पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:  विमानस्थल सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिने भएको छ ।  विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेस मनकर्मीका अनुसार आज दिउँसो साढे १ बजे विमानस्थलमा आपतकालीन उद्धार अभ्यास हुनेछ ।   उनले आपतकालीन उद्धार अभ्यासका लागि विमानस्थल परिसरमा एम्बुलेन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने गरिने जानकारी दिए  ।  साढे १ बजे उद्धार अभ्यास गर्ने तयारी भइरहेको छ, उनले भने, ‘भवितव्य परेको बेला छिटै उद्धार गर्न यस अभ्यासले सघाउछ ।’   उनले यसअघि सो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको बताए  । ‘हाम्रोमा एक हप्ता एरो थाईको जहाजले क्यालिब्रेसन फ्लाइट गरिसकेको छ । अब छिटै आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिरहेको छ भन्ने बुझिएको छ ।’ उनले भने ।   विमानस्थल अंग्रेजी नयाँवर्षदेखि सुरु गर्न भनिएपनि ल्याण्डफिल साइट व्यवस्थापन र रिठेपानी डाडा कटानको काम अझै सकिएको छैन ।    करिब २२ अर्ब लगानीमा निर्मित विमानस्थल बनाउने जिम्मा चिनिया कम्पनी सिएएमसीले पाएको थियो । आयोजनाका अनुसार सो विमानस्थल अन्तर्राष्टिय मापदण्ड अनुसार फोर डि मोडेलमा बनेको छ । 

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदैँछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक पनि विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवितनै राखेको छ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको लयलाई निरन्तरता दिन चाहान्छ । यता, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने दाँउमा रहेको छ। अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो । यस्तै अर्को खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का गरेको हो । नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो । २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेका थिए । २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । २०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । यसपटक अर्जेन्टिना त्यो भन्दा अघि बढ्न दाउमा रहेको छ ।

पोखराः   बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् ।  फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा सञ्चालन हुने १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री  ओली पोखरा आउने भएका हुन् ।  ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए । भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् । फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको बिहिबार फेसबुकमा ​ पोस्ट गरेका छन् । (नेपाल लिटरेचर फेस्टिभल)को दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’ फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।

पोखराः  ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबलतर्फ २० खेल सम्पन्न भएको छ ।    निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत आज (बिहिबार) दोश्रो दिन फुटबल तर्फ २० खेल सम्पन्न भएको हो । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका हुन् ।  सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ ।   सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ ।   त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–०, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपालाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।  त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।  १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।   

पोखराः   चिल्ली ग्रुपले पोखराको लेकसाइडमा हिमालयन ग्लोरी इन प्रा.लि (होटल) तथा थ्री सिक्स्टी स्काई लाउन्ज (रेन्टुरेन्ट) सञ्चालनमा ल्याउको छ ।  पोखरा महानगरपालिका ६ हल्लनचोकमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायिक समूह ‘चिल्ली ग्रुप’ ले पत्रकार सम्मेलन गर्दै भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइने जानकारी दिइएको हो । हिमालयन ग्लोरी इन प्रा.लि तथा थ्री सिक्स्टी स्काई लाउन्ज करिब १२ करोडको लगानीमा सञ्चालनमा ल्याइएको म्यानेजर लेखनाथ पहारीले बताए । ‘होटल तथा रेस्टुरेन्टको निर्माण सन् २०१८ मा करिब १० करोडको लगानीमा सम्पन्न गर्ने गरी निर्माण शुभारम्भ गरेका हौं, ९० प्रतिशत निर्माण सम्पन्न भएपछि विश्वव्यापी रुपमा कोरोना भाइरससँगै विविध कारणले समयमा निर्माण सम्पन्न हुन सकेन्, पहारीले भने, ‘ निर्माण सम्पन्न गर्ने लक्ष्य भन्दा साढे २ वर्षपछि सञ्चालनमा आएको होटल करिब १२ करोड लगानी भएको छ ।’ उनका अनुसार ३० देखि ४० जनाको सिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा बाल्कोनीसहितका १५ कोठा भएको होटल एवम् रिसेप्शन, एयर कन्डिसन रुम रहेको छ भने, पृथक शैलीमा निर्माण गरिएको होटल तथा रेस्टुरेन्टमा लिफ्ट जडान गरिएको छ । औपचारिक शुभारम्भ भोलि २३ गते (शुक्रबार) हुने र सोलो गगनको लाइभ सांगीतिक प्रस्तुती समेत रहने प्रालिले जनाएको छ ।  

