल अहिले साँझ ६ः४५ बजे सुरु हुनेछ ।
पोखराः घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई छैठौं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ । घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद रु २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो । ७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकङ्कन गर्दै छैठौं औं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । उनका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं । विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’ सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । क्होइबों धिं निर्माणार्थ १० लाख ६० हजार सहयोग सो कार्यक्रमको अवसरमा घान्द्रकमा निर्माण हुन लागेको (कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले आज (मंगलबार) घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजारको हस्तारण गरेको हो । आर्थिक हस्तातरणपछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । ‘विभिन्न देशविदेशमा घान्द्रकका समुदायहरु बसोबास गर्दै आएका छन्, उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ । समाजमा आर्थिक, नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ ।’ घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर काम अगाडी बढाउने उद्घोष गरे । ‘चाँडै नै बनाउने तयारी हो तर नेपाल मात्र नभएर विश्व नै कोभिड महामारिले काम गर्न सकिएन अब फागुनबाट निर्माणको तयारी गछौं’ उनले भने । कार्यक्रममा घान्द्रुुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्मन्न कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।
प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३।२२ प्रतिशत मत हो। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्। अन्य दलहरूले पाएको मत १९४३० छ।

