वीरगञ्ज: पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए । गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो ।
काठमाडौं: यस्तो लाग्छ, ‘भ्वाइस अफ नेपाल’को फिनाले नहुँदै आशिष महर ‘स्टार’ भइसके । धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारे । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए । सञ्चालिका मञ्जु पौडेलले महर आउन लागेको माइकबाट बताएपछि भीड उर्लिएको थियो । आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्यो । महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । ‘अझै पनि मलाई तपाईंको साथ र सहयोग चाहिन्छ,’ उनले भने । द भ्वाइस अफ नेपालको अन्तिम आठमा प्रवेश गरेका आशिष कोच प्रमोदको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा महानगरपालिकाबाट जम्मा हुने फोहोर व्यवस्थापन गर्न अहिले ल्याण्डफिल साइटको खोजी भइरहेको छ । नयाँ साइटको खोजीमा अहोरात्र मिहिनेत गरिरहेको महानगरसँग प्रश्न गर्दा ‘अब छिट्टै टुंगो लाग्ने’ रेडिमेड जवाफ पाइन्छ । तर रेडिमेड जवाफ हैन काम नै भइरहेको पोखरा महानगर फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार ल्याण्डफिललाई डम्पिङ् साइट भनेर बुझ्दा स्थान चयन हुन नसकेको बताउँछन् । प्रशोधन केन्द्र स्थापना गर्न ८० देखि सय रोपनीसम्म जमिन आवश्यक पर्ने महानगरको अनुमान छ । हाल भइरहेको जस्तो फोहोर डम्पिङ् गर्ने नभई प्रशोधन केन्द्रकारुपमा ल्याण्डफिल व्यवस्थापन हुने अधिकारीले जनाए । वडा नम्बर ३३ का अध्यक्षसमेत रहेका अधिकारीले धरान र दिल्लीमा अवलोकन गरेर फर्किएपछि सोही अनुसारको व्यवस्थापन गर्ने तयारी भइरहेको दाबी गरेका छन् । महानगरले हाल वडा नम्बर २१, २२ र ३३ मा साइट राख्ने प्रारम्भिक निष्कर्ष निकालेर योजना बनाइरहेको छ । ‘फोहोर फाल्ने डम्पिङ् साइट राख्न दिनुहुन्न भन्ने बुझाई छ’ अधिकारी भन्छन् ‘ तर त्यसो होइन, हामी पूर्ण आधुनिक शैलीमा प्रशोधन केन्द्र बनाउँने छौं । अधिकारीका अनुसार जहाँ फोहोर प्रशोधन केन्द्र स्थापना हुन्छ त्यस वडामा अवसरहरु पनि उपलब्ध हुनेछ । ‘मुख्य कुरा त त्यस वडामा रोजगार सृजना हुनेछ, त्यहाँ वडाबासीलाई प्राथमिकता दिइनेछ’ अधिकारी भन्छन्, ‘सडक, बाटोघाटोसँगै विकास र पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन हुनेछ ।’ त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको विषय भएकाले प्रदेश र संघबाट पनि उक्त वडामा रकम विनियोजन हुने सम्भावना उत्तिकै रहेको उनको धारणा छ । विमानस्थल पोखरा र देशकै गौरवमय योजना भएकाले अब कसैले पनि अनावश्यक खिचलो थाप्न नहुने भन्दै उनले सबै पक्षलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
काठमाडौं: अर्जेन्टिना र क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाएर सेमिफाइनमा स्थान बनाएको छ । यता, समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले त्यसपछि क्यानडा, जापान र ब्राजिललाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना पनि ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि नजिक पुग्न आज अर्जेन्टिना र क्रोएसिया पहिलो सेमिफाइनल खेल्दैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले र क्रोएसियाका लागि लुका मोड्रिचले कप्तानी सम्हाल्नेछन् । अर्जेन्टिनाले यसअघि क्रोएसियासँग पाँच पटक भिडिसकेको छ । अर्जेन्टिना यसपटकपनि क्रोएसियालाई पारजित गर्दै विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले यसअघि दुई पटक विश्वकप जितिसकेको छ । सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले यसपटक विश्वकपको उचाल्ने योजनामा छ । अहिलेसम्म क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन । यसअघि समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।