पोखराः  आसन्न निर्वाचनको पुरै परिणाम नआइसकेपनि गण्डकी प्रदेशको नतीजा भने छिनोफानो भइसकेको छ ।  यसपटकको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फ २ सिटकासाथ प्रवेश गर्दैछ ।   प्रत्यक्षतर्फ कुनैपनि सिट नजिते पनि समानुपातिक मतको आडमा अब राप्रपाका सांसदलाई प्रदेश सभामा देख्न पाइनेछ ।  प्रदेश सभामा राप्रपा चौथो शक्तिकारुपमा प्रवेश गर्दा यसपटक राष्ट्रिय जनमोर्चा भने ओझेल परेको छ ।    प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा जीत हात पार्दा समानुपातिकबाट ९ सांसद थप्दैछ । दोस्रो स्थानमा नेकपा एमालेले प्रत्यक्षबाट १२ र समानुपातिकमार्फत १० सिट पाएको छ ।    त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ३ सहित ८ सिट हात पारेको छ । केही दिनसम्म शून्यको अवस्थामा रहेको नेकपा एसले स्वतन्त्र उम्मेदवारी दिएर जितेका राजीव गुरुङ्लाई पार्टी   प्रवेश गराएपछि १ सदस्यकासाथ आफुलाई पाँचौमा पार्न सफल भएको छ ।    राप्रपाले प्रदेशमा समानुपातिकतर्फ ५९ हजार ४८३ मत प्राप्त गरेको छ । उक्त मत प्रदेशमा ६ प्रतिशत हो । 

पोखराः  पोखरालाई प्राकृतिक र सांस्कृतिक रुपमा धनी शहरको रुपमा चिनिन्छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानगर लागि परिरहेको छ ।  पोखरामा दैनिक हजारौंको सङ्ख्यामा आन्तरिकदेखि बाह्य पर्यटकको घुँइचो छ । सूर्योदयसँगै पोखराको धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा आन्तरिक पर्यटकको घुँइचो नै लाग्छ । बिहान, दिउँसो साँझ पोखराको लेकसाइड क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल बढ्दो छ ।  अंग्रेजी नयाँ वर्ष सुरु हुन करिब तीन साता मात्र बाँकी छ । अंग्रजी नयाँवर्षलाई पोखरामा छुुट्टै तरिकाले स्वागत गरिदै आएको छ । पोखरामा विभिन्न देशबाट आउने विदेशी पर्यटकलाई अंग्रेजी वर्षमा कुनै खल्लो महसुस हुन नदिन वर्षेनी रेष्टुरेन्ट एण्ड बार एशोसिएशन  (रेवान)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आएको छ ।  यतिबेला रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले लेकसाइडमा आयोजना हुने २४ औं पोखरा सडक महोत्सवको तयारी तिव्र पारिएको छ ।  रेवानले बुधबार पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ  वर्षको गन्तव्य स्थलको रुपमा विकास गर्न आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए ।    ‘सडकमै खाउ,सडकमै रमाउँ, पोखरा सडक महोत्सवको मुख्य नारा हो, पोखराको पर्यटन प्रवद्र्धनमा बेग्लै पहिचान स्थापित गरेको छ, भट्टराईले भने, ‘राजनैतिक अस्थिरता, नाकाबन्दी, कोरोना महामारी लगायतको समस्याले व्यवसायीलाई धारायसी बनाएको छ । धारासयी भएको व्यवसायले सडक महोत्सवले केही राहत पैदा गर्नेछ ।’ उनले पोखरा सडक महोत्सव पुष १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताए । ‘पुष १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म सञ्चालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरे चोक हुँदै जरेबरसम्म हुनेछ ।’ उनले भने ।  महोत्सवले पर्यटन प्रवद्र्धन, तथा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको रेष्टुरेयट बार एशोसिएशन  (रेवान) पोखराले जनाएको छ । महोत्सवले पोखराको लेकसाइडको मात्र नभएर समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य लिएको छ ।  ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा ८५ लाख कारोबार हुने भई १० लाख बचत हुने र करिव ४ देखि ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ भने, महोत्सवको अवसरमा होटल संघले रुममा २० प्रतिशत छुट दिने बताइएको छ ।  सडकमै खाना, झाँकी प्रदर्शनदेखि खेलकुदसम्म  महोत्सवलाई थप आर्कषित बनाउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)ले सडकमै खाउ, सडकमै रमाउँ नारासहित विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा (बोट) रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वारसहित पोखराको मुख्य प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन गरिने आयोजकले जनाएको छ  ।   

