काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उहाँले भन्नुभयो । नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताउनुभयो । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।” प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौंः नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताउनुभयो । उहाँले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिनुभयो । “हामीले सङ्क्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौँ”, उहाँले भन्नुभयो, “सबै सङ्क्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ सङ्क्रमित कम हुँदै गएका छन् ।” उहाँका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस ९एआरभी० उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो । निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उहाँले भन्नुभयो, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।” उहाँले उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताउनुभयो । “उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वस्थ भएका सङ्क्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।” उहाँले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रका निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताउनुभयो । उच्च जोखिममा को ? नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । प्रदेश नं १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ सङ्क्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको रहेको छ । अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्क्रमण रोक्ने चुनौती नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ । यस्तै नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । यस्तै एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआइभी सङ्क्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआइभी सङ्क्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित भएका छन् । सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ सङ्क्रमित घटेको पाइएको छ । सन् २०२१ मा १५ लाख नयाँ सङ्क्रमित फेला परेका थिए । सन् १९९० देखि २०२१ सम्म एचआइभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाइएको छ । सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ सङक्रमण देखिएको जनाइएको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो । सन् २०१० मा तीन लाख २० हजारमा नयाँ सङ्क्रमित रहेका थिए । सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो । सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो । विश्वमा कूल सङ्क्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस ९एआरभी० उपचारमा रहेका छन् । विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआइभी सङक्रमित हुने गरेका छन् । आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ ।
म्याग्दीः म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका–९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौटी वितरण गरिएको छ । समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज, छिटो भएको र बिरुवा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । “फल टिप्दा काँडाले घोचेर घाउ बनाउने समस्या थियो,” उहाँले भन्नुभयो, “हाँगा काट्ने र बोटनै ढलाउँदा बिरुवा मासिने जोखिम बढेको थियो । यो औजार भएपछि काँडाबाट बच्न र बिरुवा जोगाउन सहज हुनेभएको छ ।” जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेका ४० थान सिकेचर र करौटी लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत् निःशुल्क उपलब्ध गराएको हो । इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताउनुभयो । “म्याग्दीमा टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाएका थियौँ,” उहाँले भन्नुभयो, “अहिले ल्याएका औजार प्रभावकारी भयो भने थप ल्याउन पहल गर्छौँ ।” इको हिमाल अस्ट्रियाका अध्यक्ष कुर्ट, इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकाल, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बेनपा–९ का वडा सदस्य झलक विक र सारदा विकमार्फत् औजार वितरण गर्नुभएको थियो । बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ । केही वर्षअघि वन डिभिजन कार्यालयले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि रु दश लाख मूल्य बराबरको औजार उपलब्ध गराएको थियो । फूल खेल्ने समयमा परेको असिनाले यसपाली टिमुर उत्पादनमा कमी आएको किसानले बताएका छन् । म्यादीमा उत्पादन भएको टिमुर बेनी, पोखरा, काठमाडौँ, नारायणघाटलगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरियामा निकासी हुन्छ । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिमुर प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले बिक्री हुन्छ । बेनी नगरपालिका–९ धुपीबोटकी रसिला परियारले गत वर्ष १४ केजी टिमुर रु दुई हजार पाँच सयका दरले बिक्री गरेको बताउनुभयो । विगतमा असोज कात्तिकमा टिमुर टिप्ने उहाँले यसपाली पकाएर मङ्सिर लागेपछि मात्रै टिप्न थालेको बताउनुभयो । वार्षिक २० केजीको हाराहारीमा टिमुर उत्पादन गर्ने धुपीबोटकी रैमति परियारले पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।
मनाङः यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ । राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ छ । मनाङमा प्रतिनिधिसभा तर्फ चार हजार आठ सय ४५ मत खसेको थियो भने प्रदेशसभा १ मा दुई हजार दुई सय १० मत खसेको थियो । प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान भएन ।
सुनसरीः सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । भोजपुर निवासी कांग्रेस नेता कार्की यसघि सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित हुनुभएको थियो ।
बलेवाः दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो । छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उहाँका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताउनुभयो । ‘‘पैसा तिरेर डेरा बस्ने, शुल्क तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।” विद्यालयले मङ्सिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो । प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना सङ्क्रमणकालमा पढाइ बन्द भएकाले कोर्ष नसकिएको श्रीषले बताउनुभयो । ‘‘अन्तिम सेमेस्टरको पढाइ बल्ल सुरु भएको छ, तर विद्यार्थी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’’ यति लामो समयसम्म पढाइ सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्योल बन्ने उहाँले बताउनुभयो । यो विद्यालयमा देशभरका सुस्त श्रवणयुक्त विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकाले मङ्सिर १५ गतेभित्र हाजिर हुन आउन विद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर विद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारीसमेत छैन । ‘‘आर्थिक अवस्था कमजोर भएकाले छात्रवृत्तिमा पढ्न गएका थियौँ, अहिले रकम नआएपछि समस्या भएको हो’’, दाङकी दुर्गा शर्मा ओलीले भन्नुभयो, ‘‘पढ्न नसकेपछि रोजगारीको खोजी गर्दैछौँ ।’’ उनीहरुले पढाइ नसक्दै काममा लाग्दा लामो समयको लगानी खेर जाने अभिभावकले बताए । कतिपय विद्यार्थीले काठमाडौँका होटलमा काम खोज्दै भाँैतारिएको बहिरा सङ्घ बागलुङका कोषाध्यक्ष यादव रेग्मीले बताउनुभयो । धौलागिरि बहिरा विद्यालयमा पाँच वर्षअघिदेखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको थियो । यहाँबाट तीनवर्षे ‘कोर्ष’ सकेर दुईवटा समूह छुटिसकेको छ । अहिले पनि एक सय २० विद्यार्थी कम्प्युटर इन्जिनियरिङ पढाइमा छन् । त्यसबाहेक कक्षा एक देखि १० सम्म पनि देशभरका विद्यार्थी पढ्दैछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सुस्त श्रवणयुक्त बालबालिका यो विद्यालयमा पढ्छन् । पछि दोभासे चाहिने भएकोले विद्यालयले कूल विद्यार्थीको १० प्रतिशत बालबालिका भने बिपन्न परिवारबाट पनि पढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । विद्यार्थीको भबिष्यमाथि नै खेलबाड हुने गरी रकम नआएकोप्रति उहाँले सिटिइभिटी र नेपाल सरकारका निकायमा कुरा गर्ने बताउनुभयो ।
