पोखरा: नयाँ प्रदेश सांसदहरु अब छिटै गण्डकी प्रदेश सभा प्रवेश गर्दैछन् । सपथ ग्रहणका लागि । त्यसैले प्रदेश सभा भवनसहित परिसर चिटिक्क पार्न सचिवालयको टोली कस्सिएको छ । प्रवेशद्वारलाई रङ्ग्याउन सुरु गरेका कर्मचारीहरु यतिबेला गार्डेनिङ गर्नसम्म भ्याइसकेका छन् । त्यतिमात्र होइन, फर्निचर तथा सवारी साधनको मर्मत संभारसमेत सकिएको छ । र नयाँ लाइब्रेरीकोसमेत निर्माण गरिएको छ । त्यसैले प्रदेश सभा परिसरको मुहार फेरिएको छ । ६० सदस्यीय प्रदेश सभामा यसपटक ४ जना सांसद दोहोरिएका छन् । नेपाली कांग्रेसका विन्दु कुमार थापा, नेकपा एमालेका रोशन गाहामगर, माओवादी केन्द्रका हरिबहादुर चुमान र एकीकृत समाजवादीका प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ्गे) दोहोरिएका हुन् । यद्यपी ५६ जना भने नयाँ सांसदका हैसियतमा पहिलोपटक प्रवेश गर्दैछन् । ‘हामी नयाँ माननीयहरुको स्वागतका लागि तयारीमै छौ, प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले सुनगाभा न्यूजसँग भने, ‘माननीयहरुको उर्जाका लागि हामीले प्रदेश सभा सञ्चालन हल मर्मत संभार र बत्ती जडान तथा रङरोगनसहित आकर्षक बनाएका छौं ।’ उनका अनुसार प्रदेश सभा हल, सचिवालयको कार्यकक्ष, को मर्मत संभार र बत्ती जडान तथा प्रवेशद्वारदेखिनै रङरोगन, बगैंचाको गोडमेल, फूलविरुवा सार्ने कामसहित सौन्दर्यीकरण, सभामुख तथा उपसभामुखको फर्निचरहरुको व्यवस्थापन, पदाधिकारीहरुको गाडीको सर्भिसिङ भइसकेको छ । सचिव पोखरेलले पहिलो पटक प्रदेश सभा परिसरमा लाइब्रेरी निर्माण गरेको बताए । ‘अहिलेसम्म लाइब्रेरी थिएन, उनले भने, ‘म आइसकेपछि चमेना गृह भएको पुरानो भवनलाई लाइब्रेरी बनाएका छौं । यसले प्रदेश सभाको गरिमा बढाएको छ ।’ उनले सांसदहरुलाई सपथ ग्रहण कार्यक्रमकै अवसरमा लोगो वितरण गर्ने योजना रहेको सुनाए । ‘अहिलेसम्म बनेका कानून, प्रदेश सभा सञ्चालन नियमावली, एउटा संविधानको किताब र प्रदेश सभाको लोगो सुरुकै दिनमा सचिवालयको स्रोत र औकात अनुसार एउटा ब्यागमा राखेर दिने योजना बनाएको छु ।’ सचिव पोखरेलले भने । सिटमा कम, सरकार निर्माणमा दम ६० सदस्यीय गण्डकी प्रदेश सभामा कुनैपनि दलको स्पष्ट बहुमत छैन । यद्यपी नेपाली कांग्रेस गण्डकीको पहिलो दल हो । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दलको हैसियत बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो हैसियतमा छ । सिटमा कमजोर देखिएपनि सरकार निर्माणमा माओवादी बलियो देखिएको छ । त्यसैले गण्डकीको अंकगणितमा ८ सिटमा समेटिएको माओवादी केन्द्र सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका कांग्रेस—एमालेले सरकार निर्माण गर्न चाहे माओवादीको साथ अपरिहार्य देखिन्छ । माओवादीले ठुला दुवै दलमध्ये जुनलाई समर्थन गर्छ सोही पार्टीको सरकार बन्न स्पष्ट छ । यसैगरि २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
पोखराः गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गते सम्म पोखरामा सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने वताए । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालिले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने वताउदै सहकारी संचालकहरुले कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरणमा अझैपनि ध्यान नदिदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको बताए । गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिकासंग सहकार्य गरि कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु सुद्धिकरण भएर जाने वताउदैै घर्ती मगरले सहकारी अभियानमा देखिएका बिकृति, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीमा देखिएका समस्याहरुलाई हल गर्नका लागी आफु र आफ्नो कार्यालय तत्पर रहेको भएतापनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग नयाँ बानेश्वर काठमाडौका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताए । तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको र तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले वताए । सहकारीमा मनोमानी गर्ने र नाममात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइ त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यक्ता रहेको वताउदै सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संघ हरुले कोपोमिस प्रणालीमा सहकारीहरुलाई आवद्ध गराउनमा कार्यक्रममा सहभागीता जनाएका हरुले उल्लेख्य भुमिका खेल्नुपर्नेमा जोड दिइन । सहकारीको मुल मन्त्रलाई सहकारीहरुले आत्मसाथ गर्न नसक्दा अहिलेपनि सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको उनको भनाइ रहेको थियो ।