काठमाडौं:  समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ताले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले खबरदारी गरेका हुन् । बिहीबार धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्द सूची तय गरेको भन्दै त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताए । ‘हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ उनले भने, ‘त्यसैले हामीले खाली ध्यानाकर्षण गराएको हो । बिग्रियो भने त बिग्रियो त । तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’ रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन् ।

पोखरा:  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवअन्र्तगत बुधबारबाट छात्र तथा छात्रा एकलतर्फको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।  बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए । छात्रतर्फ एलपी देवकोटा मेमोरियल विद्यालयका आशिष थापालाई पराजित गर्दै साईनिङ स्टारका अर्पन राई, हेम्जा बोर्डिङ स्कुलका आशिष थापालाई पराजित गर्दै गोरखा इङ्लीसका लिलिन नेपाली, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साललाई पराजित गर्दै यूनिभर्स बोर्डिङ स्कुलका सिरिस बास्तोला, पुष्पसदन बोर्डिङ स्कुलका मोनिक थापालाई पराजित गर्दै चिल्ड्रेन्स एकेडेमीका अमृत गुरुङ विजयी भए ।  यस्तै, बड्स एकेडेमीका आयूस पहारीले रिलायन्स स्कुलका समिर जिसीलाई, ज्ञानज्योतिका सोमबहादुर गुरुङले सिद्धार्थ लभडेल बोर्डिङ स्कुलका बिशाल गुरुङलाई, सिद्धि विनायक बोर्डिङ स्कुलका सन्दिप खड्काले कान्तिपुर एकेडेमीका दिपिन सुनार र कास्की मोड्नाइज एकेडेमीका दिप रानाले गण्डकी एकेडेमीका सागर थापालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।  यसैगरि छात्रा एकलतर्फ त्रिवेणीकी परिसा गुरुङले इम्यानुअल स्कुलकी प्राप्ती गुरुङलाई, पुष्पसदन एकेडेमीकी भेलेन्सिया गुरुङले हिलसाइड इङ्लिस स्कुलकी सहारा खड्कालाई , कास्की कास्की मोड्नाइज एकेडेमीकी सोनिका थापाले , बड्स एकेडेमीकी दिपलक्षा सुनारलाई पराजित गरिन् ।  यस्तै कान्तिपुर एकेडेमीकी दिया गुरुङले साइनिङ स्टार स्कुलकी बिना घिमिरेलाई , ज्ञानज्योति बोर्डिङ स्कुलकी अन्सु गुरुङले अल्फा एकेडेमीकी निकिता न्यौपानेलाई र अञ्जुली बोर्डिङ स्कुलकी मेनुका पुनले हेम्जा बोर्डिङ स्कुलकी एञ्जिला बुढाथोकीलाई पराजित गर्दै  । क्वाटर फाइनल प्रवेश गरेका छन् भने सिद्धिविनायक बोर्डिङ स्कुलकी एनी गर्बुजा लिटिल फ्लावर स्कुलले वाक ओभर दिएपछि सोझै क्वाटरफाइनलको यात्रा तय गरेकी छन् । लिग कम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय र छात्रातर्फ ३० विद्यालयको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।  यसअघि आज नै छात्र तथा छात्रा एकलतर्फको पहिलो खेलबाट दोश्रो चरणमा प्रवेश गरेका थिए । बिहीबार क्वाटरफाइनल , सेमीफाइनल चरणका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।