पोखराः बाक्लो कुहिरोले घाम छेक्दा चितवनको माडी नगरपालिकामा कठ्यांग्रिने चिसो हुन्छ । माडीलाई आफ्नो थातथलो बनाएका चेपाङ समुदाय आङ ढाक्ने न्यानो कपडा नहुँदा आगो तापेर बस्न बाध्य छन् । न्यानो कपडाकै अभावमा बालबालिका विद्यालय जानबाट बञ्चित छन् । जाडो याममा माडीका विद्यार्थीलाई नियमित विद्यालय ल्याउन पोखराले न्यानो बाँडेको छ । पोखराका चार संस्थाले माडीका विद्यालयमा न्यानो कपडा वितरण गरेका हुन् । लायन्स क्लब अफ पोखरा लेकसाइड, लायन्स क्लब अफ पोखरा गार्डेन, लायन्स क्लब अफ पोखरा रानीवन र फ्रेन्ड्स अफ नेचर नेपालले गरिब तथा विपन्न विद्यार्थीलाई बिहीबार न्यानो कपडा वितरण गरेका हुन् । संस्थाले माडी–९ गोविन्दबस्तीमा रहेको श्री आधारभूत विद्यालय, गणेशकुञ्ज आधारभूत विद्यालय र माडी–६ मा रहेको मनमोहन बालग्राम आधारभूत विद्यालयमा २ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे । न्यानो कपडा पाउनेमा स्थानीय चेपाङ, दलित र विपन्न विद्यार्थी थिए । श्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ घिमिरेले ठन्डीकै कारण चेपाङ समुदायका बालबालिका हिउँदमा विद्यालय नआउने समस्या रहेको सुनाए । ‘जाडो ढाक्ने कपडा छैन । दिनभरि वनमा दाउरा खोजेर विहान बेलुका तापेर बस्नुपर्छ,’ उनले भने, ‘विद्यालय आउनुपर्ने विद्यार्थी दाउराको जोहो गर्न जानुपर्छ ।’ झण्डै एक–डेढ घण्टा टाढाबाट जंगलको बाटो हुँदै विद्यालय आउनुपर्दा जंगली जनावरको डर पनि उत्तिकै हुने उनले बताए । कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष नवराज अधिकारीले चार वर्षदेखि निरन्तर रुपमा माडीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिरहेको बताए । ‘यहाँका विद्यार्थी न्यानो कपडाको अभावमा विद्यालय नै नजाने स्थिति रहेको थाहा पाएपछि निरन्तर सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोग जारी रहने छ ।’ न्यानो कपडा वितरण कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिवल्लभ त्रिपाठीले विपन्न तथा सीमान्तकृत बस्तीमा लायन्सले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मन्त्रलाई आत्मसात गर्दै माडीमा आइपुगेका हौं,’ उनले भने, ‘लायन्स सिंहको जस्तै ठूलो मुटु भएका व्यक्तिहरुको संस्था हो ।’ उक्त अवसरमा क्लबका कोषाध्यक्ष कमलकुमार भुजेलले विद्यार्थीलाई जुत्ता, चप्पल खरिदका लागि श्री आधारभूत विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गरे । न्यानो कपडा वितरण कार्यक्रमको स्थानीय संयोजन टीकाराम आचार्यले गरेका थिए । पोखराबाटै पुगेका लियो क्लबले विद्यार्थीलाई सरसफाइ सम्बन्धी प्रशिक्षण दिए ।
काठमाडौंः आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीतिमा मानव अधिकारलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री रहेका पनि उल्लेख गर्नुभएको छ ।
काठमाडौंः खेल पत्रकारितामा कलम चलाउँदै आएका एक प्रतिष्ठित अमेरिकी फुटबल पत्रकार ग्रान्ट वाहलको शुक्रबार कतारमा निधन भएको छ । पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका थिए । न्यूयोर्क टाइम्सका अनुसार खेलको अन्तिम मिनेटमा वाहल प्रेस बक्समा थिए । सोही बेला अचानक उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो । खेल चल्दाचल्दै नै एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ । फक्स स्पोर्ट्स र अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टका सामग्री पछिल्लो समय डिजिटल माध्यम ‘सबस्ट्याक’ मा पढ्न पाइन्थ्यो । उनका ‘द बेकह्याम एक्सपेरिमेन्ट’, ‘मास्टर्स अफ मोडर्न सकर’ र ‘फुटबल २।०’ पुस्तक प्रकाशित छन् ।
काठमाडौंः काठमाडौंमा तेस्रो पटक मेलम्चीको पानी वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आस उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । लामो लाइन लागेर सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको सङ्ख्या आज पनि उल्लेख्य देखिन्छ । पानी वितरण सुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी भइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखा पर्ने निश्चित छ ।पानीको अभाव खड्की रहने काठमाडौँ उपत्यका यति बेला मेलम्चीको पानी वितरणसँगै राहत महसुस गर्नुपर्ने हो । शुक्रवार खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा उहाँले काठमाडौंवासीलाई अस्थायी रूपमै भए पनि १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर मेलम्चीको पानी काठमाडौं भइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभूति गर्न सकेका छैनन् । मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिकागली, मध्यपुरथिमी नयाँ पोखरीबाट ३० लाख, कटुन्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगन्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगन्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ । तर पनि सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । हाल काठमाडौँ उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ ।