काठमाडौंः यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब १९ प्रतिशत आदिवासी जनजाति हुनुहुन्छ । जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ । साथै, एमालेका तर्फबाट सिराह–३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ–९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम–१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ, म्यादीमा खमबहादुर गर्बुजा (खम्बीर) र मुस्ताङ–१ मा योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का बाट भोजपुर(१ मा सुदन किराँती, काभे्रपलाञ्चोक(१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्व–१ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित हुनुभएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट डोटी–१ मा प्रेमबहादुर आले, डोल्पा(१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा–१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी–१ मा अशोककुमार राई निर्वाचिन हुनुभएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुनुहुन्छ ।
पोखराः जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ । तत्कालीन समयमा यहाँका व्यापारीले आफ्ना हक तथा अधिकारको संरक्षणका लागि २००८ सालमा स्व टेकबहादुर ढेवाजुको अध्यक्षतामा ३३ जना व्यवसायी सम्मिलित संस्था खोलिएको थियो । उक्त संस्थाले निरन्तरता पाउन नसके पनि उक्त प्रयासकै जगमा २०११ माघ २५ गते स्व अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार सङ्घ विधिवत् स्थापना भएको हो । शेरचनको अध्यक्षतामा गठित अस्थायी समितिलाई २०१२ सालमा सु अन्ङ्गमान शेरचनको प्रयासबाट विधिवत् दर्ता भएको थियो । त्यही व्यापार सङ्घ अहिले पोखरा उद्योग वाणिज्य सङ्घका रुपमा क्रियाशील छ । पोखराका हरेक समाजिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घले त्यसयता यहाँको औद्योगिक विकाससँगै शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन आदिमा विशिष्ट भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति बताउनुहुन्छ । सङ्घकै पहलमा २०३१ सालमा पोखरामा औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गरेपछि तत्कालीन पोखरा व्यापार सङ्घले आफूलाई परिमार्जित गर्दै पोखरा उद्योग वाणिज्य सङ्घमा रुपान्तरित भएको हो । सङ्घको स्थापनासँगै व्यवसायीले पोखरा विमानस्थल अगाडि एउटा गोदाम घर निर्माण गरेका थिए । करिब १५ हजारको लागतमा निर्मित गोदाम घरमा विमानस्थलबाट आउने सामान थन्क्याउन थालिएसँगै सङ्घका गतिविधि बढ्दै गएका हुन् । व्यापार सङ्घ गठन हुँदादेखि नै यसले उद्योग व्यवसाय क्षेत्रको विकाससँगै शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार विकासमा जोड दिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । पोखरामा २०१७ सालमा पृथ्वीनारायण कलेज चलाउन सङ्घले तत्कालीन अवस्थामा मासिक एक हजार तथा पोखरा विमानस्थलबाट सङ्कलन हुने सेवा शुल्कबाट समेत सहयोग गर्दै गरेको प्रयासको जगले अहिले पोखरा शिक्षाको केन्द्र जस्तै बनिसकेको छ । विसं २०४८ मा वाणिज्य शास्त्रमा स्नातकोत्तरको कक्षा चलाउने निर्णय गरेका अवस्थामा तत्कालीन समयमा सङ्घले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । सङ्घकै रु एक लाख ३२ हजार सहयोगमा २०२८ सालमा बालमन्दिरको भवन निर्माण भएको थियो । बालमन्दिरका लागि सङ्घको सहयोग अहिले पनि जारी रहेको छ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणका माध्यमबाट समृद्ध बनाउन सङ्घले ठूलो गुन लगाएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सङ्घले २०४४ सालमा पोखरा बहुमुखी कलेज स्थापना गर्दा आवश्यकपर्ने रु तीन लाख रुपैयाँ धरौटीबापतको रकम सहयोग गरेको थियो । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वध्यक्ष आनन्दराज मुल्मी सङ्घले यहाँका हरेक शैक्षिक संस्थामा केही न केही योगदान गरेको बताउनुहुन्छ । पोखरा विश्वविद्यालयको स्थापनाका लागि सङ्घले गरेको पहल महत्वपूर्ण छ । देशमा २०४० सालयता बहुविश्वविद्यालयको अवधारणा भित्रिएसँगै पोखरामा विश्वविद्यालयको आवश्यकता बोध गर्दै सङ्घका तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले २०४१ सालमा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएको थियो । विसं २०४३ मा सङ्घका तत्कालीन अध्यक्ष रामचन्द्र बाँस्तोलाको संयोजकत्वमा समिति गठनका साथै त्यसयता विभिन्न चरणका छलफल र सुझाव सङ्कलनका काम बढाइएको थियो । पोखरा विश्वविद्यालय सम्पर्क समितिले सोही जगमा टेकेर २०४३ कात्तिक ११ गते स्व राजा वीरेन्द्रसामु विश्वविद्यालय स्थापनाका लागि बिन्तीपत्र प्रस्तुत गरेको थियो । सङ्घको अध्यक्षमा मुल्मी निर्वाचित भएपछि उहाँकै अध्यक्षतामा २०४३ सालमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४६ मा राजाको पोखरा भ्रमणपछि विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई निर्देशन दिइएको थियो । विसं २०४७ मा सङ्घको अध्यक्षमा फणिन्द्रमान श्रेष्ठ निर्वाचित भएपछि उहाँकै संयोजकत्वमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४९ मा भएको बृहत भेलाले प्रस्तावित विश्वविद्यालयको नाम पोखरा विश्वविद्यालय राख्ने निर्णय ग¥यो । सङ्घका तत्कालीन अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा एक सय ६१ सदस्यीय मूल समिति गठन गरियो भने १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन भयो । विभिन्न प्रयाससँगै २०५३ सालमा पोखरा विश्वविद्यालय विधेयक संसद्मा दर्ता भयो । विसं २०५३ मा नै सङ्घका तत्कालीन अध्यक्ष आजाद श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय तयारी समिति गठन भयो । विसं २०५३ मा संसद्को दशौँ अधिवेशनमा पोखरा विश्वविद्यालय ऐन २०५३ पारित भयो । विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्राडा पुरुषोत्तम बस्नेत नियुक्त हुनुभयो । त्यतिबेला विश्वविद्यालयको फर्निचर खरिदका लागि सङ्घले केही रकम सहयोग गरेको थियो । पोखरामा औद्योगिक क्षेत्रको स्थापनार्थ सङ्घको अगुवाइमा २०२७ सालदेखि विभिन्न प्रयास अघि बढाइएकामा २०३१ सालमा तत्कालीन पोखरा महानगरपालिका–१२ कुँडहरमा पोखरा औद्योगिक क्षेत्रको स्थापना भयो । पोखरा औद्योगिक क्षेत्रको स्थापनापछि यहाँका व्यवसायी क्रमशः उद्योग तथा व्यापारतर्फ आकर्षित हुँदै गए । पोखराको व्यावसायिक विकासका लागि विभिन्न संस्थासँगको प्रयासमा सङ्घले गरेका साझेदारीका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । पोखराको स्वास्थ्य क्षेत्रका लागि पनि महत्वपूर्ण योगदान गरेको सङ्घले पोखरामा मुटुरोग उपचार केन्द्र स्थापनादेखि यहाँका हरेक स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेको छ । पोखरालाई विश्वमाझ जोड्ने दीर्घकालीन लक्ष्यका साथ सङ्घले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै पहिलादेखि अग्रसरता देखाउँदै आएको छ । विमानस्थलका लागि २०३२ सालमा जग्गा अधिग्रहण भए पनि निर्माणको काम नबढ्दा सङ्घकै अगुवाइमा विभिन्न सङ्घर्षका कार्यक्रम गरिएको थियो । सङ्घकै अगुवाइमा विमानस्थल निर्माणका लागि दबाब दिने उद्देश्यले २०६१ असोज ६ गतेका सम्बद्ध सबै पक्षको उपस्थितिमा सम्पन्न भेलाले सङ्घका तत्कालीन अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सहयोग समिति गठन गरेको थियो । त्यसयताका विभिन्न चरणका छलफल अन्तक्र्रियासँगै सङ्घर्षका कारण अन्ततः पोखरा विमानस्थल निर्माण सम्पन्न भई यान्त्रिक उडानसमेत भइसकेको छ । विमानस्थल निर्माण हुनुपर्छ भन्ने सङ्घको अगुवाईसँगै २०४७ सालयता होटेल सङ्घ पोखराको पहलमा विमानस्थल सञ्चालनका अवस्थासम्म आइपुगेको होटल सङ्घ एवं पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विश्वशङ्कर पालिखेले बताउनुभयो । उद्योग एवं व्यवसायको प्रवद्र्धनका लागि मेला औद्योगिक क्षेत्रको विकाससँगै व्यवसायको प्रवद्र्धनका लागि सङ्घले गर्दै आएको औद्योगिक व्यापार मेलालाई पोखरामा मात्र नभई देशमा नै महत्वका साथ हेर्ने गरिएको छ । यस वर्षको मेला समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा हुन लागेको र यही मङ्सिर १६ देखि २५ गतेसम्म आयोजना हुन लागेको महासचिव बलराम आचार्यले बताउनुभयो । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसमेत रहेको उहाँको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार यस वर्ष हुने मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा कक्ष गरी करिब २५० कक्ष रहेका छन् । मेलाको आकर्षणका रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्रीवितरण रहेका छन् । सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला सङ्घले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरिने कार्कीले बताउनुभयो ।
कास्की: पद्म नर्सिङ होम कलेजमा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राख्दै आन्दोलित बनेका छन् । अनेरास्ववियुको सहयोगमा पद्म नर्सिङ होममा अध्ययनरत विद्यार्थीहरु कलेज अगाडी आज (बिहिबार) धर्ना दिदैं प्रशासनको ध्यानाकर्षण गरेका हुन् । बिएससी नर्सिङ तेस्रो तहमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठनलाई निरन्तरता दिन माग गर्दैै नाराबाजीसहित विरोध गरे । सुनगाभा न्यूजँग बोल्दै एक विद्यार्थीले अन्तिम परिक्षा (बोर्ड परिक्षा) नजिकिदासमेत प्रशासनले पठनपाठन सुचारु गर्न नसकेको गुनासो गरिन् । ‘हाम्रो क्लास भएको छैन । प्राक्टिकल पनि बाँकी छ । फर्म भरिसक्यौ । रुटिङ आउने बेला भइसक्यो कतिबेला आउँछ थाहै हुन्न, उनले भनिन्, ‘हामी सरको घरमा पनि गएर कलेज ल्यायौ अनि १८ गतेको डेट दिनुभथ्यो । तरपनि क्लास भएन अनि दाइहरुलाई (अनेरास्ववियु) बोलएम ।’ कलेज प्रशासनको चरम लापरबाही गरेकै कारण आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाई छ । ‘हामीलाई पढाईको महत्व छ । केटी/केटी भएको कलेज भनेर होकी के हो हामीलाई एकदमै हेपेर क्लास नै गरिदिएको छैन, नाम नखुलाउने सर्तमा भनिन्, ‘अझ हामीले फि तिर्न एक दिन लेट गर्याै भने फाइभ हन्ड्रेड चार्ज लाइदिन्छ । हाम्रै पैसा खाछ अनि लुकेर हिडिराछ ।’ त्यस्तै प्रदर्शनमै रहेकी अर्का विद्यार्थीले आफुहरुलाई सरले झुक्याउने गरेको बताइन् । ‘सरले जहिल्यै झुट बोल्नुहुन्छ । इभन घरै हुदापनि खाली बाहिर छु भन्नुहुन्छ ।’ उनले दुखेसो पोखिन् । विद्यार्थीहरुका अनुसार गत भदौदेखि उनीहरुको पठनपाठन ठप्प छ । उनीहरुले अन्तिम परिक्षाका लागि फर्म भरिसकेका छन् । तर कलेज प्रशासनले भने बेवास्ता गरेको उनीहरुको तर्क छ । ‘बाबा आमालाई कसरी भन्ने ? त्यत्रो खर्च गरेर पढाउनुभछ, कोही होस्टेलमै बसेका छन् कति रेन्टमा बसेर पढेका छन्, सबैको एउटै मेन्टालिटी हुदैन । हामीलाई पढाईको महत्व छ । तर प्रशासनले आलटाल मात्रै गरिराछ ।’ एक विद्यार्थीले भनिन् । विद्यार्थीहरुले प्रदर्शनको क्रममा ‘हाम्रो माग पुरा गर, कलेज प्रशासन होसियार, हाम्रो भविष्यमाथि खेलवाड गर्न पाइदैन, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराबाजी गरेका थिए । विद्यार्थीहरुको विरोध प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता महेन्द उपाध्याय लगायतको टोलीले साथ दिएको थियो ।

