काठमाडौं: प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोल बस्ने १८ वर्षीय युवक करण महतो रहेका छन् । महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरूपयोग गरेको ब्यूरोको आरोप छ । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
पोखराः पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी समृद्ध स्टिल्स राष्ट्रिय व्यापार मेलामा विभिन्न व्यवासायीहरुको स्टलहरु छन् । विशेषगरि व्यवासायिक प्रयोजनका लागि स्टल सञ्चालन गरिएपनि केही स्टलहरु फरक किसिमका छन् । डोमभित्र रहेको आयोजक संस्थाकै एउटा यस्तो स्टल छ, जहाँ रोजगारी दिने र लिनेको जमघट हुन्छ । त्यतिमात्रै होइन, त्यहाँ तालिमको लागि इच्छुकहरुका लागिसमेत आवेदनको व्यवस्था छ । उक्त स्टलमा दुईदिनको समयावधिमा १८ जनाले रोजगारीका लागि आवेदन बुझाएका छन् । पोखरा उद्योग वाणिज्य संघको स्टलमा दुई दिनमा १८ जनाले विभिन्न जागिरका लागि आवेदन दिएको संघका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिइन् । उनका अनुसार दुई दिनको अवधिमा ५ जना रोजगारदाताले जागिर दिलाउने भन्दै नाम उपबल्ध गराएका छन् भने ४ जनाले तालिमका लागि माग गरेका छन् । ‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो देखि राखिएको हो, अधिकारीले भनिन्, ‘जागिर चाँहियो, तालिम चाँहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ, मेला पछि हामीले उहाँहरुसँग समन्वय गरेर अगाडी बढ्छौं ।’ यो समाचार तयार पार्दासम्म जागिर रोजगारीका लागि १८, स्वरोजगारको लागि तालिम ४ जना र आफ्नो कम्पन्नी वा व्यवसायमा रोजगारीको अवसर दिनका लागि ५ जनाले आवेदन दिएको अधिकारीले बताइन् । उनका अनुसार रोजगारको आवेदन दिनेमा अधिकांश पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंङ्क तथा वित्तिय संस्था, शिक्षक, विक्रेता (सेल्स मेन) रहेका छन् । यस्तै तालिमका लागि आवेदन दिनेमा पार्लर, वारिस्टा, कम्युटर शिक्षा र मन्टेश्वरी तालिमको माग गरिएको बताइएको छ । जागिर दिने भनेर आवेदन दिनेमा होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायतका क्षेत्रहरु उल्लेख गरिएका छन् । महोत्सव आगामी २५ गतेसम्म जारी रहनेछ ।
पोखरा: पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा गत १६ गतेदेखि समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार महोत्सव जारी छ । उक्त महोत्सवमा विभिन्न क्षेत्रका व्यवसायीक स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान तथा सांगीतिक माहौल छ । महोत्सवकै क्रममा बाल उद्यानको रोटेपिङ खेल्ने क्रममा (आइतबार) गत आइतरबार रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुदाँ तीन जना खसेर घाइते भए । अहिले उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा कमी नगराउने पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बताए । उनका अनुसार घाइतेमध्ये बालिका सामान्य उपचारपछि घर फर्किसकेकी छिन् भने ति बालिकाको आमा जनरल वार्डमा उपचाररत छिन् । यसैगरि गम्भीर अवस्थामा रहेकी २२ वर्षीया अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ । महासचिव आचार्यले घाइतेहरुको उपचारमा केही बाँकी नराख्ने बताउदै निरन्तर भेटघाट गर्न पुगेको बताए । ‘पोखरामा हाम्रो महोत्सव यतिबेला जारी छ, मेलामा व्यवसायीदेखि सामान खरिद गर्न र मनोरञ्जन गर्न स्थानीय आइराखेका छन्, उनले भने, ‘मेलामा राखिएको बालउद्यान रोटेपिङबाट खस्दा गम्भिर घाइते हुन पुगेकी बहिनीको उपचारमा महासंघले कुनै कसर बाँकी राख्दैन । डाक्टर र परिवारसँग निरन्तर सम्पर्कमा छौं यहाँ सम्भव नभए काठमाडौं लान पनि हामी तयार छौं । त्यसैले त्यो अप्रिय घटनाले हामीलाई दुख तुल्याएको छ । तथापी हामीले उपचारमा केही कमी नगर्ने हिसाबले अपटुडेट भइरहेका छौ ।’ उनले महोत्सवमा सगरमाथा इन्स्युरेनसले साथ दिएको बताउदै बीमारकममार्फत घाइतेको उपचार गरिरहेको सुनाए । ‘पहिले पहिलेको संस्करणमा बीमा थिएन । अहिले हामीले संभावित जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीसँग समन्वय गरेका छौ, उनले भने, घाइते हुनुभएका बहिनीहरुको उपचारको लागि अहिले संघले नै खर्च गरिरहेका छौ । महोत्सवपछि बीमा कम्पनीबाट भुक्तानी गर्नेछौ ।’ उक्त घटनापछि रोटेपिङ केही समयको लागि बन्द गरिएको जानकारी दिए । महासचिव आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको सहमतिपछि अन्य बालउद्यान सञ्चालन भएको बताउदै रोटेफिङको बारेमा छलफल भइरहेको जानकारी दिए । ‘अहिले रोटेपिङ बाहेक अरु पिङहरु सञ्चालनमै छ । यो पिङबारे पनि प्रशासनसँग समहती गरेर केही दिनमै सञ्चालनमा ल्याउनेछौ ।’