काठमाडौंः नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली टाइब्रेकरमा भने सफल हुन सकेन । टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे । मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे । अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे । ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए । ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए । वेघर्स्टले त्यसलाई नियन्त्रणमा लिँदै गोल गरेपछि खेल बराबर भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा अर्जेन्टिनाको जितसामु पोस्ट बाधक बन्यो । एन्जो फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिंदा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
काठमाडौंः टाइब्रेकरमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेकोहो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए । चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो । अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए । अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे । दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् । आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।
पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिएको छ । विमानस्थल सञ्चालनको तयारीमा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालीन उद्धार अभ्यास गरिएको हो । विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो दखिएपछि एम्बुलेन्स आवतजावत एंव नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको थियो । आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा रहेका फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको उद्धार टोली र उद्धार पछिको उपचारको लागि स्वास्थ्यकर्मीको टोलीले अभ्यास गरेका थिए। एम्बुलेन्स तथा दमकलसमेतको उक्त टोलीले दुर्घटनामा परेको जहाजबाट घाईतेको उद्धार गरि सुरक्षित स्थानमा पुर्याएर तत्काल गर्नुपर्ने उपचारको समेत आपतकालिन अभ्यास गरेको थियो। करिब २ बजेदेखि गरिएको उक्त अभ्यासमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको थियो। आपतकालिन अभ्यासको क्रममा ‘अनामपुरबाट आएको एबीसी एयरलाइन्सको एम १२३ नम्बरको जहाज रनवे ०३ बाट जहाज अवतरण गर्नेबेला धावनमार्गको दायाँतर्फ चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ । जहाजमा १८० जना सवार हुन्छन् । दनदनी बलिरहेको जहाजलाई विमानस्थलमा तयारी अवस्थामा रहेका ३ वटा दमकलले आगो निभाउँछन् । लगत्तै एम्बुलेन्स तथा सुरक्षा निकाय उद्धारमा खटिन्छन् । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर पनि आउँछ । यो सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गरिएको आपतकालीन उद्धारको अभ्यास कार्यक्रममा देखिएको दृश्य हो । नागरिक उड्डयन प्राधिकरणको अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि सञ्चालनदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । सोही योजनाका लागि शुक्रबार विमानस्थलमा ‘अलर्ट वान’ अर्थात एअरपोर्ट क्षेत्रमै घट्न सक्ने दुर्घटनाको उद्धारको अभ्यास गरिएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । विमानस्थल नियमित सञ्चालनमा आएपछि आपतकालीन दुर्घटना उद्धारका ३ वटा फायर फाइटिङ भेइकल, २ वटा एम्बुलेन्स हुने प्रवक्ता जोशीले जानकारी दिए । उनले भने, ‘त्यसका लागि हामीसँग चाहिने सबै कर्मचारी, जनशक्ति तयार नै हुनुहुन्छ ।’ प्रवक्ता जोशीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न आफूहरु तयार रहेको दाबी गरे । ‘तोकिएको समयमै विमानस्थल सञ्चालनमा ल्याउन हामी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसका लागि हामी १२० दिनदेखि नै समिति गठन, सरोकारवाला निकायसँग पनि निरन्तर छलफल, अन्तरक्रियामै छौं ।’ तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त)
पोखरा: ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत बिहिबार दोश्रो दिन फुटबलका प्रतिष्पर्धाहरु जारी रहेका हुन् । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ । सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ । त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपलाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । यता जुनियरतर्फको एक अर्को खेलमा पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–० ले पराजित गरे पनि पोखरा लनर्सले खेलाडीको विषयलाई लिएर प्रोटेष्ट हालेको थियो । छानविन पश्चात स्पाइरललाई आयोजकले २० हजार नगद सहित एक वर्षका लागि प्याव्सनको कुनै पनि गतिविधीमा सहभागि हुन नपाउने गरी निलम्वन गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् । जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ । हलले बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गर्दै शुक्रबार बेलुका साढे ८ बजे फुटबलको लाइभ देखाउने जनाएको थियो । कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने म्यानेजर दीपेश शर्माले जानकारी दिए । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ । यी हलहरुले टिकट प्रतिशत सेयरिङ सहमतिमा फुटबल देखाउन लागेका हुन् । क्यूएफएक्स मल्टिप्लेक्सले पनि हलमा फाइनल खेल देखाउने तयारी गरिरहेको छ ।