पोखराः अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो । दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए । महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी समेत दिए । ‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उनले भने । अन्तरक्रिया कार्यक्रममा मिलन तामाङले जुग्ल हिमालको विषयमा प्रस्तुति दिएका थिए । जुगल हिमाल काठमाडौंबाट नजिक रहेपनि बेवास्तामा परेको उनको भनाइ थियो । ‘छोटो छुट्टि भएकाहरुलाई जुगल हिमाल ट्रागेट गर्दा निकै पोटेन्सियल देखिन्छ । प्रचारप्रसारको काम अझै बाँकी छ । काठमाडौँबाट जम्मा केही मिटर पर छ । तरपनि त्यो छायाँको रुपमा देखिएको छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा रहेको हिमाल छायाँमा परेको हुनाले हामीले केही समय अघिदेखि यसबारे अध्ययन ग¥यौं । त्यसपछि पनि हामीले निरन्तर काम गर्दै आयौं ।’ यस्तै ‘वुमन मुभ माउन्टेन’नाराका विषयमा पनि अन्तक्रिया कार्यक्रम भएको थियो । पोखराका विभिन्न कलेजमा अध्ययनरत पाँच जना छात्रालाई वक्ताको रुपमा बोलाइएको थियो । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारा सहित मनाउने निर्णय गरेको हो । सोही विषयमा वक्ताका रुपमा आएका वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले आफनो विचार राखे । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताइन् । ‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ रर फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्,’ सुरुनाले भनिन्, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’ हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै आयोजना भएको महोत्सवमा विभिन्न कार्यक्रम समावेश गरिएको थियो । छेलो हान्ने प्रतियोगितादेखि अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धा राखिएको थियो । छेलो हान्ने प्रतियोगितामा प्रथम हुँदै रोहित सुनारले २५ हजार र प्रमाणपत्र जितेका छन् । यस्तै दितियमा किरण सुनारले १० हजार र तृतीयमा बादल गुरुङले ५ हजार नगद प्राप्त गरेका छन् । अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम भएकी छिन् । दोस्रोमा सिर्जना विद्यालयका लक्ष्मण पौडेल र तेस्रो कृपा गुरुङ भएकी छिन् । महोत्सवमा भाग लिएका विद्यार्थीदेखि हिमाली क्षेत्रको परिकार प्रर्दशनमा राख्ने सबैलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी निमर्ला न्यौपानेले धन्यवाद दिएकी छन् । ‘महोत्सवमा उपस्थिती भएर सफल बनाउने सबैलाई धन्यवाद । पर्वतीय दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने महोत्सव भव्यतका साथ सम्पन्न भएकोमा खुशी लागेको छ,’ उनले भनिन्, ‘पर्वतीय दिवसको नारा जस्तै र अघि भर्खर प्यानलमा वक्ताहरुले भने जस्तै हिमाल संरक्षणको लागि महिलाको भूमिका महत्वपूर्ण छ ।’ यस्तै संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सवले हिमाली क्षेत्रबारे ज्ञान दिन मद्दत गर्ने बताए । महोत्सवको सिजन छ पोखरामा यतिबेला । जसमध्ये सबैभन्दा राम्रो र ज्ञानपूर्ण महोत्सव पर्वतीय महोत्सव रहेको बताउँछन् गुरुङ । ‘हाम्रो यो महोत्सव पोखराका महोत्सव भन्दा फरका । पहिलो यहाँ हामी शूल्क लिँदैनौ । यो आम्दानीको लागि होइन । यो महोत्सव ज्ञान बाड्नको लागि हो । यसले हिमाली क्षेत्रको विषयमा महोत्सवमा आउने व्यक्तिलाई धेरै विषयमा सिकाउँछ,’ डा. गुरुङले भने ।
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले '२१ औं सेन्चुरी ल्होसार मेला' आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनले साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ । उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहितअन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ ।
तनहुँः तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइ दिएका छन् । वडा नं. ९ का सदस्य दिपक महतले आइतवार विहान कार्यालय खुल्ने वित्तिकै वडा अध्यक्ष बाबुराम पुलामी मगरको कार्यकक्षतामा लगाएका हुन् । ढोरबाराही मन्दिरको समिति निर्माण र अन्य निर्णहरुमा वडा अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउदै तालबन्दी गरेको महतले बताएका छन् । यता वडा अध्यक्ष पुलामीले भने ढोरबाराही मन्दिरको समिति मेयर र उपमेयरको रोहबरमा बनाइएको बताएका छन् । अन्य वडाका निर्णहरुमा पनि सबै सदस्यहरुको सामुहिक निर्णय अनुसार आफू बढेको उनको भनाई छ । सो वडामा वडा अध्यक्षसहित ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । यसअघि पनि वडा सदस्य महतले असन्तुष्ट व्यक्त गर्दै कार्यालयमा अनुपस्थित हुने गरेका थिए । पार्टीले छलफल गरेर सहमति गरेपछि उनी वडामा जान थालेका थिए । यसैबीच उपमेयर खुम बहादुर विकको रोहबरमा विहानै वडा अध्यक्षको कार्यकक्षमा लगाईको ताला फोडिएको छ । उपमेयर विकसहित, वडा नं. ७ का अध्यक्ष खड्कसिंह थापा, वडा नं. ८ का अध्यक्ष नारायण सिंह थापा, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालसहितको उपस्थितिमा ताला फोडिएको हो । उपमेयर विकले विमती भए छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । साथीहरुबीच समस्या हुन सक्छन, यो कुनै ठूलो कुरा होइन, उनले भने, तर कार्यकक्षमै ताला लगाएर मात्र समाधान भने हुदैन ।