पोखराः एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ । आगामी पुष २७ देखि माघको ९ गते सम्म युनाईटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । पोखरा नयाबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ । पोखरा महोत्सव संग सहकार्य गरी आफ्नो ब्यापार संगै महोत्सव आयोजक युनाईटेड क्लवले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि वढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो । युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै महोत्सवको माध्यामबाट प्रा.लि. बाट उत्पादित सामाग्रीहरुको प्रवद्र्धन गर्न आफुहरुले कुनै कसर बांकी नराख्ने समेत बताए । महोत्सवबाटै सामाजिक काममा आफुहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए। महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ । जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । एघारौ पोखरा महोत्सवदेखी युनाईटेड क्लबले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए ।
पोखराः पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठक आइतबार बस्यो । बैठकले भवन तथा घर अभिलेखिकरणको म्याद थप गर्ने निर्णय गर्याे । महानगरले भवन तथा र अभिलेखिकरण गर्ने म्याद पुष २ गते सकिने भन्दै ३५ दिनको म्याद गरेको स्रोतले जानकारी गरायो । नवौं बैठकको बारेमा सुनगाभा न्यूजसँग कुरा गर्दै स्रोतले पोखरा महानगरभित्र अनुमति नलिई निर्माण भएका घर तथा भवनहरुलाई दर्ता गर्न ३५ दिन म्याद थप गर्ने निर्णय गरेका स्पष्ट पार्याे । ‘पोखरा महानगरभित्र महानगरबाट नक्सापास नलिई ६० प्रतिशत भन्दा बढी घर भवन निर्माण भएका छन्, विना स्विकृति निर्माण भएका घर भवनहरुलाई राजस्व तथा करकोे दायरा ल्याउन म्याद थप गरिएको हो ।’ स्रोतले भन्यो । महानगरले भवन घरहरुलाई अभिलेखिकरण गर्न ३५ दिने म्याद थप गर्दै प्रत्येक वडामा आफ्नो घर भवन अभिलेखिकरण गर्न अनुरोधसमेत गरेको छ । यस्तै बैठकले केही महिनादेखि रोकिएको जग्गा कारोवार तथा भूमि वर्गीकरणसमेत खुल्ला गरेको छ । बैठकमा ल्याण्डफिल साइटले पाएन स्थान पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठकमा पोखरा अन्तरराष्ट्रिय विमानस्थतल सञ्चालनको पूर्वसर्त रहेको ‘ल्याण्डफिल साइट’ व्यवस्थापन बारे स्थान पाएन । यद्यपी महानगरपालिकाले पोखरा १४ मा फोहोर नफाल्ने जानकारी दिइसकेको छ । तर अहिले तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ । पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताए । महानगरको बैठकमा अनौपचारिक कुराकानीमा ल्याण्डफिल साइट कहाँ बनाउने भन्ने विषयमा कुराकानी भएपनि स्थान किटान गर्न नसकेको स्रोतको दाबी छ । यता महानगरका मेयर धनराज आचार्यले ल्याण्डफिल साइट टिकट काटेर हेर्ने बनाउने अभिव्यक्ति दिदैं आएका छन् । उनको उक्त अभिव्यक्तिमाथि कटाक्ष पनि हुदै आएको छ । कार्यपालिका बैठकमै सो विषयमले स्थान नपाएपनि उपयुक्त स्थानको खोजीमा रहेको महानगर स्रोतको दाबी छ । ‘अहिले प्राविधिक परिक्षणकै चरणमा छौं, स्रोतले भन्यो, ‘फाइनल नभएकै कारण स्थानको नाम बाहिर ल्याएका छैनौं ।’ पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले पोखरा महानगरले प्रयोग गरिरहेको १४ स्थित ल्याण्डफिल साइट बन्द गर्न सुझाव दिएपछि महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते पत्रमार्फत मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो ।
धादिङ: धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ”, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ ।” मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।
काठमाडौं: तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए । स्ववियुको निर्वाचन २/२ वर्षमा हुनुपर्ने त्रिविको कानुनी व्यवस्था छ । तर, त्रिविका आंगिक क्याम्पसहरूमा विगत १४ वर्षदेखि र देशैभरका क्याम्पसहरूमा विगत ५ वर्षदेखि चुनाव हुन सकेको छैन । विद्यार्थी आन्दोलन र राजनीतिलाई कमजोर र निरीह तुल्याउने, विश्वविद्यालयमा शैक्षिक मुद्दा ओझेलमा पार्ने र विश्वविद्यालयमा भ्रष्टाचार मौलाउने गरेको भन्दै त्यसलाई निरूत्साहित पार्न हरेक २र२ वर्षमा चुनाव हुनुपर्नेमा नेविसंघले जोड दिएको छ । प्रत्येक २र२ वर्षमा स्ववियु निर्वाचन गराउनु सबैको प्रमुख दायित्व भएकाले यस विषयमा गम्भीर भएर लाग्न समेत माग गरेका छन् । स्ववियु निर्वाचनका लागी आफूहरू तयारीमा रहेको बताउँदै त्यसका लागि विश्वविद्यालयले पनि सशक्त भएर अगाडि बढ्न माग गरे । ‘हामीसँग भएका पटक–पटकका वार्ता र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र पनिकाका सबै कामकाज आनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

