पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

स्याङ्जाः   स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३०  मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।  अर्यालले  १५ हजार १६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४३१  मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जाः   स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पारेका हुन्।    काँग्रेसका गुरुङले ११ हजार ९२०  मत पाएका छन् भने एमालेकी अर्यालले  नौ हजार ५०२  मत प्राप्त गरकी छिन् । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ ।    यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ ।    स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अग्रता लिएका छन् ।    भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा  एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत प्राप्त गरेका छन् । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ । 

पोखराः  प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  गुरुङले ९ हजार ६१३ मत पाउँदा  निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल ७ हजार ४६ मत ल्याई दोस्रो स्थानमा छिन् । उनलाई २ हजार ८८२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् । गुरुङ २ हजार ५६७ मतको अन्तरले पहिलो स्थानमा छन् ।   त्यस्तै स्याङ्जाबाट प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ (१) मा १०,०२४ मतका साथ नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहनप्रसाद रेग्मीले भने ७ हजार २८६ मत पाएका छन् ।

सिरहाः   सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।

नवलपरासीः   नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गर्नुभयो ।  दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो ।   घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।

दोलखाः   दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।   सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे । ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

पोखराः  स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले  हजार ६सय मत अग्रता कायम गरेका छन् ।    पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका  प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले ५हजार ४ सय ७० मत प्राप्त गरेका छन् ।    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २१५३ मत ल्याएका छन् । प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ८२५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत पाएका छन्। उनीहरुबीच २०८१ मतान्तर छ। अहिले मतगणना जारी छ।

काठमाडौंः   प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।   निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।   प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।    यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।        राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी ९जसपा० चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । 

काठमाडौंः   मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ ।  “यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उहाँ भन्नहुन्छ, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।” बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्नुहुन्छ । “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्नुहुन्छ,  “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।” सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् ।       पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ ।  पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ ।   विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गर्नुभएको थियो ।  पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन । चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् ।  कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ ।  राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका ब्रज पटेल भन्नुहुन्छ, “म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।” स्थापनाको कथा विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट रु १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक रु ५० लाख अनुदान पाउने गरेको छ ।  काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराउनु भएकामा पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो ।  ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो । पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो । त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो ।  प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ । विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो । अहिले रु एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ । हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन् । वार्षिक रु ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ । सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउनुहुन्छ ।  साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ ।  हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र  कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहनुभएको छ ।  चुनौती  दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोल गुनासो गर्नुहुन्छ । सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ ।      यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ । आइतबार भने बन्द हुन्छ । व्यवस्थापक डङ्गोल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ । सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ । चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, “सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर  हामीसँग जनशक्तिको अभावले समस्या भएको छ ।” “कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो  तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।