पोखराः मनाङबाट स्वतन्त्ररुपमा प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेपछि आज पत्रकारसँग कुराकानी गरेका छन् । राजधानीमामा पत्रकार सम्मेलन गरी उनले नेकपा एसलाई मुलुकको शक्तिकारुपमा व्याख्या गर्न भ्याए । चुनावी परणामपछि सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् । समाजवादीमा प्रवेश गर्नुकोकारण मन्त्री बन्नलाइ नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुन सजिलो छैन, धेरै दुख गर्नुपर्छ ।’ गुरुङले मन्त्री बन्न दुख गरेको मान्छेले मात्रै थाहा पाउने भएको भन्दै आफुुले पनि त्यस्तै दुख गरेर मन्त्री भएको उल्लेख गरे । तर हाल नेकपा एसमा मन्त्री बन्न नभई पार्टी र विचारधारा मन परेर प्रवेश गरेको बताए । ‘म मन्त्री हुन चाहेर हुने कुरा हैन’ उनले भने ‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछुु ।’
पोखरा: सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै अदालतले तीन जनालाई जेल सजाय तोकेको छ। पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले विभेद गरेको ठहर गर्दै कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो। भट्टराईको ईजलासले देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए। न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव ९कसूर र सजाय ० ऐन २०६८ को दफा ७ को १ ९क० अनुसार फैसला गरेकी हुन्। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ। बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए। जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीयले जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन समेत गरेका थिए। उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितको तर्फबाट शिव सुनारले बहस गरेका थिए। त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम भट्टराई र वेदबहादुर विष्टले बहस गरे।
पोखरा: मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको परिणामअनुसार राजनीतिक दलहरु बहुमत बाहिर छन् । सरकार कुन पक्षले बनाउँछ भन्ने अझै कुनै मेलोमेसो छैन । यसैबीच, सुनगाभा न्यूजले पोखराका व्यवसायीहरुको अपेक्षाबारे जिज्ञासा राखेको छ । जहाँ पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका प्रतिनिधिहरुले विभिन्न धारणा राखे । मुलतः व्यवसायीहरुले अब बन्ने सरकारसँग उद्योगी व्यापारीहरुले सम्भावना र बन्द भएका उद्योग कलकारखाना सञ्चालन गर्न माग गरेका छन् । ‘अब कसको सरकार बन्न सक्छ र के अपेक्षा छ ? भन्ने प्रश्नमा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइरालाले अब बन्ने सरकार स्थिर हुनुपर्ने भन्दै सम्भावना भएका र बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्न माग गरे । ‘सधैं सत्ता र कुर्चीको लागि राजनीति नगरौं’ कोइरालाले भने, ‘अब सरकार आर्थिक गतिविधिमा केन्द्रित हुनुपर्यो , आयआर्जनमा ध्यान दिनुपर्यो ।’ कोइरालाका अनुसार हालसम्मका सरकारहरु विकास र आर्थिक एजेण्डामा जिम्मेवार हुन सकेनन् । ‘सँधै सत्ताकेन्द्रित राजनीति हैन, अब रोजगारमूलक र समृद्धिका योजनालाई नयाँ सरकारले आफ्नो कार्यक्रममा राखेको हेर्न चाहन्छु’ कोइरालाले भने । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवा तथा उद्योगी व्यवसायीहरु निर्वाचित भएकाले पर्यटन र उद्योग व्यवसाय क्षेत्रमा केही आशा पलाएको बताए । ‘मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा युवा तथा उद्योगी व्यवसायी निर्वाचित भएका छन्, उनले भने, ‘निर्वाचित युवा तथा उद्योगी व्यवसायीहरुको पर्यटन र उद्योगहरुको स्थापनामा विशेष ध्यान केन्द्रित हुन्छ भन्ने विश्वास छ । युवा तथा व्यवसायीहरु निर्वाचनमा विजयी भएकाले युवाहरुको भविष्य नेपालमा सुनिश्चित गर्नतर्फ कदम चाल्नुहुनेछ ।’ यसैगरि पोखरा उद्योग वाणिज्य संघका सह–सचिव शोभा गौतमले घरायसी काममा व्यस्त हुने महिलाहरुलाई उद्यमशिलता क्षेत्रमा जोड्ने कार्यक्रम सञ्चालन गर्न आगामी सरकारसँग माग गरिन् । ‘अहिले पनि प्राय महिलाहरु घरायसी काममा सिमित छन् । सरकारसँग महिलाहरुलाई उद्यमशिलताको क्षेत्रमा जोड्ने कुनै एजेण्डा देखिदैन्, उनले भनिन्, ‘दिनानुदिन युवा तथा महिलाहरु विदेशीएका छन् । यसलाई रोक्न अब बन्ने सरकारले उद्योगदेखि उद्यमशिलताको वातावरण सिर्जना गरि देशमै रोजगारको व्यवस्था गर्न आवश्यक छ । रोजगारी क्षेत्रले देशको आर्थिक अवस्थादेखि युवाहरुको भविष्य राम्रो हुनेछ ।’ उनले हरेक क्षेत्रमा महिलालाई पछाडी राख्ने प्रचलन विद्यामान रहेको बताउदै त्यस्तो प्रवृतिलाई रोक्न महिलामैत्री वातावरण सिर्जना गर्न आगामी सरकारलाई आग्रह गरिन् । ‘समाज परिवर्तनका निम्ति महिला र पुरुष दुवैको महत्वपुर्ण योगदान छ, पुरुषप्रधान देशमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । आगामी बन्ने सरकारले यसलाई परिवर्तन गर्न आवश्यक छ । अवसर पाए हरेक क्षेत्रमा महिलाले सफलता हात पार्नेछन् । त्यसैले महिलामैत्री नीति बन्न आवश्यक छ ।’ गौतमले भनिन् ।
पोखराः अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजन विगतका वर्षझै यसपटक पनि प्रा.डा. भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए । विगत १६ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य, वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।
पोखराः पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले भन्नुभयो, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो ।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले बताउनुभयो । सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर वि.क (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवद्र्धन) र जमुना सुनार (हस्तकला) लाई नगद रु ५०/५० हजारका दरले अनुदान उपलब्ध गराइएको हो । यस्तै, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यु तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पश), विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद रु५०/५० हजारका अनुदान सहयोग उपलब्ध गराइएको हो । पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताउनुभयो । पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको हो ।
पोखराः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ का नबनिर्बाचीत सांसद बिद्या भट्टराईले सो पदका प्रतिस्पर्धी हरू उम्मेदवारहरू सङ्ग भेटघाट तथा सुझाव ग्रहण गर्नु भएको छ। प्रतिष्पर्धी मध्ये बाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधब प्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुबर्ण राज पन्त सहित नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्बाचन परिचालन कमिटी का संयोजक तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल सङ्ग आज अनौपचारिक छलफल सम्पन्न गर्नु भएको उहाँको निजि सचिबालयले जनाएको छ। सो अबशरमा प्रतिष्पर्धी उम्मेदवारहरूले बिकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा बर्षको एकपटक सबै नागरिकको स्वास्थ्य परीक्षण (Whole Body checkup) सम विकासको अबधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकिय राजधानी घोषणा गरेर पोखराको समृद्धि मा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ। भेटका अबसरमा सबैका सुझाब सहित समृद्धिको साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव निरन्तर ग्रहण गर्ने भट्टराईले उल्लेख गर्नुभएको छ। साथै सो अबसरमा भट्टराईलेव सबै प्रती हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।