पोखरा: आसन्न निर्वाचनअन्तरगत गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी सबै उम्मेदवार पुरुष रहेका छन् भने समानुपातिकतर्फको सबै सिटमा महिला चयन भएका छन् । प्रतिनिधि एवं प्रदेश सभामा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था अनुरुप प्रत्यक्षमा विजेता सबै पुरुष भएपछि समानुपातिकमा महिलालाई मात्रै चयन गर्नुपरेको हो । चयन भएका महिला सांसदमा सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि रहेका छन् । \ यस्तै, प्रत्यक्षतर्फ बिन्दुकुमार थापा, प्रकाश बराल, जितप्रकाश आले, अशोक श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, भेषबहादुर पौडेल, टकराज गुरुङ्, सुरेन्द्रराज पाण्डे, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, नम्डु गुरुङ्, विकल शेरचन, मुनिन्द्रजंग गुरुङ्, महेन्द्रध्वज जिसी, भोजराज अर्याल र महेश भट्टराई रहेका छन् । प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवारले बाजी मार्दा समानुपातिक सूचितर्फ पहिलो नम्बरमा रहेका प्रदेश सभापति शुक्रराज शर्मा ‘अभागी’ सावित भएका छन् ।
पोखरा: विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ । फेवातालको बीच भाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनः निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए। पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष कुँवरले जानकारी दिए । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताए । मन्दिर पुनः निर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिए । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यक्तिले मन्दिरमा प्रवेश पाउँछन् । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । त्यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो । तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको बताए । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भन्यो, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाज सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । कुलमन्डनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाउनुभयो । क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालबाराही देवीको शिला राखि पूजिँदै आएको किंबदन्ती छ । फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको बताइन्छ । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उनले सुनाए । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ । डुङ्गा र तालबाराही मन्दिरका लागि प्रसिद्ध फेवाताल पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको बताइन्छ । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा बाराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ । यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवाताल समुद्री सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ ।
पोखराः पोर्चुगललाई पराजित गर्दै अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १(० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए। शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १(० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए। खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि उनको प्रभाव दोस्रो हाफमा पोर्चुगलको टिममा देख्न सकिएन। मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए। मोरक्कोविरुद्ध खेलेसँगै रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरे। कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका हुन्। खेलको अन्त्यतिर मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। मोरक्कोका चेडिरा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स वा इंग्ल्यान्डमध्ये एक टिमसँग भिड्नेछ। फ्रान्स र इंग्ल्यान्ड अन्तिम क्वार्टरफाइनलको खेलमा भिड्दैछन्।
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ । नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो । उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए । भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ । पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ ।

